Edukhabar
शनिबार, ०५ असोज २०८१
विचार / विमर्श

म उपकुलपति हुनेछु

शनिबार, ०९ असोज २०७२

- प्रा.डा. मनप्रसाद वाग्ले  शिक्षाका नीतिगत मात्रै हैन व्यवहारिक मुद्धाहरुका बारेमा समेत वकालत र अभ्यास गर्दै आएका शिक्षाविद् हुन् । उनी मूलत सार्वजनिक शिक्षाको सुधारका बारेमा कृयाशिल छन् । कविता लेख्नुलाई उनी आफ्नो रुची भन्छन् । उनको यो रुचि यसपटक विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रवृत्ति विरुद्ध ब्यङ्ग्यात्मक भावमा प्रकट भएको छ । उपकुलपति नियुक्तिको प्रकृया सकिएको छेक पारेर यो हप्ताको शिक्षा साहित्य श्रृखलामा उनकै कविता : म उपकुलपति हुनेछु


बलजफ्ती पढेर करै करमा
तीन चोटी ब्याक पेपर लागेर
स्नातकोत्तर उत्तीर्ण भएछु
धन्य कापी जाँच्नेहरु
मैले आफैंले चित्त नबुझाएको बिषयमा पनि
उच्चतम अंक प्रदान गरी मलाई उम्काएछौ

क्लास त टेकेकै छैन
तर पनि नोट सार्ने निहुमा एक दर्जन जति
साथी बनाइएछ
धन्य ती सच्चा मित्र जसले
चिट पास नगरेका भए
म आजसम्म लण्ठु हुनेथिएँ

कलेज नगएर पनि म व्यस्त थिएँ
पार्टी कार्यालयले मलाई जिम्मा दियो
सडकमा ढुंगा हान्ने र आन्दोलनमा मान्छे कुट्ने
लुट्ने चुट्ने र तह लगाउने
ठेक्का पट्टामा दादागिरी गरेर
पार्टीलाई धनी बनाउने

उमेर चढ्दै जाँदा झल्याँस्स भएछु
भोलीको मेरो भविष्य के होला
एउटा गतिलो ठाउँमा खुट्टा नटेके
न परिवारले पत्याउँछन् न छिमेकीले
पार्टी गुहारें र लुसुक्क विश्वविद्यालयमा छिरें
सहायक प्राध्यापक भएर

पार्टी कामले पढाउन गइएन बरु
काजमै पार्टीको काम गरियो
उपकुलपति आफ्नै पार्टीको भएकाले
कुनै रोकतोक बिना मस्ती गरियो
बरु सिनेट र कार्यकारी जस्तो शक्तिशाली ठाउँमा
जिम्मेवार सदस्य पड्काइयो

त्यसै कारण त नपढ़ाए पनि
बिद्याबारिधी नगरेपनि
आर्शिवादले प्राध्यापक बनियो
धन्य मेरा मूल्यांकनकर्ता
जसले शक्तिकै पूजा गरे
र मलाई त्यो उच्च सम्मान दिलाए

मलाई यस्ता चिट्ठाले अझ हौस्यायो
पिएचडी गरे त उपकुलपति पो भइन्छ की जस्तो लाग्यो
काठमाडौँ कै कुनै कुनामा
केही लाख बुझाए पछि तीनै बर्षमा
डिग्री पाउने कुरा पत्ता लाग्यो
धन्य ती संस्था जसले यो देशमा म जस्ता लण्ठुलाई
धेरै गुण लगाई विद्यावारिधि दिलाएको छ
अनि त्यसैका कारण आज मेरो नाम
उपकुलपतिको खाली पदमा अग्रस्थानमा छ

मेरा बिगतका सफलता हेर्दा
म ढुक्क छु यस बर्ष पक्कै
यो देशकै प्रतिष्ठित विश्वविद्यालयको
म उपकुलपति हुनेछु

प्रतिक्रिया