काठमाडौं १९ माघ/गौशालाकी सिर्जना पोखरेल साढे दुई वर्षीया छोरी स्मृतिलाई बुधबार गुह्येश्वरीमा लगेर अक्षर लेखाउने सोचमा छिन् । बिहान मन्दिरमा अक्षर लेखाएर दिउँसो विद्यालयमा नाम दर्ता गराउँदै छिन् । ‘श्रीपञ्चमीमा अक्षर लेख्न सुरु गरे ज्ञानी र पढाइ राम्रो हुन्छ भन्ने भनाइ छ,’ उनले भनिन् । उनीजस्तै भक्तपुर बालकोटकी रूपा केसीले पनि छोरालाई सरस्वतीखेलको सरस्वती मन्दिरमा अक्षर लेखाउन लैजाँदै छिन् । विद्याकी देवी सरस्वतीको पूजा गरेर पढाइ सुरु गरे ज्ञान र पढाइ राम्रो हुने विश्वास गरिन्छ । छोरालाई पहिलो अक्षर लेखाउन केसीले नयाँ कापी र कलम पनि किनिसकेकी छन् । ‘मन्दिरको भित्तामा लेख्दा आफ्नो बच्चाले लेखेको अक्षर कुन हो भन्ने थाहा हुँदैन,’ उनले भनिन्, ‘कापीमा हात समाएर लेखाएको अक्षर सधैं राख्न सकिन्छ ।’
सिर्जना र रूपाले जस्तै अरू अभिभावकले पनि आफ्ना नानीबाबुलाई माघ शुक्ल पञ्चमीमा सरस्वती पूजा गराएर अक्षर लेख्न सिकाउँछन् । संस्कृतिविद् हरेराम जोशीले प्राथमिक तहमा शिक्षाको आरम्भको सुरुवात श्रीपञ्चमीदेखि हुने गरेको र उच्च शिक्षा गुरुपूर्णिमादेखि हुने गरेको बताए । ‘श्रीपञ्चमीदेखि लेखपढ गर्नुपर्ने चलन पहिलेदेखि चलिआएको हो,’ उनले भने, ‘यही दिनदेखि क, ख लेख्न लगाइन्छ । महान् व्यक्तिलाई आदर, सम्मान, बोलीरूपी देवीदेवतालाई नमस्कार गर्न सिकाइन्छ ।’
ज्योतिषी वासुदेवकृष्ण शास्त्रीले पञ्चमीबाट अक्षर आरम्भ गर्दा ज्ञान प्राप्त हुने शास्त्रीय मान्यता रहेको बताए । ‘मकर संक्रान्तिदेखि सूर्य उत्तरी गोलार्धमा सर्छ । यसलाई उत्तरायण भनिन्छ । सूर्यको गति उत्तरतर्फ लागेपछि देवताहरूका दिन सुरु भएको मानिन्छ । देवदिनमा अक्षर लेख्न सुरु गरे आध्यात्मिक, भौतिक र सामाजिक ज्ञान प्राप्त हुने विश्वास गरिन्छ,’ उनले भने, ‘अक्षरको वर्ण, ह्रस्व, दीर्घ, हलन्त, अनुस्वार, विन्दु, विसर्ग, स्वर वर्ण, व्यञ्जन वर्ण, नाद वर्ण, सरगम, सप्तस्वर संगीत, ध्वनि, वर्ण सबै भगवान् शंकरको डमरुको नादबाट निस्केका हुन् भन्ने मान्यता छ ।’
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया