काठमाडौ १८ माघ/बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिका लागि १६ जनाले दरखास्त दिएका छन् । तत्कालीन उपकुलपति बलभद्रप्रसाद दासको कार्यकाल २० पुसबाट सकिएपछि प्रतिष्ठान उपकुलपतिविहीन छ । स्वास्थ्य मन्त्रालयले गत ७ माघमा निष्पक्ष र योग्य व्यक्तिलाई उपकुलपतिमा नियुक्ति गर्ने भन्दै १० पृष्ठ लामो कार्ययोजनासहित दरखास्त आह्वान गरेको थियो । दरखास्त दिने अन्तिम दिन सोमबार १६ जनाले कार्ययोजनासहितको दरखास्त दिएको स्वास्थ्यमन्त्री गगन थापाका निजी सचिव सालिकराम दाहालले जानकारी दिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा संस्थाभन्दा बाहिरका व्यक्ति बनाइए आन्दोलन गर्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । मन्त्रालयले डा. रामेशराज कोइरालालाई उपकुलपति बनाउन लागेको भन्दै सो प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीले उपकुलपति नियुक्तिअगावै आन्दोलनको तयारी थालेका छन् । प्रा.डा. प्रह्लाद कार्कीले प्रतिष्ठानभित्रै वर्षै काम गरेका योग्य व्यक्ति हुँदाहुँदै बाहिरबाट ल्याएर उपकुलपति बनाए मान्य नहुने बताए । उनले नयाँ पत्रिकासँग भने, ‘यो सम्मानित संस्था हो, यसमा बाहिरी हस्तक्षेप आवश्यक छैन । त्यसैले प्रतिष्ठानभित्रैका व्यक्तिमध्येबाट उपकुलपति नियुक्ति गर्नुपर्छ ।’
क–कसले दिए आवेदन ?
प्रा.डा. रूपा राजभण्डारी, प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. संगीता भण्डारी, प्रा.डा. गौरीशंकर शाह, डा. नीलाम्बर झा, डा. अरविन्दकुमार सिंह, प्रा.डा. गुरुप्रसाद खनाल, डा. जगन पाण्डेय, प्रा.डा. बलभद्रप्रसाद दास, डा. ज्ञानेन्द्र गिरी, प्रा.डा. चन्द्रशेखर अग्रवाल, प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. राजकुमार रौनियार, प्रा.डा. विश्वनाथ यादव, डा. केशवप्रसाद सिंह र डा. रामेशराज कोइराला
एक साताभित्रै उपकुलपति
स्वास्थ्यमन्त्री तथा सर्च कमिटीका अध्यक्ष थापाले अब एक साताभित्र सबै प्रतिष्ठानका उपकुलपति नियुक्ति गरिने बताएका छन् । उनले नयाँ पत्रिकासँग भने, ‘हामी तत्काल उपकुलपतिको टुंगो लगाउँछौँ । धरानको पनि सबै कार्ययोजना आइसकेको छ । बाँकी तीन प्रतिष्ठानमा पनि एकैपटक उपकुलपति नियुक्ति गर्छौं ।’
अर्जुन अधिकारीले नयाँ पत्रिकामा लेखेको खबर ।
प्रतिक्रिया