काठमाडौं ११ माघ/डेढ वर्षअघि विद्यार्थी नभएर खारेजीमा पर्दा कसैले कल्पनासमेत गरेको थिएन– कुनै दिन जनजागृति प्रावि उदाहरणीय स्कुलका रूपमा चिनिनेछ भनेर । समयले यसरी कोल्टे फेर्यो कि, यतिखेर पूर्वका झापा–इलामदेखि पश्चिमका जुम्ला–हुम्लासम्मका विद्यार्थीले भरिएको छ स्कुल । डेढ सय विद्यार्थीलाई आवासीय सुविधासमेत छ ।
तीन शिक्षकको दरबन्दी भएको विद्यालयमा ७ मात्र विद्यार्थी भएपछि जिल्ला शिक्षा कार्यालयले खारेज गरेको थियो । तर अभिभावक र विद्यालय व्यवस्थापन समितिको मिहिनेतले यतिखेर कोदालोदेखि कम्प्युटरसम्मको पढाइ हुने स्कुलका रूपमा नाम कमाएको छ, जनजागृतिले ।
स्कुल खारेज भएपछि अभिभावकको पहलमा विद्यार्थी व्यवस्था गरेर फेरि सञ्चालनमा ल्याइयो । शिक्षाप्रेमी सूर्य राई व्यवस्थापन समितिको अध्यक्ष बने । तत्कालै शिक्षण विधि फेरियो । पढाइ कक्षामा होइन, स्थलमै विद्यार्थी लगेर सिकाउन थालियो । ‘अचेल कोदालोदेखि कम्प्युटरसम्मको पढाइ हुने गरेको छ । जमिन, जंगल र जलसम्मको पठनपाठन हुन्छ,’ अध्यक्ष राईले भने, ‘विद्यार्थीलाई बारीमा गएर बारीसम्बन्धी सबै शब्द र अर्थ बुझाइन्छ, खोलासम्बन्धी पढाउन खोलामै लगिन्छ, यसो गर्दा विद्यार्थीले कहिल्यै भुल्दैनन् ।’
जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले यसखाले पठनपाठनले आफू प्रभावित भएको बताए । ‘धेरै पढाउनु पर्दैन रहेछ,’ उनले भने, ‘दिनमा तीनवटा शब्द जाने काफी हुँदो रहेछ । व्यावहारिक र प्रयोगात्मक सिकाइले शिक्षाप्रतिको बुझाइमै फरक पर्दोरहेछ । नेपालमा अन्त कतै यसरी पढाउने गरिएको जानकारी मलाई छैन ।’
अध्यक्ष राईले पाठ्यपुस्तकसँग होइन, पाठ्यक्रमका आधारमा पढाउने गरिएको बताए ।
‘पाठ्यक्रमकै आधारमा कृषि, पशुपन्छी, घर निर्माण, उद्योग, कम्प्युटरलगायत जीवनोपयोगी ज्ञान दिने विधि अपनाएका छौं,’ उनले भने । विद्यालयमा सरकारी दरबन्दीमा प्रावि तहका एक जना (सविता ढकाल) मात्र शिक्षक छन् । अन्य ५० जनालाई व्यावहारिक शिक्षकका रूपमा राखिएको छ । रोचक के छ भने, जुम्ला, कालिकोट, मुगु, हुम्ला, मुस्ताङ, कास्की, काठमाडौं, सिरहा, उदयपुर, झापा र इलामदेखिका विद्यार्थी पढ्न आएका छन् । आर्थिक स्थिति निम्न भएका र भूकम्प पीडितलाई प्राथमिकता दिएर भर्ना गरिएको छ । अहिले प्राथमिक तहदेखि कक्षा १२ सम्म गरी १ सय ७० विद्यार्थी छन् । कक्षा ६ सम्म जनजागृतिमा भर्ना गरिएको छ भने ७ देखि १२ कक्षासम्मका विद्यार्थीलाई सरस्वती माविबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ । ‘मावि तह सञ्चालनका लागि स्वीकृतिको पहल भइरहेकाले यसो गर्नुपरेको हो,’ अध्यक्ष राईले सुनाए ।
करिब डेढ सय विद्यार्थीलाई आवासीय व्यवस्था छ । विद्यालय सञ्चालनका लागि कृषिविज्ञ मदन राई संलग्न रहेको शुभद्रा–मदन फाउन्डेसनले सहयोग गरेको छ । विद्यार्थी लक्षित गरेर बृहत् योजना बनाइँदै गरेको पनि उनले बताए । उनका अनुसार बोटानिकल ज्ञानका लागि जंगल, कृषि र उपभोग्य उत्पादनसम्बन्धी ज्ञानका लागि जमिन र जलसम्बन्धी ज्ञान हासिल गर्न जलक्षेत्रलाई लिजमा लिएर विद्यार्थीलाई शिक्षा दिने योजना छ ।
खोटाङबाट डम्बरसिं राईले कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया