काठमाडौं १८ माघ/केही दिनअघि महानगरीय प्रहरी प्रभाग कालीमाटीका प्रहरी हबलदार शंकर भट्ट केही किशोर र तिनका अभिभावकलाई भेला गराएर व्यावहारिक विषयवस्तुमा परामर्श दिइरहेका भेटिए। ती किशोरलाई मदिराको नशामा झगडा गरेको, लुटपाट र तोडफोड गरेको तथा होहल्ला गरी टोलको वातावरण खल्बलाएको आरोपमा पटकपटक पक्राउ गरी ल्याउनुपर्दा भट्ट दिक्क भइसकेका रहेछन्। चोरी तथा कुटपिट आरोपमा पक्राउ परेका उनीहरूको उमेर उमेर १६ देखि २० वर्षसम्मको थियो। रातभरि प्रहरी प्रभागमा राखेर बिहान आमाबुवालाई बोलाई हबलदार भट्टले परामर्श दिएका थिए।
'तिमीहरूको उमेरमा त म आफ्नो आमाबुवाको अगाडि ठूलो स्वरले बोल्न पनि सक्दैनथंे, उहाँहरूलाई बडो सम्मान गर्थें। मैले सानो कक्षामै आमाबुवा र गुरुको सम्मान गर्न सिकें,' भट्ट भन्दै थिए, 'तर तिमीहरूको यस्तो व्यवहारले तिम्रा आमाबुवा र समाजप्रति सम्मान नभएको महसुस किन गर्दैनौ?' उनले त्यहाँ भेला भएका अभिभावकलाई छोराछोरी कहाँ जान्छन्, के खान्छन्, कतिखेर पढाइ सकेर घर आउँछन् भनेर सोधखोज गर्न आग्रह गरे। भट्टले केही समय सम्झाएर ती किशोरलाई अभिभावककै जिम्मा लगाए।यसपछि उनी टेकु नजिकै भेला भएका युवा जमातको बीचमा पुगे। उनीहरूले गाँजा खाइरहेको सुराकी पाएर भट्ट त्यहाँ पुगेका थिए। त्यहाँ पनि उनले तत्काल अभिभावक बोलाएर परामर्श दिन भ्याए। उनले कुलतमा फसेपछि देखापर्ने नकारात्मक परिणामबारे युवा र तिनका अभिभावकलाई जानकारी दिएका थिए।
प्रहरी हबलदार भट्ट उच्च घरानाका युवा कुलतमा लागेको देख्दा दिक्क मान्छन्। उनको अनुभवमा अचेल स्कुलमा नैतिक शिक्षा पठनपाठनमा कमी र परिवारमा राम्ररी रेखदेख गर्न नसक्दा युवाहरू कुबाटोमा हिँडेका हुन्।
'नानीहरू बढी समय स्कुलमा बिताउँछन् तर स्कुलको सिक्ने वातावरण सामाजिक परिवर्तनअनुसार छैन', भट्टले नागरिकसँग भने, 'अभिभावकले पनि सन्तानलाई बढी समय दिनुभन्दा स्वतन्त्र छाडेका छन्।'
२०६२–०६३ को जनआन्दोलनपछि सरकारले विद्यालयको पाठ्यक्रमबाट नैतिक शिक्षा हटायो। यसअघि निम्न माध्यमिक तहसम्म नैतिक शिक्षा अनिवार्य थियो।
नैतिक शिक्षा हटाएकोमा चौतर्फी विरोध भएपछि २०६८ सालदेखि कक्षा ६–८ मा फेरि समावेश गरियो।
पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक बाबुराम गौतमका अनुसार अहिले कक्षा ६, ७ र ८ मा ५० पूर्णांकको नैतिक शिक्षा पढाइ हुन्छ।
