काठमाडौं ५ माघ/ सत्तरी जिल्लामा नयाँ शैक्षिक सत्र सुरु हुन ८७ दिन (चैत अन्तिमसम्म) बाँकी छ । आउँदो शैक्षिक सत्रमा पढ्ने कक्षा १ देखि १० सम्मका ५७ लाख ५७ हजार ७ सय ४४ जना विद्यार्थीका लागि ३ करोड ७२ लाख ५१ हजार ९ सय ५५ थान पाठ्यपुस्तक चाहिन्छ । यीमध्ये १ करोड २१ लाख थान पाठ्यपुस्तक अझै छाप्न बाँकी छ । मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा भने नयाँ शैक्षिक सत्र सुरु हुन २६ दिन मात्रै बाँकी छ । यी पाँच जिल्लामा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ ।
कक्षा सुरु हुनुभन्दा १५ दिनअघि माघ १५ सम्म पाँचै जिल्लामा पाठ्यपुस्तक पुर्याउनुपर्ने हो । पुस्तक पुर्याउन त टाढाको कुरा, छाप्नसमेत सुरु भएको छैन । यस वर्ष कक्षा १० को पाठ्यपुस्तक परिवर्तन भएको छ । जनक शिक्षा सामग्री केन्द्रका अनुसार कक्षा १० को एक लाख पुस्तक छपाइ कार्य सकाउन अझै एक साता लाग्छ । ‘कक्षा १० को तीनवटा विषयको पाठ्यपुस्तकको कभर छापिसक्यौं । तीनवटाको कभर छापिरहेका छौं,’ केन्द्रका निर्देशक कपिल पोखरेलले भने, ‘एक साताभित्र सकाएर वितरण गर्न पठाउँछौं ।’ कक्षा १ देखि ५ सम्मका ३४ लाख ५० हजार २३ विद्यार्थीलाई आवश्यक १ करोड ७२ लाख थान पुस्तक छाप्ने जिम्मेवारी निजीलाई दिइएको छ । कक्षा ६ देखि १० को २३ लाख ७ हजार विद्यार्थीका लागि आवश्यक २ करोड १ हजार ८ सय ४० थान पाठ्यपुस्तक छाप्ने जिम्मेवारी केन्द्रले पाएको छ । केन्द्रले विभागलाई दिएको जानकारीअनुसार मंगलबारसम्म ७९ लाख थान मात्रै छापिएको छ । यसमध्ये ६६ लाखको मात्रै ‘फिनिसिङ’ भएको छ ।
शैक्षिक सत्र सुरु हुनुअघि बाँकी पुस्तक तयार गर्न दैनिक १ लाख ३९ हजारका दरले छाप्नुपर्छ । केन्द्रले सोमबार विभागलाई बुझाएको कार्ययोजनाअनुसार दैनिक छपाइ क्षमता ८२ हजार मात्रै छ । विभागका महानिर्देशक बाबुराम पौडेलका अनुसार केन्द्रले शैक्षिक सत्रअघि ५० लाख थान पुस्तक छपाइ गर्न नसक्ने जानकारी गराएको छ । ‘बेलैमा वैकल्पिक व्यवस्था गर्नुपर्ने देखिन्छ,’ उनले भने । केन्द्रले विभागमा बुझाएको कार्ययोजनामा भनिएको छ, ‘लक्ष्यअनुसार २ करोड २ लाख थान पाठ्यपुस्तक तयार गर्न नपुग हुने ५० लाख थान उत्पादनको वैकिल्पक व्यवस्था गर्नुपर्छ ।’ उसले चारवटा विकल्प पनि सुझाएको छ । युसेप र साझाबाट ३ लाख, केन्द्रको प्रेस २४ सै घण्टा सञ्चालन गरेर २७ लाख, गत वर्ष विशेष व्यवस्था गरेर सञ्चालन गरेको प्रेसबाट २० लाख छाप्न सकिने विकल्प पेस गरेको छ ।
यस वर्षदेखि कक्षा १ र २ को पुस्तक रंगीन हुँदै छ । यसको छपाइ जिम्मेवारी निजी प्रेसलाई दिइएको छ । विभागका महानिर्देशक पौडेलका अनुसार निजीले छपाइ सुरु गरेकै छैन । ‘पुस १५ पछि प्रिन्ट रेडी कपी पाएकाले छपाइ बल्ल सुरु गरेका छौं,’ निजी प्रेसका प्रतिनिधि दीपक भण्डारीले भने ।
केन्द्रले जिल्लामा पुस्तक लगिसक्नुपर्ने बेला बल्ल हुम्ला, जुम्ला र डोल्पाका लागि नेपालगन्ज र मनाङ, मुस्ताङका लागि पोखरामा पुर्याउने भएको छ । त्यस्तै निजीले कहिले छपाइ गरेर पुर्याउने निश्चित छैन । नेपालगन्ज र पोखरामा पुर्याएपछि कतिपय जिल्लामा ढुवानी गर्नै हप्तांै लाग्छ । जिल्लाबाट विद्यालयसम्म पुग्दा शैक्षिक सत्र सुरु भएको एक महिनापछि पनि पुग्ने निश्चित छैन ।
