Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

छात्रा मृत्युमा उद्योग वाणिज्य संघ र विद्यालय दोषी

शुक्रबार, २९ पुस २०७३

काठमाडौं २९ पुस/र्‍यालीमा ज्यान गुमाएकी छात्रा समीक्षा आचार्यको मृत्युमा सुर्खेत उद्योग वाणिज्य संघ र होराइजन माध्यमिक विद्यालय दोषी पाइएका छन् । घटना भएको एक महिनापछि सार्वजनिक प्रतिवेदनले उद्योग वाणिज्य संघ र उनले अध्ययन गरेको स्कुललाई दोषी ठहर गरेको हो ।

गत मंसिर २३ गते कर्णाली एक्स्पो तथा व्यापार मेलामा निकालिएको र्‍यालीमा सहभागी होराइजनकी छात्रा समीक्षाको ज्यान गएको थियो । त्यसपछि जिल्ला शिक्षा समिति र शिक्षा कार्यालयले छानबिन समिति गठन गरेका थिए । उक्त समितिले घटनाको प्रतिवेदन बिहीबार सार्वजनिक गरेको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले भने, ‘समीक्षाको मृत्युमा उद्योग वाणिज्य संघ र स्कुल नै मुख्य दोषी हुन् । शिक्षा कार्यालयको अनुमतिबिनै उनीहरूले र्‍यालीमा बालबालिका प्रयोग गरे ।'

मेला आयोजक उद्योग वाणिज्य संघले र्‍यालीमा विद्यार्थी पठाउन निर्देशन दिएको र स्कुलले पनि शिक्षा कार्यालयको अनुमतिबिनै विद्यार्थी सहभागी गराएकाले यो घटनामा उनीहरू नै मुख्य दोषी भएको निष्कर्ष छानबिन समितिले निकालेको छ ।

जिल्ला शिक्षा अधिकारी शाहले थपे, ‘हाम्रो अनुमतिबिना मेलाको र्‍यालीमा बालबालिका प्रयोग गरियो । स्कुल र मेला आयोजक नै मुख्य दोषी हुन् । शिक्षा कार्यालयको अनुमतिबिना बालबालिका कुनै पनि काममा प्रयोग गर्न मिल्दैन । आफूखुसी प्रयोग गर्दा समीक्षाको ज्यान गुम्ने अवस्था आयो ।'

प्रतिवेदन सार्वजनिक भए पनि आफूहरूले दोषीलाई कारबाहीको सिफारिस भने गर्न नमिल्ने उनको भनाइ छ । यद्यपि राष्ट्रिय मानवअधिकार आयोगले पनि यो घटना छानबिन गरेकाले उसैले कारबाही र सजाय सिफारिस गर्ने उनले जनाए ।

उनका अनुसार घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको थियो । छानबिन समितिले तयार पारेको प्रतिवेदन जिल्ला शिक्षा समितिको बैठकपछि सार्वजनिक गरिएको हो । अब जिल्लामा कुनै पनि गैरशैक्षिक क्रियाकलापमा बालबालिका प्रयोग नगर्न शिक्षा समितिले निर्देशन दिएको छ ।

जिल्लाका राजनीतिक दल र तिनका भ्रातृ संगठनले समेत अब बालबालिकाको प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् । शिक्षा कार्यालयले समीक्षाको स्मृतिमा विभिन्न क्रियाकलाप सञ्चालन गर्न उद्योग वाणिज्य संघ र विद्यालयलाई निर्देशन दिएको छ ।

सुर्खेत उद्योग वाणिज्य संघका उपाध्यक्ष धनबहादुर रावतले आफूहरूले नचाहेको घटना हुन पुगेको भन्दै आउँदा दिन सतर्कता अपनाउने प्रतिबद्धता जनाएका छन् । समीक्षाका आफन्तको मागअनुसार संघले सक्दो सहयोग गर्ने उनको भनाइ छ । मेलाको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भएपछि आयोजकले सहभागिता बढी देखाउन र्‍यालीमा विद्यार्थीको प्रयोग गरेका थिए ।
अन्नपूर्ण पोष्टमा ललितबहादुर बुढाले लेखेको खबर ।

प्रतिक्रिया