Edukhabar
सोमबार, ०३ मंसिर २०८१
विचार / विमर्श

के पढ्ने ? देशलाई जे चाहिन्छ त्यही !

शनिबार, १५ माघ २०७३

नारायणमान बिजुक्छें बौद्धिक, अध्ययनशील नेताका रूपमा चिनिन्छन् । लामो समय राजनीति गरेर पनि कहिल्यै सत्ता मोह नदेखाएका उनी साहित्यकारका रूपमा पनि परिचित छन् । नेपालको शिक्षा नीति, अवस्था र गर्नुपर्ने कामबारे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष समेत रहेका उनको धारणा यो साताको शनिबार विशेषमा :

सन् १९६० तिर चीनका कुनै पनि विद्यार्थीलाई ‘तिमी के पढ्ने ?’ भनेर सोध्दा समान उत्तर आउँथ्यो ‘देशलाई जे चाहिन्छ त्यही पढ्ने ।’

‘अहिले के चाहिएको छ त तिमीहरूको देशलाई ?’

उनीहरू भन्थे ‘कृषि विशेषज्ञ ।’

भर्खरै क्रान्तिबाट राजनीतिक परिवर्तन गरेको चीनियाँहरुका आशा र सपना धेरै थिए । त्यसैले त नेताहरु भन्थे ‘हामीले क्रान्ति गर्नुको मूल कारण खान नपाएर हो । धेरै जनसंख्या छ, उत्पादन कम छ । त्यसैले कृषि विशेषज्ञ उत्पादन भए भने कृषि प्रणाली वैज्ञानिक र आधुनिक बन्छ । त्यसपछि खानका लागि समस्या हुँदैन । अनि अरू विकासकार्यमा लाग्न सकिन्छ ।’

शिक्षासंग जोडिएको चीनको यो विकास मोडेलबाट नेता नारायणमान बिजुक्छें प्रभावित भएका छन् । शिक्षाको व्यवस्थित प्रयोगले देशलाई कहाँबाट कहाँ पु¥याउन सकिन्छ भन्ने कुराको उदाहरण हेर्न अहिले चीनको अर्थतन्त्र हेर्दा पुग्ने भएको छ ।

यस्ता कुरा देशको योजना आयोगले तय गर्नुपर्ने उनी ठान्छन् ।  ‘चीन र उत्तर कोरियामा योजना आयोगले कति दीर्घकालीन सोचका साथ काम गर्छन् भन्ने मैले हेरेको छुु । उनीहरू देशलाई चाहिने जनशक्ति उत्पादन गर्छन् । यो कुुरा त्यहाँको योजना आयोगले तय गर्छ । उत्तर कोरिया त ध्वस्त नै भएको थियो । उनीहरू शून्यबाट सुरु गरेर अहिले यो अवस्थामा आईसके’ उनी आफ्नो देशसँग तुलना गर्दै भन्छन्, ‘यहाँ त योजना, योजना आयोगबाट होइन, मन्त्रीको खल्तीबाट आउँछ । अनि कसरी विकास हुन्छ ? यही कुराले विकासलाई रोकेको छ । शैक्षिक विकासको बाधक पनि यही प्रवृत्ति हो ।’

शिक्षा राज्यको प्राथमिकताको विषय नबनेकोमा उनको गुनासो छ । राज्यलाई आवश्यक जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय अबको आवश्यकता भएपनि यस तर्फ सचेत नभएकोमा उनी दिक्क छन् ।

‘अहिले भनिँदै छ– विद्युत्का लागि इञ्जिनियरहरू पाइएनन् । त्यो त गोरखापत्रमा विज्ञापन गरेर मात्र कहाँ पाइन्छ ? विश्वविद्यालयलाई पो भन्नुपर्छ’ उनी भन्छन्,  ‘विश्वविद्यालयले कलेजलाई भन्छ– यति जनशक्ति आवश्यक छ । त्यसकै आधारमा कलेजले विद्यार्थी पढाउँछ । अनि पो पाइन्छ जनशक्ति । तर, यहाँ सबै आफ्नै स्वार्थमा लीन छन् ।’

देशका लागि अहिले उत्पादन मूलक, प्राविधिक शिक्षाको जरुरी ठान्छन् उनी ।

शिक्षालाई उत्पादनसँग नजोडी हुँदैन । त्यसै अवधारणामा आधारित रहेर भक्तपुुरमा ख्वप विश्वविद्यालयको अवधारणा शुरु गरेको बताउँदै उनले त्यसका लागि विद्यालयस्तरबाटै शिक्षण प्रणाली परिवर्तन गर्नुपर्ने बताउँछन् । विश्वविद्यालयमा कस्तो कोर्स पढाउने भन्नेबारे शिक्षाविद्सँग ब्यापक छलफल गर्नु आवश्यक छ ।

