Edukhabar
शनिबार, ०५ असोज २०८१
विचार / विमर्श

गृहकार्य

शनिबार, १२ भदौ २०७२

- हरिहर तिमल्सिना  कविता, गीत र निबन्धमा चिनिएको नाम हो । सामान्य विषयलाई बिम्बात्मक रुपमा सरल भाषा शैलीमा कविता सिर्जना गर्नु उनको विशेषता हो । 'हिउँको लाज' र 'गाउँ हराएको साँझ' उनका कृति हुन् । यसपटक प्रहरी स्कुल साँगामा अध्यापनरत हरिहर तिमल्सिनाको कविता गृहकार्य :


हरफका हरफ
गीतका रङ्गीन फाँकीहरु गुन्गुनाउँदै
स्कुलबाट
फर्किन्छन् नानीहरु

वीरहरुको देश
बहादुरहरुको देश
पराक्रमी र पौरखीहरुको देश
दिनभरि पाठशालामा
यस्तैयस्तै पाठ घोक्छन् नानीहरुले

किताबका पानाभरि तस्विर छन्
सहिदका, विभूतिका, वीरहरुका, वैज्ञानिकका
महापुरुषका र कविका
यस्तै बन्नुपर्छ भन्ने सन्देश
घोकाउँछन् मास्टरहरु

झोलाभरि राष्ट्रियताको
गह्रुङ्गो गृहकार्य बोकेर
स्कुल आउने जाने गर्छन् नानीहरु
यो देशका लागि गृहकार्य गर्नु पर्ने चाहि“
सानाहरुले मात्रै हो ?

प्रतिक्रिया