काठमाडौं १३ माघ/ गृहकार्य नगरेको भन्दै शिक्षकले यातना दिएपछि बेहोस भएकी पाल्पाको भैरव जनता माविमा अध्ययनरत १२ वर्षीया सुस्मिता रुचालको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
उनलाई शिक्षक चिरञ्जीवी बास्तोलाले सोमबार कुखुरा बनाएर धेरैबेर यातना दिँदा बेहोस भएर लडेकी थिइन् । उनलाई अस्पताल ल्याउँदा उच्च रक्तचाप थियो । माध्यमिक तहमा पढाउने शिक्षक बास्तोलाले हिउँदे बिदामा दिएको गृहकार्य नगरेको भन्दै यातना दिएका हुन् । ‘मलाई झन्डै एक घण्टासम्म कुखुरा बनाउँदा बेहोस भएर लडें,’ कक्षा ६ मा अध्ययनरत रुचालले भनिन्, ‘त्यसपछि के भयो थाहा छैन ।’
बास्तोलाले मनीषा थापालाई समेत लामो समय यातना दिएका थिए । शिक्षक बास्तोला स्रोत व्यक्ति मीनप्रसाद ढकालको सट्टामा कार्यरत शिक्षक हुन् । उनी अस्थायी हुन् । विद्यार्थी रुचालको उपचार मिसन अस्पतालमा सम्भव नभएको भन्दै काठमाडौं रिफरको तयारी गरेको छ । यातना दिएको सम्बन्धमा प्रहरीमा भने कुनै लिखित र मौखिक उजुरी परेको छैन । प्रहरीमा उजुरी दिन खोजेपछि विद्यालयबाट दबाब बढेको आफन्तले गुनासो गरे । प्रधानाध्यापक लगायत विद्यालयका शिक्षकसहितको टोली सुस्मितालाई भेट्न र प्रहरीसमक्ष उजुरी दर्ता नगर्न दबाब दिँदै आएका छन् ।
शिक्षा कार्यालयका शाखा अधिकृत रेशमलाल न्यौपानेले बुधबार मात्रै शिक्षकले विद्यार्थीलाई दिएको यातनाका सम्बन्धमा मौखिक जानकारी पाएको बताए । ‘उत्तेजित हुने शिक्षकका कारण घटना भइरहेको छ,’ उनले भने, ‘शिक्षकले गल्ती गरेको भेटिएको छ ।’ उनले विद्यार्थी संगठनका प्रमुख, विद्यालयका प्रधानाध्यापक र शिक्षकसहितको बैठक बसेर दोषीउपर कारबाहीका लागि छलफल हुने बताए ।
प्रधानाध्यापक नारायणबहादुर कुँवरले शिक्षकले गल्ती गरेको स्विकारे पनि घटनाका सम्बन्धमा बाहिर आएको हल्लाजस्तो नभएको बताए । उनले विद्यार्थी पहिले नै बिरामी भए पनि अन्तिममा शिक्षकमाथि दोष आएको बताए ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया