Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

पहुँचवाला शिक्षकलाई नपढाए नि तलब–भत्ता

आइतबार, २४ पुस २०७३

काठमाडौं २४ पुस/कामै नगरी सरकारी तलब–भत्ता लिन पाइन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, अचम्म मान्नुपर्दैन, धनुषाका सामुदायिक विद्यालयमा पहुँचवाला शिक्षक वर्षभरि विद्यालयमा नपढाई तलब–भत्ता बुझ्छन् ।दरबन्दी मिलान हुन नसक्दा धनुषाका विद्यालयमा कतै शिक्षकको अभाव छ भने कतै विद्यार्थीभन्दा शिक्षक बढी छन् । केही शिक्षकले कामै नगरी तलब–भत्ता पाइरहेका छन् ।

धनुषाको फूलगामामा २०६५ मा स्थापना भएको जनता राष्ट्रिय प्राथमिक विद्यालयमा दलित तथा पिछडिएको समुदायका १ सय ८५ जना विद्यार्थी अध्ययनरत छन् । भुइँमै बसेर पढाइ हँुदै आएको यस विद्यालयमा फर्निचरको अभावसँगै एकजना शिक्षक र दुईजना पीसीएफ शिक्षक मात्र रहेको सो विद्यालयका प्राचार्य नीतियानन्द झाले बताए । जनकपुरको असर्फी साह निम्नमाध्यमिक विद्यालयको अवस्था भने फूलगामाको विद्यालयभन्दा निकै फरक रहेको छ ।

शिक्षक संघ धनुषाका सचिव रामस्नेही यादव प्राचार्य रहेको यस विद्यालयमा आवश्यक फर्निचरसँगै २ सय ४ जना विद्यार्थीका लागि १४ जना शिक्षक कार्यरत रहेको असर्फी साह निमाविका प्राचार्य यादवले बताए । जिल्ला शिक्षा कार्यालय धनुषाले जनकपुरकोे राजर्षिजनक राष्ट्रिय प्राथमिक विद्यालय झुलाघरमा १ सय २५ जना विद्यार्थीका लागि १४ जना शिक्षक खटाएको छ ।

यसैगरी, जनकपुरकै जनता राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था पनि उस्तै छ । १ सय ४३ जना विद्यार्थीका लागि पनि ११ जना शिक्षक खटाइएको श्री जनता राष्ट्रिय प्राथमिक विद्यालय लक्ष्मण अखडा जनकपुरका प्रध्यानाध्यापक रामशमशेर साहले जानकारी दिए । जनकपुरमा रहेका १६ वटा प्राथमिक विद्यालयमा ८ सय ८३ जना बालबालिका मात्र अध्ययनरत रहे पनि १ सयजना शिक्षक कार्यरत छन् । ग्रामीण क्षेत्रका विद्यालयमा दरबन्दी भए पनि शिक्षक संघ–संगठनका अगुवा र राजनीतिक दलका नेताका नातागोता सदरमुकाम केन्द्रित हुँदा धनुषाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी मिलान नगरिएको श्री महारानी माई राष्ट्रिय प्राथमिक विद्यालय भतहीपटेर्वाका प्रध्यानाध्यापक पशुपति ठाकुरले बताए ।
राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया