काठमाडौं २३ पुस/काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा ५ जनाको नाम सिफारिस गरिएको छ । शिक्षामन्त्री संयोजक रहेको समितिले शुक्रबार निवर्तमान उपकुलपति रामकण्ठ माकाजु, पूर्वरजिस्ट्रार भद्रमान तुलाधर, रजिस्ट्रार भोला थापा, पूर्वडिन मनप्रसाद वाग्ले र विभागीय प्रमुख जनार्दन लामिछानेको नाम सिफारिस गरेको हो । नाम सिफारिस गर्दा छनोट समितिका सदस्यहरूले भागबन्डा गरेका हुन् । केयू सभाले उपकुलपति छान्न मन्त्री धनीराम पौडेल, सुरेशराज शर्मा र दमननाथ ढुंगाना रहेको छनोट समिति गठन गरेको थियो । माकाजुको मंसिर २६ मा पदावधि सकिनुअघि नै नयाँ उपकुलपति नियुक्ति गर्नुपर्नेमा समितिले सहमतिमा नाम सिफारिस गर्न सकेको थिएन । शर्मा र ढुंगाना माकाजुलाई मात्रै सिफारिस गर्नुपर्ने पक्षमा थिए भने पौडेलले विभागीय प्रमुख जनार्दन लामिछानेको नामसमेत सिफारिस गर्नुपर्ने अडान लिएपछि सहमति जुट्न सकेको थिएन । तीनै जनाले विश्वविद्यालय हाँक्ने योग्य व्यक्तिभन्दा पनि आफ्ना स्वार्थ पूरा गर्ने व्यक्तिलाई सिफारिस गर्न खोज्दा नियुक्ति हुन नसकेको प्राध्यापकहरूको आरोप छ ।
यसअघि उपकुलति हुँदा विश्वविद्यालयमा मेडिकल शिक्षाको विसंगति भित्र्याएका माकाजुको नाम सिफारिस गर्न दुवै पक्षले आपत्ति जनाएका थिएनन् । बिहीबार सिफारिस भएका मध्ये थापा र लामिछाने मन्त्रीका तर्फबाट सिफारिस भएका हुन् । मन्त्रीले दुई जनाको नाम थपेपछि शर्मा र ढुंगानाले पनि तुलाधर र वाग्लेको नाम थपेका हुन् । छैटौं पटक बैठक बसेर नाम टुंग्याएको पौडेलले बताए । समितिले सिफारिस गरेको नाममध्ये एक जनालाई प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले कुलपति बनाउने छन् ।
‘मैले लामिछानेसहित तीन जनाको नाम सिफारिस गरौं भनेर अडान राखेको थिएँ, उहाँहरू मान्नुभएको थिएन । आज (शुक्रबार) उहाँहरूले भनेको मान्छे र मैले भनेको सबैलाई सिफारिस गर्ने निर्णय भयो,’ पौडेलले भने । पाँचै जनाको नाम सिफारिस भएपछि माकाजुलाई उपकुलपति बनाउने चलखेल सुरु भएको प्रस्ट हुन्छ । काठमाडौं विश्वविद्यालय ऐनको दफा १४ मा छनोट समितिले सिफारिस गरेको व्यक्तिलाई कुलपतिबाट चार वर्षका लागि उपकुलपति नियुक्त गर्ने व्यवस्था छ । यो व्यवस्थामा समितिले उपकुलपतिमा एक जनाको नाम सिफारिस गर्ने प्रस्ट छ । ऐनको व्यवस्थाविपरीत समितिले ५ जनाको नाम सिफारिस गरेको हो ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया