काठमाडौं २४ पुस/सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने सरकारको नीतिअनुरूप शिक्षा मन्त्रालयले सरकारी मेडिकल कलेज नभएका प्रदेशमा तयारी सुरु गरेको छ । प्रदेश नम्बर २ र ५ मा कलेज खोल्ने तयारी थालिएको छ । त्यस्तै, प्रदेश नम्बर ७ मा गेटा मेडिकल कलेजको पूर्वाधार विकास गरिँदै छ । प्रदेश नम्बर ५ को बुटवलमा कलेज स्थापनाका लागि जग्गा व्यवस्थापनको कार्य भइरहेको छ ।
पूर्वाधार विकास समितिको तयारी
शिक्षा मन्त्रालयका अनुसार अब स्थापना हुने मेडिकल कलेजको पूर्वाधार विकास समिति गठनको प्रक्रिया अघि बढेको छ । ‘सरकारी मेडिकल नभएका प्रदेशमा स्थापनाका लागि गठन आदेशको मस्यौदा निर्माण भइरहेको छ,’ मन्त्रालयका एक अधिकारीले भने ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले नभएका ठाउ“मा कलेज स्थापनाको आन्तरिक तयारी भइरहेको बताए । ‘कलेजका लागि चाहिने जग्गा खोजीलगायतका काम भइरहेको छ,’ उनले भने, ‘त्यसका लागि कमिटीसमेत बनिसकेको छ ।’
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सातवटै प्रदेशमा एक–एक मेडिकल कलेज सञ्चालनको प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो । सरकारी मेडिकल कलेज भएका प्रदेशमा भने नयाँ मेडिकल कलेज स्थापना प्राथमिकतामा छैन । प्रदेश नम्बर १ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ३ नम्बर प्रदेशमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।
दुई प्रदेशमा एमबिबिएस नचलेका प्रतिष्ठान
प्रदेश नम्बर ४ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भइरहेको छ । तर, एमबिबिएसजस्ता कार्यक्रम भने सञ्चालनमा छैनन् । प्रदेश नम्बर ६ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । त्यसैलाई स्तरोन्नति गराउने तयारी छ।
गेटा मेडिकल निर्माण हुँदै
प्रदेश नम्बर ७ अन्तर्गत कैलालीमा गेटा मेडिकल कलेज स्थापना हुँदै छ । कलेजको पूर्वाधार निर्माणका लागि टेन्डरसमेत भएर शिक्षा मन्त्रालयले पूर्वाधार विकासको काम गरिरहेको छ । कलेज स्थापनाका लागि मन्त्रालयले केही वर्षअघिदेखि नै तयारी सुरु गरेको थियो । मेडिकल कलेज स्थापना गर्न मन्त्रिपरिषद्बाट मेडिकल कलेज पूर्वाधार विकास समिति (गठन) आदेश, २०७१ पारित भएको थियो । त्यससँगै, मन्त्रालयले गुरुयोजना तयार पारी प्रथम चरणको वातावरणीय प्रभाव मूल्यांकन गरी काम सुरु गरेको हो ।
भवानीश्वर गौतमले नयाँ पत्रिकामा लेखेको खबर ।
प्रतिक्रिया