काठमाडौं १९ माघ/कक्षाकोठामा हुने हल्ला नियन्त्रणका लागि बेथानस्थित डहु माविले नयाँ उपाय अपनाएको छ । त्यो हो, सीसी क्यामेरामार्फत विद्यार्थीमाथि निगरानी गर्ने ।
क्यामेरा राखेपछि कक्षाकोठामा हुने यस्ता गतिविधिमा कमी आएको शिक्षकले अनुभव गरेका छन् । विद्यालयले सोमबार ८, ९ र १० कक्षामा क्यामेरा जडान गरेको हो ।
अहिले विद्यार्थी कक्षामा पढाइमा ध्यान दिएर बस्ने गरेको प्रधानाध्यापक दलबहादुर लामाले बताए । ‘क्यामेराबाट कक्षाकोठा निगरानी गर्ने उपाय सजिलो र प्रभावकारी लाग्यो, यस्तो थाहा पाएको भए पहिल्यै जडान गरिसक्थें ।’
कक्षाकोठामा विद्यार्थी मात्र होइन ४५ मिनेट अवधिको घण्टीमा शिक्षकले कसरी पढाउँछ भन्ने पनि बुझ्न सजिलो भएको लामाको बुझाइ छ । ‘विद्यार्थी मात्र होइन, सीसी क्यामराले शिक्षकलाई पनि ठाउँमा ल्याओस् भन्ने उद्देश्य हो,’ उनले भने ।
विद्यालयमा ३ सय ७५ जना विद्यार्थी छन् । क्यामरा जडित कक्षा ८ देखि १० सम्मका कोठामा ३८ जनाका दरले बस्छन् । ‘शिक्षक कक्षाकोठामा पसेर पूरै घण्टी कसरी कभर गरिरहेको हुन्छ, त्यो कुरा हामी अब १५ दिनपछि पनि मोनिटरमा अनुगमन गर्ने अवस्थामा पुगेका छौं,’ लामा भन्छन् । सोमबारदेखि नै विद्यालयमा रहेका २२ वटा कम्युटरमा इन्टरनेट सुविधा सञ्चालनमा आएको छ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया