काठमाडौं १५ माघ/सिरहाको व्यापारिक केन्द्र लहान बजारदेखि पाँच किलोमिटर दक्षिणको गाढागाउँ, जहाँ डोम समुदायको बाक्लो बस्ती छ । गाउँको एक पोखरीको डिलमा फुसको छाप्रो भएका १५ घरधुरी छन् । यही बस्तीको करिब दुई सय मिटर पर उत्तरपट्टि सोनमती गाढा उच्च मावि भवन छ । घर–आँगनअगाडि नै विद्यालय भए पनि गाढागाउँकी १३ वर्षीया किशोरी कुमारी मरिकका लागि त्यसले केही अर्थ राख्दैन ।
कुमारी मरिक मात्र होइन, उनको उमेरका धेरै मरिक बालबालिकाका हातमा किताब परेका छैनन् । सुँगुर चराउन व्यस्त कुमारी भन्छिन्, “पढ्न मन त कसलाई हुँदैन र † हामी चार दाजुभाइ र दिदीबिहिनी छौँ । सम्पत्तिका नाममा ऐलानी जमिनमा एउटा छाप्रोबाहेक केही छैन । आमाबुबा लहान बजारमा शौचालय सफा गर्ने काम गर्नुहुन्छ । घरमा खाने अन्न छैन । कापीकलम किन्न पैसा छैन । अनि, पढ्ने कसरी ?”
गाढागाउँको १५ घरधुरी डोम समुदायमा विद्यालय जाने उमेरका ४० बालबालिका छन्, तीमध्ये तीन जनाको मात्र नाम चढेको छ, विद्यालयको रजिस्टरमा । यस्तो किन ? डोम समुदायका एक अभिभावक पशुपति मरिक भन्छन्, “भूमिहीन हामी डोम जाति सहरबजारमा शौचालय र ढलमा काम गर्छौं । बाँसका सामग्री बिक्री गरेर बिहान–बेलुकाको छाक टार्छौं । ज्याला मजदुरीको पैसाले जहान–परिवारको पेट पाल्न पनि पुग्दैन ।” छोराछोरीलाई पढाउने मन हुँदाहुँदै पनि धन नभएकाले पढ्न पठाउन नसकिने
बताउँछन् उनी ।
गरिबी त छँदै छ । अज्ञानता र अशिक्षा पनि उस्तै । त्यसमाथि कथित माथिल्लो जातकाले विभेद गर्ने हुँदा डोम समुदायका बालबालिका शिक्षाबाट वञ्चित भएको अनुभव छ, सोनमती गाढा माविका शिक्षक राजेश्वर यादवको । भन्छन्, “डोम समुदायबाट हलेश्वर मरिकलाई विद्यालयले परिचर राख्यो । तर पनि, डोम समुदायबाट पढ्न कोही आइदिएन ।”
डोम समुदायका अगुवा सिरहा, धनगढीका रामचन्द्र मरिक बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुको मुख्य कारण गरिबी नै भएको बताउँछन् । सोध्छन्, “भूमिहीन डोमहरूको सम्पत्ति नभएका कारण काम गर्ने कि त्यो समयमा पढ्न जाने ?” तर, दलित जनकल्याण युवा क्लबका संयोजक विनोद बिसङ्खे जातीय विभेदका कारण डोम समुदाय शिक्षामा पिछडिएको बताउँछन् ।
सरकारले विद्यालय पढ्ने उमेरका ९५ प्रतिशत बालबालिका विद्यालयको पहुँचभित्र रहेको दाबी गर्दै आएको छ । तर, अल्पसंख्यक सीमान्तीकृत डोम समुदायका बालबालिका विद्यालय प्रवेश गर्न सकेका छैनन् । काठमाडौँको दरबार हाई स्कुलपछि उपत्यकाबाहिर खुलेको पहिलो विद्यालय सिरहा सदरमुकामको श्रीचन्द्र मावि हो । राणाकालमै शिक्षाको थालनी भएको सिरहा जिल्लामा डोम समुदायमा एक जना महिलाले पनि एसएलसी उत्तीर्ण गरेका छैनन् । उच्च शिक्षा त धेरै टाढाको कुरा !
राजकुमार राउतले नेपाल साप्ताहिकमा लेखेको खबर ।
प्रतिक्रिया