काठमाडौं २ माघ/ ६ विद्यालयको एउटै भवन ? सुन्दा अचम्म लाग्ला । तर पोखरा–२९ सुइखेतमा पुग्दा विश्वास नगरी धरै हुँदैन ।
व्यवस्थापन सहज हुने भन्दै उपल्लो मुस्ताङको छोन्हुप गाविसका सबै ६ आधारभूत विद्यालयको एकै ठाउँमा पढाइ सञ्चालन गर्ने भन्दै एउटै भवन बनाइएको हो । चिसो बढेसँगै उपल्लो मुस्ताङवासी पोखरालगायत बेंसी झर्ने गर्छन् । अभिभावकसँगै विद्यार्थी पनि जाने भएकाले उनीहरूको पढाइ नबिग्रियोस् भनेर दशकयता पोखरामा घुम्ती विद्यालय सञ्चालन गरी एकीकृत रूपमा पढाइ थालिएको हो । २०६६ सालदेखि भाडाको घरमा घुम्ती कक्षा सञ्चालन गर्दै आएकामा विभिन्न दाताबाट सहयोग जुटाएर भवन बनाइएको हो । ‘खर्च पुर्याउन सामूहिक रूपमा बसेका हौं,’ बुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक जीवनाथ शर्माले भने । सरस्वती, जनप्रभात, भृकुटी, वीरेन्द्र, दिव्यज्ञान र बुद्ध आधारभूत विद्यालयका लागि एउटै भवन बनाइएको हो ।
छोन्हुप सामुदायिक घुम्ती विद्यालय भवनको मुस्ताङकी सांसद श्रीमाया थकालीले शनिबार उद्घाटन गरिन् । भवनमा ६ कोठामध्ये तीन वटा पठनपाठन, छात्रावास, भान्सा र डाइनिङका लागि छुट्याइएको छ । ३ वर्षअघि २० लाख रुपैयाँमा खरिद गरिएको १५ आना जग्गामा ८९ लाख ६१ हजार ४ सय ४९ रुपैयाँमा भवन निर्माण गरिएको हो । भवन बनाउन विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरको छन् । ‘अरू ऋणबाट जुटाएका छौं,’ छोन्हुप घुम्ती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्टुक गुरुङले भने । यस भवनमा अब कात्तिक १५ देखि फागुन २५ गतेसम्म पढाइ हुन्छ । सबै ६ विद्यालयमा कक्षा ३ सम्ममात्रै पढाइ हुन्छ । पहिला ७ कक्षासम्म पढाइ हुने गरेकामा विद्यार्थी घट्दै गएपछि कक्षा पनि घटुवा भएको हो । यी विद्यालयमा जम्मा ५६ विद्यार्थी रहेकामा घुम्तीबाट ४१ जना आएका छन् ।
आफ्नै भवन भएपछि ढुक्कसाथ शान्त वातावरणमा पढाउने अवसर मिलेको घुम्ती विद्यालयका संयोजक तथा दिव्यज्ञान आधारभूत विद्यालयका प्रअ कृष्णप्रसाद सापकोटाले बताए । व्यवस्थापन समितिका संस्थापक अध्यक्ष घ्याल्जेन गुरुङले छुट्टाछुट्टै स्कुल सञ्चालन गर्दा बढी खर्चिलो र झन्झटिलो भएकाले एकै ठाउँमा सञ्चालन गरिएको बताए । मुस्ताङ शिक्षा कार्यालयका अनुसार छोन्हुप, छोसेर, लोमन्थाङ, सुर्खाङ, छुसाङ र मुक्तिनाथ गाविसका १७ विद्यालयले घुम्ती सञ्चालनमा ल्याएका छन् ।
‘चार महिना पूरै चिसोका कारण स्कुल बन्द हुँदा कोर्स पूरा नहुने भएकाले घुम्तीको अवधारणा आएको हो,’ कार्यालयका शाखा अधिकृत लक्ष्मण देवकोटाले भने, ‘यसले पढाइमा गुणस्तर पनि ल्याएको छ ।’
लालप्रसाद शर्माले पोखराबाट कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया