काठमाडौं १९ माघ/ काठमाडौँको जिल्ला शिक्षा कार्यालयले कक्षा ८ को वार्षिक परीक्षामा राष्ट्रिय पाठ्यक्रमले निर्धारण गरेका पाठ्यपुस्तकबाट प्रश्न सोध्ने भनेपछि यतिबेला निजी विद्यालयका विद्यार्थी, अभिभावक तथा सञ्चालकको छटपटी सुरु भएको छ।
प्रायः सबै निजी विद्यालयले राष्ट्रिय पाठ्यक्रमले तोकेका पाठ्यपुस्तक नपढाइ सन्दर्भ पाठ्यपुस्तक अध्यापन गराउँदै आएका छन् भने अनिवार्य आठमध्ये तीनवटा विषयको पठनपाठन नै गर्ने गरेका छैनन्। कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन हुन अब डेढ महिनामात्र बाँकी रहँदा विद्यार्थी, अभिभावक तथा विद्यालय सञ्चालक राष्ट्रिय पाठ्यक्रमले तोकेका पाठ्यपुस्तक किन्न पसल पसल चहार्न थालेका छन्। थुप्रै विद्यार्थीले चाहेका पाठ्यपुस्तक अझैसम्म बजारमै फेला पार्न सकेका छैनन् र उनीहरुका विद्यालय सञ्चालकले फोटोकपी भए पनि उपलब्ध गराइदिने आश्वासन दिएका छन्।
काठमाडौँका जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्यले राष्ट्रिय पाठ्यक्रम अनुरुप पठनपाठन गर्नुपर्ने र प्रश्नपत्र पनि तिनै पाठ्यपुस्तकमा आधारित भएर सोधिने जानकारी गराउँदै भन्नुभयो, “सन्दर्भ सामग्रीका आधारमा प्रश्न सोध्ने कुरा आउँदैन। यस मामिलामा हामीहरु पछाडि हट्दैनौँ।” परीक्षा आगामी चैत ३ गतेबाट सुरु हुँदैछ।
विगतमा कक्षा ८ को परीक्षा औपचारिकतामा मात्र सीमित बन्दै आएको थियो। यसपटकबाट जिल्ला शिक्षा कार्यालय आफैले सम्पूर्ण परीक्षा सञ्चालन गर्न कार्यविधि तयार गरी लागू गरेको छ। विगतमा जिशिकाले प्रश्नपत्र उपलब्ध गराउँथ्यो भने विद्यालय आफैले परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका परीक्षण आफैले गर्थे र विद्यालयले तयार पारी पेश गर्ने गरेका प्रमाणपत्रमा जिशिकाले छाप लगादिनेमात्र गथ्र्याे।
निजी विद्यालयले पाठ्यक्रम विकास केन्द्रले तयार गरेको नेपाली विषय अध्यापन गर्ने गरेका छन् भने अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका सन्दर्भ पाठ्यपुस्तक मात्र अध्यापन गर्दै आएका छन्। उनीहरुले पेशा, व्यावसाय तथा प्रविधि,स्वास्थ्य तथा शारीरिक शिक्षा र नैतिक शिक्षाको विषय अध्यापन नै गर्ने गरेका छैनन्। अब पेशा व्यावसाय तथा प्रविधि, स्वास्थ्य तथा शारीरिक शिक्षा र नैतिक शिक्षाको पाठ्यपुस्तक किनेर दुई महिनाभित्रै पढेर परीक्षा दिनुपर्ने हुन्छ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (राष्ट्रिय प्याब्सन)का अध्यक्ष कर्णबहादुर शाहीले जिशिकाको अन्तिममा आएर गरेको निर्णय व्यावहारिक नहुने बताउनुभयो।
“कतिपय विद्यालयले नैतिक शिक्षा, पेशा, व्यावसाय तथा प्रविधि विषय पढाएकै छैनन्” उहाँले भन्नुभयो, “हामीले अध्यापन गरिरहेको विषयलाई मान्यता दिँदैनौ भन्ने कुरा अब्यावहारिक हुन्छ। कतिपयले कम्प्युटर विषय अध्यापन गरिरहेका छन्। ती विषय पनि पेशा, व्यवसायसँग जोडिएका हुन्छन्।”
पाठ्यक्रम विकास केन्द्रले नवौँ विषयका रुपमा मूल्य मान्यता, संस्कृति, कम्प्युटर लगायत विषय निर्धारण गरे पनि त्यो अझैसम्म लागू भएको छैन। त्यसैले जिशिकाले नवौँ विषयको परीक्षा सञ्चालन नगर्ने स्पष्ट गरिसकेको छ।
काठमाडौँका एक अभिभावकले आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, “पसल पसल धाउँदा धाउँदा हैरान खेपिसक्यौँ, तर सरकारले तोकेका पाठ्यपुस्तक नै पाउन सकेनौँ। छोराछोरी निकै तनावमा छन्।”
यस विषयमा प्रायः हरेक दिन जसो निजी विद्यालयका सञ्चालक र जिशिकाका पदाधिकारीबीच वहस हुँदै आएको छ। जिशिका भने आफ्नो अडानमा छ । जिशिकाले आफू पछाडि हट्न नसक्ने स्पष्ट गरिसकेको छ।
प्याब्सन काठमाडौँका पूर्व अध्यक्ष गोपाल आचार्यले अन्तिम अवस्थामा आएर यस्तो निर्णय गर्नुभन्दा आगामी पटकबाट राष्ट्रिय पाठ्यक्रमले निर्धारण गरेका विषयको प्रश्न सोधौँ भन्ने आफूहरुको भनाइ रहेको बताउँदै थप्नुभयो, “एक वर्षको कोर्सलाई दुई महिनामा सकेर कसरी परीक्षाको तयारी गर्न सकिन्छ? यसले विद्यार्थीमाथि तनाव थोपर्ने कार्य भएको छ।”
जिशिअ आचार्यले आफूहरुको उद्देश्य विद्यार्थीलाई अनुत्तीर्ण गर्ने नभएको स्पष्ट गर्दै आफूहरु निर्णयबाट नहट्ने अडान व्यक्त गर्नुभयो।
प्रकृति अधिकारीले गोरखापत्रमा लेखेको खबर ।
प्रतिक्रिया