काठमाडांै २५ पुस/खैराङ ४ की धनमाया चेपाङ दैनिक चार घण्टा घिस्रेर विद्यालय पुग्ने गरेकी छन् । उनी शारीरिक रूपमा अपांग छिन् । घुँडा र देब्रे हातले घस्रेर स्कुल जान्छिन् ।
धनमायालाई घरबाट तर्लिङस्थित स्कुल पुग्न २ घण्टा लाग्छ । दैनिक चार घण्टा घिस्रेर हिँड्न विवश उनी चार कक्षामा अध्ययनरत छिन् । ‘१० वर्षको उमेरमा उनी विद्यालय आउन थालेकी हुन्,’ शिक्षक दलबहादुर स्याङतानले भने, ‘घस्रेर भए पनि उनी नियमित स्कुल आउँछिन् ।’ उनी स्कुलमा भुइँमा बोरा ओछ्याएर लेखपढ गर्छिन् । उनलाई भुइँमा बसेर पढ्न खासै समस्या छैन तर चर्पी जान भने कठिनाइ हुने गरेको छ ।
स्कुलको चर्पी अपांगमैत्री नभएकाले धनमायालाई समस्या भएको हो, स्थानीय मंगलबहादुर चेपाङले भने । जन्मँदै अपांगता भएकी धनमाया कक्षाकी जेहेन्दार छात्रा हुन् । उनी पढाइमा पनि अब्बल छिन् । ‘उनले पढ्ने अवसर पाइन् भने राम्रो गर्न सक्छिन्,’ शिक्षक स्याङतानले भने, ‘५ कक्षासम्म त घिस्रेर भए पनि यहीं पढ्लिन्, ६ कक्षा पढ्न नजिक स्कुल छैन ।’
दिलबहादुर चेपाङको उनी चौथो सन्तान हुन् । खैराङ गाविस कार्यालयमा पुस १४ गते जिल्ला प्रशासन कार्यालयले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो ।
उक्त शिविरमा नागरिकता बनाउन र अपांगता परिचयपत्र लिन उनी ५ घण्टा घिस्रेर आएकी थिइन् । उनको अवस्था देखेर प्रजिअ नारायणप्रसाद दुवाडीले नागरिकताको प्रमाणपत्र तत्कालै बनाइदिएका थिए भने महिला तथा बालबालिका कार्यालयकी प्रमुख शोभा शाहले अपांगताको परिचयपत्र उपलब्ध गराएकी थिइन् । धनमायाले दुवै परिचयपत्र पाएपछि खुसी हुँदै सदरमुकामबाट गाउँमा आएका अतिथिलाई भनिन्, ‘पढ्न मन छ, वातावरण मिलाइदिन अनुरोध गरिन् ।’ ६ कक्षादेखि पढ्ने वातावरण मिलाइदिन उनले अनुरोध गरिन् । अभिभावकको उनलाई अन्यत्र राखेर पढाउन सक्ने हैसियत नै छैन ।
प्रताप विष्टले मकवानपुरबाट कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया