Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

विद्यार्थी सहित शिक्षक, कर्मचारीले गरे भागवण्डा

मंगलबार, ११ माघ २०७३

बाग्लुङ् - सत्ता मात्रै हैन विकास निर्माणमा विनियोजित रकम समेत भागवण्डा गर्ने भन्दै आलोचित भएका राजनीतिक दलका विद्यार्थी संगठन सहित क्याम्पसका शिक्षक/ कर्मचारीले पनि भागवण्डा नै अपनाएका छन्  । तर, उनीहरुको भागवण्डा दलको भन्दा अलिक भिन्न छ, अर्थात् उनीहरुले रचनात्मक कामको भाग लगाएका हुन् ।

लामो समय स्ववियु निर्वाचन नहुँदा निस्क्रिय जस्ता देखिएका विद्यार्थी संघ संगठनहरुले  धवलागिरी बहुमुखी क्याम्पसको वार्षिक उत्सव मनाउन क्याम्पस प्रशासनसँग हातोमालो गर्दै आआफ्नो कामको भागबण्डा गरेका छन् । उनीहरुले लगाएको भागबण्डा अनुसार गजल प्रतियोगिता नेविसंघको, ब्याडमिण्टन प्रतियोगिता अनेरास्वियुको, वक्तृत्वकला प्रतियोगिता अनेरास्वियु क्रान्तिकारीको, भलिबल अखिल छैठौको, टिटी नयाँ शक्ति विद्यार्थी संगठनको नेतृत्वमा संचालन हुने क्याम्पसका विद्यार्थी कल्याण प्रमुख हरिप्रसाद पाण्डेले बताए ।  

क्याम्पसको ५४ औँ वार्षिक उत्सव मनाउने विषयमा क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायको अध्यक्षतामा आयोजित प्राध्यापक विद्यार्थी संघ संगठनहरुको संयुक्त बैठकमा उनीहरुले यस्तो तय गरेका हुन् ।

अन्य कार्यक्रम भने क्याम्पसका विभाग र शिक्षक तथा कर्मचारीहरुले सञ्चालन गर्ने छन् । हाजिरी जवाफ प्रतियोगिताको जिम्मेवारी अर्थशास्त्र विभागले लिएको छ भने सरसफाइ शिक्षा र व्यवस्थापन विभागले संयुक्त रुपमा गर्नेछन् । सरस्वती पूजाको संयोजनको जिम्मेवारी अर्थशास्त्र विभागकै शिक्षक दिपकप्रसाद कँडेललाई दिइएको छ । मूल समारोहको मञ्च व्यवस्थापन र जलपान कार्यक्रमको जिम्मा कर्मचारी संघको भागमा परेको छ । पुरस्कार व्यवस्थापन प्राध्यापक संघले गर्नेछ भने समग्र कार्यक्रमको संयोजन र मूल्याङ्कन क्याम्पस प्रशासनले गर्ने भएको छ ।

क्याम्पसको वार्षिक उत्सवको मूल समारोह माघ १९ गते श्रीपञ्चमीका दिन हुनेछ । शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान विषयका स्नातक र स्नातकोत्तर तहका कक्षाहरु संचालित क्याम्पसको स्थापना २०१९ सालमा भएको हो । यसले हरेक वर्ष श्रीपञ्चमीका दिन आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । यो त्रिभुवन विश्वविद्यालय अन्र्तगत धवलागिरीको एक मात्र आंगिक क्याम्पस हो ।

प्रतिक्रिया