पछिल्लो समय सामुदायिक विद्यालयमा शुरु प्राविधिक शिक्षाको पठन पाठनले उनी खुसी छन् । ‘यो राम्रो कुरा हो । मैले त भन्दै आएको छु– हरेक जिल्लामा एउटा प्राविधिक विद्यालय चाहिन्छ । ‘एकेडेमिक माइन्ड’ नभएकाहरूले पनि शैक्षिक अवसर पाउँछन् र सिपमूलक कार्य गर्न सक्छन् ।’

शिक्षा सधैँ उस्तै र उही तरिकाले प्रदान गरेर हुँदैन । समयअनुसार परिवर्तन गर्दै जानुपर्छ । ‘चीनलाई नै हेरौँ न । उनीहरूले अंग्रेजी पढाउँदै पढाउँदैनथे आफ्ना विद्यार्थीलाई । जब संसारभर पुग्न अंग्रेजी चाहिने रहेछ भन्ने थाहा पाए, त्यसपछि अंग्रेजीको पठनपाठन सुरु गरे ।

बिजुक्छेंले केही समयअघि एक कार्यक्रममा अतिथीका रुपमा आएका चिनियाँ राजदूतको भाषण स्मरण गर्दै भने – ‘त्यहाँ बोल्दा राजदूतले भने, हामीले नेपालबाट पनि सिकेका छौँ । अरनिको राजमार्ग बनाउने क्रममा हाम्रा प्राविधिक अंग्रेजी बोल्न जान्दैनथे । त्यसले धेरै समस्या भयो । त्यसपछि हामीले अंग्रेजी भाषा पनि पढाउन थाल्यौँ ।’

शिक्षा र समयको बहावलाई बुझ्न ती राजदूतको भनाईको अर्थ बुझ्न सक्नु पर्ने उनी बताउँछन् । 

‘हामीले पनि यहाँ समयअनुसार शिक्षाको सोचलाई परिवर्तन गर्न सक्नुपर्छ । यहाँका विद्यार्थीलाई कस्तो शिक्षा दिनुपर्छ भन्ने विषयमा शिक्षाविद्सँग छलफल गर्नुपर्छ । नयाँ शिक्षा र परीक्षा प्रणाली निर्माण गर्नुपर्छ ।’ उनी भन्छन्, ‘अब शिक्षालाई उत्पादनसँग मिलाउनुपर्छ । त्यो नै सबैभन्दा वैज्ञानिक र व्यवहारिक विधि हो । तर विडम्वना शिक्षालाई व्यावहारिक र वैज्ञानिक बनाउन सरकार पैसा खर्च गर्न नै तयार देखिँदैन ।’

विद्यार्थीलाई दिइएको शिक्षा कत्तिको जीवनोपयोगी भयो हेर्नेतर्फ सरोकारवाला निकाय गैरजिम्मेवार भएको उनको निष्कर्ष छ । यसको कारणमा उनी राजनीति नै देख्छन् । ‘यहाँ त शिक्षकको पदमा राजनीतिक पार्टीका कार्यकर्ता भर्ना गर्ने होडबाजी छ । मलाई पनि बोलाए र भने– तपाईंका शिक्षकको नाम दिनुस् । तर, मैले त दिन्नँ भनिदिएँ । भनेँ ‘त्यो त तपाईंको काम हो, मेरो काम होइन । जाँच लिएर योग्य छ–छैन भनेर तपाईंले हेर्ने हो । मैले दिएँ भने त राजनीतिक कार्यकर्ता दिन्छु । सबै राम्रा कार्यकर्ता योग्य शिक्षक हुन्छन् भन्ने त छैन नि । त्यसैले बरु तालिम दिएर राम्रो शिक्षक दिऔँ ।’

राजनीतिक भागवण्डाको क्रममा आफूलाई आएको प्रस्ताव सम्झँदै उनले भने । ‘यस्तो कुराले शिक्षालाई जीवनोपयोगी बनाउनबाट रोकिरहेको छ । त्यसैले पहिले राज्य नै शिक्षाप्रति संवेदनशील हुनुपर्छ । यस्ता प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’

 ...                   ...                    ...

