Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

परीक्षा बोर्ड अध्यक्षमा १३ र सिटिइभिटीमा सात दाबेदार

सोमबार, ०३ माघ २०७३

काठमाडौं ३ माघ/राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १३ र प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) सदस्यसचिवका लागि सात जनाले दाबी गरेका छन् । उनीहरूले सिटिइभिटीमा कार्ययोजना पेस गरेका छन् । बोर्डको अध्यक्षका लागि कार्ययोजना पेस गर्नेमा निजामती सेवाका पूर्वसचिवहरूदेखि प्राध्यापकहरूसमेत रहेका छन् । शिक्षा मन्त्रालयले कार्ययोजना माग गरी पेस गर्ने समय सकिएपछि छनोट समितिले कार्ययोजनाको मूल्यांकन प्रक्रियासमेत सुरु गरेको छ ।

बोर्डका अध्यक्ष सिफारिस कमिटीका सदस्य महेन्द्र सिंहले उम्मेदवारका लागि मापदण्ड तोकिएको र त्यसैका आधारमा मूल्यांकन हुने बताए । अध्यक्षका लागि कार्ययोजना माग गरेकाले त्यसको मूल्यांकनका लागि केही समय लाग्ने उनले बताए । शिक्षा मन्त्रालयले बनाएको सिफारिस समितिले बोर्डको अध्यक्ष हुन चाहनेले दुई हजार पाँच सय र सिटिइभिटीको सदस्यसचिवका लागि पाँच हजार शब्दसम्मको कार्ययोजनासहित दरखास्त आह्वान गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षका दाबेदार
बोर्डको अध्यक्षका लागि कार्ययोजना पेस गर्नेहरूमा महाश्रम शर्मा, जनार्दन नेपाल, चन्द्रमणि पौडेल, सतीश ओझा, हेमराज ढकाल, सीतानन्द पण्डित, कन्बिलाल यादव, गणेशप्रसाद अधिकारी, महानन्द चालिसे, रामचन्द्र पोखरेल, श्यामानन्द लाल, सूर्यप्रसाद पाण्डे, शिवशरण महर्जन छन् । यीमध्ये दुईजनाको मापदण्ड नपुगेको स्रोतको भनाइ छ ।

सिटिइभिटी सदस्यसचिवका दाबेदार
सिटिइभिटीको सदस्यसचिवका लागि कार्ययोजना पेस गर्नेमा अकिम श्रेष्ठ, दीपनारायण काफ्ले, ईश्वरी भट्ट, महेश भट्टराई, पुष्परमण वाग्ले, विनय मिश्र र दुर्गा उपाध्याय रहेका छन् ।

यस्तो चाहिन्छ योग्यता
परीक्षा बोर्डको अध्यक्ष र सिटिइभिटीमा सदस्यसचिव पदका लागि सिफारिस समितिले कार्यविधि तयार गरी सार्वजनिक सूचना जारी गरेको हो । समितिले योग्य उम्मेदवारमध्ये उच्चतम अंक ल्याउने तीनजनालाई नेपाल सरकारसमक्ष नियुक्तिका लागि सिफारिस गर्नेछ । बोर्डको अध्यक्षका लागि ४ पुस र सिटिइभिटीका लागि ११ पुसमा १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको थियो ।

नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी, प्राध्यापक वा सोसरहको पदमा काम गरिरहेको वा गरिसकेको हुनुपर्ने, दरखास्त दिएको अन्तिम मितिसम्म ४० वर्र्ष उमेर पुगेको र ६१ वर्ष ननाघेको हुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य नभएको जस्ता योग्यता राखिएको छ । उम्मेदवारको शिक्षा वा प्राध्यापक क्षेत्रमा १२ वर्षको अनुभव हासिल गरी सोही समयमा परीक्षा व्यवस्थापन र सञ्चालन कार्यमा कम्तीमा तीन वर्षको अनुभव हुनुपर्ने व्यवस्था छ । सिटिइभिटीमा अधिकृत प्रथम पदमा पाँच वर्ष कार्यअनुभव गरेका इच्छुक उम्मेदवारहरू हुनुपर्नेछ । काम गरेको अनुभव खुल्ने कागजातसहितको बायोडाटासमेत पेस गर्नुपर्नेलगाएतको व्यवस्था छ ।

भवानीश्वर गौतमले नयाँ पत्रिकामा लेखेको खबर ।

प्रतिक्रिया