पाठ्यपुस्तक खरिद गर्न शिक्षा विभागले भदौ अन्तिम साता १ अर्ब ८३ करोड ३ लाख ३१ हजार रकम जिल्लामा पठाइसकेको छ । जिल्ला शिक्षा कार्यालयले पनि विद्यालयको खातामा पठाइसकेको छ । पैसा विद्यालय पुगे पनि विद्यार्थीले शैक्षिक सत्रको सुरुमा पाठ्यपुस्तक पाउने निश्चित छैन । ‘चैत १५ भित्र पाठ्यपुस्तक पुर्याइसक्नुपर्ने थियो,’ पौडेलले भने, ‘केन्द्रको विकल्प बेलैमा खोजिएन भने ५० लाख थान पुस्तक पुग्ने देखिएन । निजीले पनि छाप्न सुरु गरेकै छैन ।’
यसैबीच व्यवस्थापिका संसद् अन्तर्गतको महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले छिटो पाठ्यपुस्तक छापिसक्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ ।
समितिको मङ्गलबार बसेको बैठकले जनक शिक्षाले समयमा पाठ्यपुस्तक छाप्न नसक्ने भएमा साझा प्रकाशनलाई छपाइको जिम्मा दिनसमेत निर्देशन दिएको छ । कक्षा १ देखि ५ सम्म निजी क्षेत्रलाई र कक्षा १ देखि १० सम्म जनक शिक्षालाई छपाइको जिम्मा दिइए पनि जनक शिक्षाले कक्षा ६ देखि १० सम्मको मात्र छपाइ गर्ने जनाएको छ । समितिले समयमा पाठ्यपुस्तक अभाव हुने नाममा कक्षा ६ देखि १० सम्मको छपाइको जिम्मा निजी क्षेत्रलाई दिइनु नहुने स्पष्ट गरेको छ ।
बैठकपछि समितिका सभापति रन्जुकुमारी झाले छपाइ कार्यलाई छिटोभन्दा छिटो सक्न निर्देशन दिँदै जनक शिक्षाले छाप्न नसक्ने अवस्था सिर्जना भएमा साझा प्रकाशनलाई प्रवेश गराई छपाइ कार्यलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।
नयाँ शैक्षिक सत्र सुरु हुन अब तीन महिना बाँकी छ । नयाँ शैक्षिक सत्रका लागि तीन करोड ७२ लाख ५१ हजार थान पाठ्यपुस्तक छाप्नुपर्ने छ । त्यसमध्ये जनक शिक्षाले ८० लाख थान छपाइ सकेको र अझै एक करोड १० लाख थान छाप्न बाँकी रहेको छ । बाँकी पाठ्यपुस्तक निजी क्षेत्रले छाप्नुपर्नेछ ।
जनक शिक्षाले भने २४ घण्टा मेसिन सञ्चालन गर्दै आएको दाबी गरेको छ । आगामी फागुन १ गतेबाट दुर्गमका पाँच जिल्लामा नयाँ शैक्षिकसत्र सुरु हुँदैछ । त्यस अवधिसम्ममा ती जिल्लामा चाहिने पाठ्यपुस्तक सेटमा पु¥याइसक्नुपर्ने भएको छ ।
समितिको बैठकमा शिक्षामन्त्री डीआर पौडेलले समयमै पाठ्यपुस्तक छपाइ सक्ने अवस्था बन्न नसकेमा आफूहरूले नयाँ निर्णय गर्ने बताउँदै कुनै पनि हालतमा समयमा नै पाठ्यपुस्तक विद्यार्थीका हातमा पु¥याइसक्ने दाबी गर्नुभयो ।
शिक्षासचिव शान्तबहादुर श्रेष्ठले जनक शिक्षालाई ३३ करोड रुपियाँ चालू पुँजी आवश्यक रहेको उल्लेख गर्दै छपाइ कार्यलाई चारवटा सिफ्टमा गर्नुपर्ने देखिएको बताउनुभयो ।
जनक शिक्षाका निमित्त प्रबन्ध सञ्चालक कृष्णप्रसाद काप्रीले दैनिक ६० हजार थान पाठ्यपुस्तक छाप्दै आएको बताउँदै छपाइ कार्यलाई छिटो सम्पन्न गर्न आफूहरू लागिपरेको बताउनुभयो ।
कान्तिपुरमा मकर श्रेष्ठले लेखेको तथा गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया