काठमाडौं २ माघ/ जिल्लाका अधिकांश विद्यालय, शिक्षक र विद्यार्थीको अवस्था कमजोर रहेको पाइएको छ । जिल्ला शिक्षा कार्यालयले पहिलोपटक विद्यालय, शिक्षक र विद्यार्थीको सर्वेक्षणबाट सो निष्कर्ष निकालेको हो । कार्यालयले शैक्षिक सुधारका लागि विद्यालय, शिक्षक र विद्यार्थीको वर्गीकरण गरेको छ ।
कार्यालयले जिल्लाको शैक्षिक अवस्था पत्ता लगाउन जिल्लाभरिका विद्यालय, शिक्षक र विद्यार्थीको सर्वेक्षण गरी वर्गीकरण गरेको हो । शिक्षकको वर्र्गीकरण स्रोत व्यक्ति र विद्यालय निरीक्षकले गरेका हुन् । विद्यार्थी र विद्यालयको वर्गीकरण क्रमशः शिक्षक र जिल्ला शिक्षा कार्यालयले गरेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । जिल्लाका ४ सय ५१ विद्यालय, १ हजार ३ सय ७६ शिक्षक र ७२ हजार विद्यार्थीको वर्गीकरण गरिएको जिशिअ सिंहले जानकारी दिए । ‘जिल्लाको शैक्षिक अवस्था सन्तोषजनक छैन । शैक्षिक सुधारका लागि नै यो प्रयास थालिएको हो,’ उनले राजधानीसँग भने ।
सर्वेक्षणपछिको नतिजानुसार विद्यालय, शिक्षक र विद्यार्थीको अवस्था निकै कमजोर भेटिएको जिल्ला शिक्षा अधिकारी सिंहले बताए । शैक्षिक सुधारका लागि सबै पक्षमा सुधार आवश्यक रहेको बताउँदै उनले भने, ‘एक पक्षको सुधारले मात्र यहाँको शैक्षिक स्थिति सुधार गर्न सम्भव छैन ।’ विद्यालयको भौतिक पूर्वाधारका आधारमा ‘क’ वर्गमा २० प्रतिशत, ‘ख’ वर्गमा ३० प्रतिशत र ‘ग’ वर्गमा ५० प्रतिशत विद्यालय देखिएका छन् । ५० प्रतिशत विद्यालयहरूको भौतिक पूर्वाधारको अवस्था निकै कमजोर देखिएको शाखा अधिकृत मानबहादुर गिरीले बताए ।
त्यस्तै, शिक्षकतर्फ ‘क’ वर्गमा १० प्रतिशत, ‘ख’ वर्गमा ४० प्रतिशत र ‘ग’ वर्गमा ५० प्रतिशत रहेका छन् । शिक्षकहरूको दक्षता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन नहुँदा शिक्षकको अवस्था समयानुकूल नरहेको विद्यालय निरीक्षक गिरीले बताए । परिवर्तित समयानुसार पठनपाठन शैली परिवर्तन नभएकाले शैक्षिक अवस्थामा सुधार हुन नसकेको उनको धारणा छ । समयानुकूल शिक्षकको पेसागत दक्षता बढाउने कुनै कार्यक्रम नै नहुनु र पाठ्यक्रम परिवर्तनसँगै तालिमको व्यवस्था नहुनुले शिक्षकहरूमा विषयगत दक्षताको समस्या देखापरेको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शेरबहादुर केसीले बताए । सर्वेक्षणअनुसार विद्यार्थीको अवस्था निकै कमजोर छ । ‘क’ वर्गमा ५ प्रतिशत, ‘ख’ वर्गमा ६० प्रतिशत र ‘ग’ वर्गमा ३५ प्रतिशत रहेको कार्यालयले जनाएको छ । पठनपाठन कार्य केवल औपचारिकतामा सीमित रहेको र विद्यालयमा पढ्ने उचित वातावरण तथा शिक्षक नियमित नहुनुले विद्यार्थीको पढाइमा बाधा पुगिरहेको उनले बताए ।
जिल्लाको शैक्षिक अवस्था खस्कँदै जान थालेपछि वर्ष २०७३ लाई जाजरकोटमा शैक्षिक सुधार वर्ष घोषणा गरेर विभिन्न कार्यक्रम सञ्चालन सुरु गरिएको छ । पहिलो चरण विद्यालय, शिक्षक र विद्यार्थी वर्गीकरण गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको कार्यालयको योजना रहेको छ । कार्यालयले जिल्लामा प्रअ सम्मेलन तथा स्रोत व्यक्तिसँग शैक्षिक सुधारका लागि करार सम्झौतासमेत गरेको छ । अनुगमन एवं निरीक्षण प्रभावकारी रूपमा गरी कर्तव्य पूरा नगर्ने शिक्षकलाई कारबाही गर्ने गरिएको छ ।
बीरबहादुर गिरीले जाजरकोटबाट राजधानीमा लेखेको खबर ।
प्रतिक्रिया