गणेशमान बिजुक्छें र सूर्यमाया बिजुक्छेंका ५ जना छोरा र ६ छोरीमध्ये जेठो छोरा का रुपमा वि.सं. १९९६ फागुन २६ गते भक्तपुरको सुकुलढोकामा जन्मेका बिजुक्छेंका ४ भाइ शिक्षक नै हुन् । उनी मात्र राजनीतिमा लागे । उनको शिक्षा अनौपचारिक रुपमा शुरु भएको थियो । काका सूर्यमान बिजुक्छें र सुब्बा बाजेहरुबाट चिनिने पण्डितबाट उनले घरमै कखरा सिकेका थिए । उच्च मध्यम परिवारमा जन्मेकाले उनको शिक्षादीक्षामा कुनै समस्या भने थिएन ।

घरमै कखरा सिकेका बिजुक्छेंको औपचारिक शिक्षा गान्धी शिक्षाबाट प्रभावित भएर खोलिएको आधार स्कुल (हालको ताहाचल क्याम्पस) मा विसं. २००४ सालबाट भएको हो । त्यो बेला उनी सो स्कुलमा ‘क’ वर्गमा भर्ना भएका थिए ।

सोही स्कुलमा १ वर्ष पढेपछि लगनमा फुपूको घरमा बसेर उनले जेपी स्कुलमा कक्षा ६ सम्म पढे ।

उतिखेर भक्तपुरमा पर्याप्त विद्यालय थिएनन् । त्यसैले काठमाडौंँ गएर डेरामा बस्नुपथ्र्यो ।

‘साथीहरू मिलेर बसेका थियौँ । पानीको असाध्यै समस्या थियो । पानी लिन लाइनमा बस्नुपथ्र्यो । साथीहरू कोही पानी लिन जाने, कोही भात पकाउने, कोही मसला पिस्ने, मचाहिँ भाडाँ माझ्थेँ । त्यसरी पढ्दा निकै गाह्रो हुन्थ्यो । कक्षामा पुग्दा थाकेर लखतरान भइन्थ्यो । त्यसैले पास हुनै गाह्रो थियो ।’ विगत बताउँदै गर्दा उनी वर्तमानमा आईपुग्छन्, ‘त्यही गा¥हो सम्झेर हामीले ०५६ सालमा जिल्लामै ख्वप कलेजको अवधारणा सुरु गरेका हौँ ।’

विश्वविद्यालय विधेयक संसदमा, स्थानीय निकायले सञ्चालन गर्ने

शिक्षा मन्त्रीले विधेयक त दर्ता गरे, सञ्चालन गर्ने निकाय भने अनविज्ञ

बुबाको सरुवा रौतहटको गौर भन्सारमा भएपछि बिजुक्छेंको पढाई जुद्ध हाइस्कुलमा भयो, कक्षा ७ सम्मको पढाइ त्यहीँ सकाए ।

रौतहटमा छँदा नै हो पढाइका अलावा अतिरिक्त कृयाकलापमा ध्यान बढेको ।  इण्डियन सर्च लाइट पत्रिका, शारदा पुस्तकालयका सचित्र बालकथाहरु र नासो कथा संग्रह पढ्ने अवसरले उनमा सामाजिक र राजनीतिक चेत खुसेको थियो ।

त्यही बेला बुबाको सरुवा पुनः काठमाडौं भयो । कक्षा ८ पढ्नका लागि शारदा रात्री स्कुलमा भर्ना भए, कक्षा ९ र १० को पढाई भक्तपुरको श्रीपद्म स्कुलमा भयो । सोही विद्यालयबाट प्रथम श्रेणीमा प्रवेशिका पास भए ।

पढाइमा खासै मिहीनेत नगर्ने स्वभावका बिजुक्छें काका सूर्यमानले लेखेका कविता सुन्दै पढ्दै गर्दा र गौरमा बस्दा आएको बाढीले पु¥याएको विनासमा कम्युनिष्ट पार्टीले खेलेको भूमिकाबाट प्रभावित भएर राजनीतिमा लागेको बताउँछन् । 

दरबार कलेज काठमाडौंमा आईए पढ्दा पढ्दै उनलाई क्षयरोग लाग्यो । २०१५ सालमै कम्युनिष्ट पार्टीको औपचारिक सदस्य भएका उनलाई विद्यार्थी फेडेरेशनको सहयोगमा चीनमा गएर उपचार गर्ने ब्यवस्था मिलाईयो ।

उपचारबाट २०१६ सालमा फर्केपछि भक्तपुर कलेजमा पुनः आइएमा भर्ना भए । अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरे ।

प्रतिक्रिया