काठमाडौं - जागिर खाने अवधि सकिदाँ समेत तलब खाईरहेका ७९ शिक्षकबाट यो आर्थिक बर्षको ६ महिनामा झण्डै २ करोड रुपैंया असुल गरिएको छ । ६० बर्षे उमेर कटेर पनि जागिर खाईरहेका ती शिक्षकबाट १ करोड ८१ लाख ५० हजार २ सय ३८ रुपैंया असुल गरिएको विद्यालय शिक्षक किताबखानाले जनाएको छ ।
गत साउन १ गते देखि पुष १३ गते सम्म यसरी रकम असुल गरिएका शिक्षक मध्ये एकै जनाबाट रु.१० लाख धेरै सम्म असुल गरिएको छ । २०६८ साल साउन ८ गते अवकास हुनु पर्ने पर्साका शिक्षक तुलसी प्रसादबाट मात्रै किताबखानाले १० लाख २३ हजार १ सय ५० रुपैंया असुल गरेको जनाएको छ । २०६७ साल माघ ९ गते अवकास हुने भएपनि पर्साका शिक्षक राम नरेश तिवारीले अहिले सम्म तलब भत्ता बुझेको फेला परेको छ । उनीसँग किताबखानाले ९ लाख ४५ हजार रुपैंया असुल गरेको छ । धनुषाका शिक्षक सुर्यदेव ठाकुरले सबै भन्दा कम ६ सय ७४ रुपैंया फिर्ता गरेका छन् । २०७२ जेठ १६ गते अवकास हुने भएपनि उनले जागिर खाईरहेको फेला परेको थियो ।
आफू निवृत्त हुने अवधिका बारेमा समयमै जानकारी नदिने शिक्षकले उक्त अवधिमा खाएको सबै तलब फिर्ता गर्नु पर्ने हुन्छ । शिक्षकको उमेर हद ६० बर्ष मात्रै छ ।
सामाजिक मर्यादा बढ्ने तथा पदले दिने अवसरको फाईदा उठाउने लोभले कतिपय शिक्षकहरु उमेर कटिसक्दा पनि जागिरमै बसिरहेको फेला परेको छ । शिक्षा नियामावली २०५९ को नीयम १७ मा उमर हदका कारण सेवा निवृत्त हुने शिक्षकले नौ महिना अघिनै सेवारत विद्यालयमा जानकारी दिनु पर्ने ब्यवस्था छ । किताबखानाले ६ महिना अघिनै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निबृत्त हुने शिक्षकको विवरण पठाउँछ ।
तर जिशिकाको हेलचेक्र्याईले निवृत्तहुने शिक्षकहरुको तथ्याङ्क अद्यावधिक नहुने फेला परेको किताबखानाका महानिर्देश्क शेरबहादुर ढुङ्गाना बताउँछन् । आफ्नो सेवा अवधि सकिईसक्दा पनि ढाँटेर तलब खाने शिक्षकका बारेमा विद्यालय निरिक्षकको अनुगमन समेत फितलो देखिएको उनको भनाई छ ।
'शिक्षा कार्यालय छ, त्यहाँ जिल्ला शिक्षा अधिकारी छन्, विनी छन्, अन्य कर्मचारी छन् तर आफ्ना जिल्लामा हुने शिक्षकको विवरण अद्यावधिक नहुन लाजमर्दो हो' उनले भने, 'तिम्रा जिल्लामा भएका शिक्षक मध्ये फलानो फलानो को अवकास मिति यो यो हो भनेर छ महिना अघिनै हामीले पठाईदिन्छौं तै पनि काम हुँदैन ।'
कतिपय शिक्षकहरुको जन्म मितिमा देखिएको फरकले पनि यस्तो समस्या आएको उनको बुझाई छ । जन्म मिति फरक परेमा परीक्षा नियन्त्रण कार्यालयबाट लगत भिडाएर प्राप्त मिति मध्ये पहिलोलाई आधार बनाउने गरिएको उनले बताए । त्यसैले आफूले जागिर खाँदा भरेको १३ पाने विवरण अर्थात् सिटरोल भर्दा लेखिएको मिति र शैक्षिक प्रमाणपत्रमा भएको जन्म मिति समयमै रुजु गर्न उनले शिक्षकहरुलाई आग्रह पनि गरेका छन् ।
यस्ता शिक्षकबाट आर्थिक बर्ष २०७० ७१ मा २ करोड ४९ लाख ४९ हजार २ सय ५७ रुपैंया असुल गरिएको थियो । आर्थिक बर्ष २०७१ ७२ मा १ सय ५१ शिक्षकबाट २ करोड ६२ लाख ४१ हजार ८ सय ५८ र बर्ष २०७२ ७३ मा १ सय ३२ शिक्षकबाट २ करोड २० लाख १६ हजार ६ सय ४९ रुपैंया असुल गरेको कितावखानाले जनाएको छ ।
प्रतिक्रिया