Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

नेवि सङ्घले भन्याे, स्ववियु चुनाव हुन्न

शुक्रबार, १४ माघ २०७३

काठमाडौं १४ माघ/नेपाल विद्यार्थी सङ्घ काठमाडौँ शाखाले उमेर हदबन्दी गरेर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न नहुने बताएको छ ।

शाखाले यहाँ आज पत्रकार सम्मेलन गरी लामो समयदेखि स्ववियुको निर्वाचन हुन नसकेको वर्तमान अवस्थामा उमेर हद लगाएर निर्वाचन गर्न नहुने बताएको हो ।

सो अवसरमा नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले २०६५ सालदेखि निर्वाचन नभएकाले उमेर हदबन्दी नगरी निर्वाचनमा जानुपर्नेमा जोड दिदैं उमेर हदबन्दीलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउनुभयो ।

नेवि सङ्घकी केन्द्रीय उपाध्यक्ष उर्मिला थपलियाले उमेरको हद लगाएर त्रिभुवन विश्वविद्यालयले चुनाव नगर्ने खेल गरिरहेको आरोप लगाउँदै “निर्वाचन हुने आशमा विद्यार्थी दिनरात नभनी क्याम्पसमा बसेका छन् यस्तो अवस्थामा उमेर हदबन्दी लाग्नु कत्तिको उचित हो भनी प्रश्न गर्नुभयो ?”

स्ववियुमा उमेर हदबन्दीलाई लगाएर अगाडि बढे चरणबद्ध आन्दोलन गर्ने घोषणासमेत सङ्घले गरेको छ ।

सङ्घले माघ १४ मा हरेक क्याम्पसमा कालो झण्डा गाड्ने, माघ १७ गते कालोपट्टिसहित सबै क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने, माघ १८ मा नेविसङ्घ केन्द्रीय कार्यालय तालाबन्दी गर्ने र माघ १९ मा त्रिवि उपकुलपतिको कार्यालय घेराउ तथा तालाबन्दी गर्ने जनाएको छ ।

यसअघि नेविसङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले कुनै पनि बहानामा स्ववियुको निर्वाचन रोक्न नहुने बताउँदै निर्वाचनका लागि उमेर हदबन्दी २८ वर्षे लगाउने निर्णय भने तत्काल सच्याउनुपर्ने बताउनुभएको थियो ।

गत पुस २० गते त्रिभुवन विश्वविद्यालय सिनेट बैठकले फागुन १४ गते स्ववियु निर्वाचको मिति घोषणा गरेको थियो ।
गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया