Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

हटेन साइनबोर्डमा ‘उच्च मावि’

बुधबार, १२ माघ २०७३

काठमाडौं १२ माघ/सात महिनाअघि जारी भएको नयाँ शिक्षा ऐनले कक्षा १२ सम्मलाई माध्यमिक तह भनेको छ । ऐन जारी भएसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भइसकेको छ । तर, यसअघि कक्षा १२ सम्म सञ्चालन गरेका शिक्षालयले आफ्नो ‘साइनबोर्ड’ फेरेका छैनन् । कतिपय विद्यालयले ‘उच्चमावि’ कै लेटर प्याड प्रयोग गरिरहेका छन् ।

ऐन जारी हुनुअघि देशभरि सञ्चालित ३ हजार ६ सय ७३ उच्च मावि स्वीकृति प्राप्त थिए । ऐन जारी भएलगत्तै शिक्षा मन्त्रालयले थप ९२ उच्च मावि अनुमति दिएको थियो । स्वीकृतिप्राप्त उच्च माविमध्ये २ हजार ७ सय ३ सामुदायिक, ६ सय ९२ निजी, १ सय ५५ जिरो प्लस टु र १ सय २३ क्याम्पसअन्तर्गत सञ्चालित छन् । कक्षा ९ देखि १२ सम्म सुचारु शिक्षण संस्थाले यसअघि उल्लेख ‘उच्च मावि’को सट्टा ‘माध्यमिक विद्यालय’ भनेर साइनबोर्ड राख्नुपर्छ ।
गत असार १५ गते ऐन स्वीकृत भएको थियो । ऐन कार्यान्वयनका विषयमा शिक्षा विभागले गत भदौमा सबै जिल्ला शिक्षा कार्यालयमार्फत विद्यालयमा तीन बुँदे परिपत्र जारी गरेको महानिर्देशक बाबुराम पौडेलले बताए । ‘शिक्षा ऐनअनुसार नयाँ विद्यालय व्यवस्थान समिति गठन गर्न, त्यतिन्जेल कुनै शिक्षक नियुक्ति नगर्न र कक्षा ९ देखि १२ सम्म सञ्चालित शिक्षालयको साइनबोर्डमा माध्यमिक विद्यालय बनाउन निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘धेरै जिल्लाबाट निर्देशन कार्यान्वयन भइरहेको भन्ने खबर आए पनि सहरकै निजी विद्यालयहरूले बेवास्ता गरेको भन्ने गुसानो आएको छ ।’
राजधानीका सामुदायिक विद्यालयले समेत ‘उच्च मावि’ कै साइनबोर्ड झुन्ड्याएको पाइएको छ । ‘भूकम्पले भवन भत्केकाले साइनबोर्ड पनि भुइँमै राखेका छौं,’ राजधानीको बौद्ध आरुबारीस्थित जनकल्याण माविकी शिक्षक कुमारी कमला राईले भनिन्, ‘अबचाहिँ साइनबोर्ड फेर्ने क्रममा छौं ।’ त्यसैगरी त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका शिक्षक केदार दाहालले ‘उच्च मावि’ बोर्ड बदल्न बाँकी रहेको बताए । नयाँ ऐनअनुसार शिशु कक्षादेखि ८ कक्षालाई आधारभूत तह र कक्षा ९ देखि १२ सम्म माध्यमिक तह कायम छ । कक्षा १२ सम्म पठनपाठन सञ्चालित विद्यालयले माध्यमिक तह यथावत् राख्न सक्ने छन् । शून्य जोड दुईमात्र सञ्चालन गरेकाले कक्षा ९–१२ चलाउनुपर्ने छ भने विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित क्याम्पसले अब कक्षा ११ र १२ को पठनपाठन गर्न पाउने छैनन् । यस विषयमा नियमावलीले स्पष्ट पार्ने महानिर्देशक पौडेलले बताए ।
त्यसैगरी उच्च मावि रहँदा अस्तित्वमा आएको उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान), उच्च माध्यमिक शिक्षक एसोसिएसन नेपाल (हिस्टान) संस्था अहिलेसम्म अस्तित्वमा छन् । उच्चमावि हटिसकेको अवस्थामा त्यस्ता संस्था अस्तित्वमा रहन नहुने नेपाल राष्ट्रय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापा बताउँछन् । शिक्षा ऐनमा विद्यालय शिक्षा आधारभूत र माध्यमिक हुने भनिए पनि यसअघि कक्षा ११ र १२ सञ्चालन गरेका विद्यालयले प्रारम्भिक बाल शिक्षासम्म कक्षा चलाउनुपर्ने प्रस्ताव नियमावलीले गरेको छ । नियमावलीमा आफूलाई सहज हुने बुँदा राख्न निजी विद्यालयका सञ्चालकले दबाब दिँदै आएका छन् । हिसानका पदाधिकारीले कक्षा ११ र १२ चलाउने विद्यालयले नौ कक्षाभन्दा तल झार्ने व्यवस्था खारेज हुनुपर्ने माग राखेका छन् ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया