काठमाडौं २५ पुस/प्रा.डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाइ सर्वोच्च अदालतले अयोग्य ठहर गर्नुलाई सराहनीय भन्दै उनका गैरकानुनी कामका लागि दण्डसमेत दिनुपर्ने बताएका छन् ।
कार्कीलाई महाअभियोग लगाउनुपर्नेसमेत माग राखेर आमरण अनशन बसेका डा. केसीले अयोग्य कार्कीलाई योग्य बनाएर नियुक्त गर्नेलाई पनि कारबाही हुनुपर्ने बताए । ‘सर्वोच्चले कार्कीलाई अयोग्य पुष्टि गर्यो तर उनलाई योग्य भनेर नियुक्ति गर्नेहरू चार दलका शीर्ष नेता र तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई पनि कारबाहीको दायरामा ल्याइनुपर्छ,’ उनले कान्तिपुरसँग भने ।
डा. केसीले विधिको शासन छ भन्ने कुरा स्थापित गर्न पनि गलत कामका लागि कार्कीले दण्ड पाउनुपर्ने बताए । उनले सर्वोच्चको फैसला सुशासनको सुरुवात भएको बताए । उनले मुलुकमा सुशासन स्थापित गर्ने आफ्नो लडाइँ जारी रहनेसमेत उल्लेख गरे । ‘अब जनताको मतबाट जनहितका काम गर्न चुनेर आउने सांसदहरूलाई समेत जवाफदेही बनाउनुपर्छ,’ उनले भने ।
डा. केसीले आयुक्त राजनारायण पाठकलाई कारबाही नभएसम्म अख्तियार चोखो हुन नसक्नेसमेत बताए । ‘सांसदहरू लोकमानबाट कति डराएका थिए भन्ने कुरा महाअभियोग लगाउन तीनजना सांसदसमेत जुट्न नसक्ने स्थितिले स्पष्ट पारेको थियो । राजनीतिक दल र लोकमानबीच एक–अर्काको कुकर्मबारे नबोल्ने सहमति भएकाले उनीहरूले महाअभियोग नलगाएका हुन्,’ उनले भने ।
मुलुकमा गुणस्तरीय स्वास्थ्य शिक्षा, सेवालाई सबैको पहुँचमा पार्ने आफ्नो अभियानविरुद्घ कार्कीले भ्रष्टहरूलाई ‘क्लिन चिट’ दिएर परिचालन गरेको दाबी डा. केसीको छ । कार्कीले आफ्नो स्वार्थका लागि स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रमा दर्जनौं हस्तक्षेप गरेको पनि उनले दाबी गरे ।
‘जनहितविपरीत जाने जतिसुकै ठूलो शक्ति भए पनि सामान्य नेपालीले सहजै ढाल्न सक्छन्,’ उनले भने ।
अतुल मिश्रले कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया