काठमाडौं २४ पुस/जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सामुदायिक विद्यालयहरूमा करिब १४ लाख मूल्यबराबरको म्याद गुज्रिएका औषधि पठाएको छ ।
स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत जनस्वास्थ्य कार्यालयले दुई सय ४८ वटा सामुदायिक विद्यालयमा १४ लाख रुपैयाँ मूल्यको प्राथमिक उपचार बक्स पठाएको थियो । म्याद गुज्रिएका पारासिटामोल, हेन्डिप्लास्ट, मलम, जीवनजल र हातमा लगाउने ग्लोब राखेर प्राथमिक उपचार बक्स विद्यालयमा पठाइएको थियो ।
जनस्वास्थ्यले खरिद गरेर विद्यालयमा पठाएका प्राथमिक उपचार बक्समा रहेका औषधिमध्ये पारासिटामोल ट्याब्लेटको सन् २०१६ अगस्ट र पेरिनोर्म मलमको म्याद नोभेम्बर २०१६ मै सकिएको छ । ब्यान्डेज, ग्लोब र साबुनको म्याद पनि ६ महिनाअघि सकिएको छ ।
जनस्वास्थ्यले साउन २३ मा शिक्षा कार्यालय पर्सामा सामुदायिक विद्यालयमा वितरण गर्न औषधिसहितको प्राथमिक उपचार बक्स पठाएको थियो । तर शिक्षा कार्यालयले असोज पहिलो सातामा ६ वटा स्रोत केन्द्रमातहतका सामुदायिक विद्यालयमा प्राथमिक उपचार बक्स वितरण गरेको थियो ।
ठोरी, भिस्वा, पोखरिया, जितपुर नौका टोला, बर्बा छटौली एवं वि श्रामपुर स्रोत केन्द्रमातहतका विद्यालयमा असोज पहिलो साता र श्रीपुर स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा भने चार दिनअघि प्राथमिक उपचार बक्स पठाइएको जानकारी पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारीले दिए । 'म यहाँ असोज १७ मा सरुवा भई आएको हुँ', उनले भने, 'सातवटा स्रोत केन्द्रमा म आउनुअघि नै बक्स पठाइसकिएको रहेछ । मैले श्रीपुर स्रोत केन्द्रमा मात्रै पठाएको हुँ । बाँकी दुई केन्द्रमा औषधि पठाउन बाँकी छ ।'
बक्समा म्याद गुज्रिएका औषधि रहेको गुनासो आएपछि औराहा पचगवा र त्रिजुद्ध स्रोत केन्द्रका विद्यालयमा अैषधिसहितको बक्स नपठाइएको उनले बताए ।
शिक्षा कार्यालयको गोदाममा प्राथमिक उपचार बक्स अलपत्र परेपछि आफूले वितरण गर्न निर्देशन दिए पनि औषधि म्याद गुज्रिएको अवस्थामा भेटिएपछि वितरण रोकेको उनले बताए ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत पर्साका सामुदायिक विद्यालयमा पठाइने प्राथमिक उपचार बक्स र औषधि खरिदका लागि गत आर्थिक वर्ष २०७२/७३ मै जिल्लामै जनस्वास्थ्य कार्यालयलाई १४ लाख रुपैयाँ निकासा गरेको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालयले चालू आर्थिक वर्ष २०७३/७४ को साउनमा मात्र औषधिसहितको प्राथमिक उपचार बक्स खरिद गरी पठाएको थियो ।
'यो जनस्वास्थ्य कार्यालयको लापरबाही हो', पर्साका जिल्ला शिक्षा अधिकारी तिवारीले भने, 'जनस्वास्थ्य कार्यालय आफैंले ती बक्स सम्बन्धित विद्यालयमा पुर्याइदिनुपर्ने हो ।'
उनले भने, 'उसले शिक्षा कार्यालयको गोदाममा ल्याएर राखिदियो । हामीले पनि बन्द बक्स खालेर हेरेनौं । ताल्चा लगाएको बक्स खोलेर हेर्ने कुरा पनि आएन ।'
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख राजकिशोर पण्डितले तत्कालीन स्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले म्याद गुज्रिएका औषधि वितरण गरेको आरोप लगाएका छन् ।
जनस्वास्थ्य कार्यालयले विद्यालयमा पठाएका प्राथमिक उपचार बक्समा मन्त्रालयले तोकेभन्दा कम परिमाणका औषधि रहेको पाइएको छ ।
जनस्वास्थ्य कार्यालयले शिक्षा कार्यालयलाई प्राथमिक उपचार बक्स हस्तान्तरण गरेको साउन २३ को पत्रमा बक्सभित्र २५ प्रकारका औषधि एवं उपकरण रहेको उल्लेख छ । तर विद्यालयमा पठाइएका बक्समा भने १५ प्रकारका मात्र औषधि र उकरण रहेको भेटिएको छ ।
विद्यालयमा वितरण गरिएका बक्समा पारासिटामोल ट्याब्लेट, पेरिनोर्म मलम, जीवनजल, ग्लोब, ट्याब्लेट, साबुन, कैंची, कपास, गिलास, थर्ममिटर, टर्चलाइट, ब्यान्डेज, साबुनदानी, नेलकटरलगायत १५ प्रकारका मात्र औषधि एवं उपकरण छन् ।
'एउटा बक्समा पाँच हजार ६ सय ४५ रुपैयाँबराबरको औषधि र उपकरण हुनुपर्छ', जिल्ला जनस्वास्थ्य कार्यालयका एक अधिकृतले भने, 'तर विद्यालयमा पठाइएका बक्समा मुस्किलले एक हजार रुपैयाँबराबरको मात्रै औषधि र सामान राखिएका छन् ।'
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले विद्यालयमा वितरण गरिएका प्राथमिक उपचार बक्समा अनियमितता भएको खबर आफूले पनि पाएको बताए । यसबारेमा छानबिन गरी दोषी कर्मचारीलाई कानुनी कारबाहीको दायरामा ल्याउने उनको प्रतिबद्धता छ ।
क्रान्ति शाहले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।
प्रतिक्रिया