नैतिक शिक्षामा अनुशासन, सहकार्य, सहयोग, सहानुभूति, सहकार्यलगायतका पाठ्यवस्तु समावेश छन्। तर बदलिँदो सामाजिक परिवेशअनुसारका नभएको गौतम स्विकार्छन्। बढ्दै गएको एकात्मक पारिवारिक संरचना र वातावरणका कारण बालबालिकामा नैतिक शिक्षा प्रभावकारी हुन नसकेको गौतमको भनाइ छ। 'पहिले संयुक्त परिवार हुन्थ्यो, नानीहरू हजुरआमा र हजुरबुवासँग बस्थे,' उनले भने, 'त्यतिखेर नानीहरूले घरबाटै व्यावहारिक आचरण सिक्थे। अहिले परिवार एकात्मक हुँदैछ। साना छोराछोरीलाई बढी हेरविचार गर्ने बहानामा आमाबाबुले तातोपानी पनि फुकीफुकी खुवाउँछन्।' यस्तो व्यवहारले बालबालिका आफंै गरेर सिक्ने सामाजिक र पारिवारिक वातावरण नपाउने उनी बताउँछन्।
गौतमले अब कक्षा ९ र १० मा पनि नैतिक शिक्षा आवश्यक रहेको बताए। उनका अनुसार पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा समसामयिक विषय समेटेर नैतिक शिक्षा राख्न सिफारिस गरेको छ।
ललितपुरको खोकनास्थित रुद्रायणी माविका नैतिक शिक्षाका शिक्षक जयराम महर्जन अनुशासन, जिम्मेवारी र कर्तव्यबोध सम्बन्धी ज्ञान नैतिक शिक्षाले दिने भएकाले कक्षा एकदेखि नै विद्यालयमा पठनपाठन हुनुपर्ने बताउँछन्। उनका अनुसार नैतिक शिक्षाका पाठ क्रियाकलापमुखी बन्न सकेका छैनन्। सिकाइका क्रममा यस विषयलाई क्रियाकलापमुखी बनाउनुपर्ने उनको सुझाव छ।
शिक्षक महर्जनका अनुसार पाठ्यक्रम पुराना र विद्यार्थी नयाँ भएकाले नैतिक शिक्षा व्यावहारिक नभएको हो। उनले अचेलका विद्यार्थीमा धैर्य नभएको र कुनै पनि कामको तत्काल परिणाम खोज्ने मनोवृत्ति बलियो रहेका कारण नैतिक शिक्षा व्यावहारिक हुन नसकेको बताए।
'५० नम्बरको नैतिक शिक्षा पढेर विद्यार्थी अनुशासित हुन सक्दैन', महर्जनले भने, 'विज्ञानमा हरेक पाठमा प्रयोगात्मक क्रियाकलाप गरिन्छ। तर नैतिक शिक्षामा प्रयोगात्मक ज्ञानका लागि ठाउँ छैन।'
परोपकार माविका शिक्षक सुवर्ण श्रेष्ठका अनुसार नानीहरूलाई पढाउने नैतिक शिक्षा प्रयोगात्मक नभएकाले सिकाइ उपलब्धिमा समस्या आएको छ। आमाबुवाले नानीलाई हेरविचार गर्न नसकेका कारण पनि नैतिक शिक्षाको पढाइ व्यावहारिक हुन नसकेको उनको अनुभव छ।
'अबको पाठ्यक्रम सैद्धान्तिकभन्दा पनि बच्चालाई आफ्नो काम आफैं गर्न सक्ने बनाउनुपर्छ,' श्रेष्ठले भने, 'बच्चा स्कुल जान्छ जाँदैन, घरमा कति बजे फर्किन्छ, कहाँ जान्छ जस्ता सबै कुरामा अभिभावकले ध्यान दिनुपर्छ। बच्चाले व्यावहारिक ज्ञान घरबाटै सिक्ने हो।'
नागरिकमा रुबी रौनियारले लेखेको खबर ।
प्रतिक्रिया