Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

सहमति कार्यान्वयनका लागि समिति गठन

शुक्रबार, १४ माघ २०७३

काठमाडौं - चिकित्सा शिक्षा क्षेत्रको बेथीति विरुद्ध आन्दोलनरत डा. गोविन्द केसीसँग भएका सहमतिहरुको कार्यान्वयनका लागि सरकारले समिति गठन गरेको छ । शुक्रबारको मन्त्री परिषद् बैठकले पूर्व विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा वीर अस्पतालका पूर्वरजिस्ट्रार डा. श्रीकृष्ण गिरी सदस्य* तथा शिक्षा मन्त्रालय उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्य गौतम सदस्य सचिव रहने गरी समिति गठन गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव रहेका गौतमलाई हालै मात्रै सरकारले मन्त्रालयमा सरुवा गरेको थियो । अनुगमन महाशाखाका सहसचिव डिल्ली रिमाललाई बोर्डको सदस्य सचिवका रुपमा सरुवा गरिए पनि गौतमलाई भने रिमालको ठाउँमा नल्याई उच्च तथा प्राविधिक शिक्षा महाशाखाको जिम्मेवारी दिईएको थियो ।

उक्त महाशाखाको दैनिक काम र उच्च शिक्षाका अन्य मुद्धा सहित गौतमले केसीसँग भएका सहमतीका बारेमा पनि अध्ययन गरी समितिको थप काम गर्नु पर्ने भएको छ । समितिले डा. केसीसंग भएका विगतका सहमती कार्यान्वयनका बारेमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने छ ।

बैठकले स्थानीयतह पूनर्संरचना  आयोगले पेश गरेको प्रतिवेदन राजनीतिकतहमा छलफल गरेर मन्त्रीपरिषदमा पेश गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

यसैगरी बैठकले गरीबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञको रुपमा डा. महेन्द्र सिंहलाई नियुक्त गरेको छ । आजको बैठकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय लिएको छ । बैठकले प्रकाश माथेमालाई नेपाल सरकारको सचिव पदमा पदोन्नति गरेको छ ।

* सच्याईएको - सं.

प्रतिक्रिया