Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

विद्यालय नभएको गाउँ साक्षर

शनिबार, २३ पुस २०७३

काठमाडौं २३ पुस/पूर्वाधारमा जिल्लाकै पिछडिएको मानिने तारेचौरी गाउँमा न विद्यालय छ न त कुनै बालकक्षा । तर, बस्तीमा सबै जना साक्षर छन् ।

चारकोसे झाडीनजिकैको यो एकलास गाउँमा ६० नाघेका वृद्धवृद्धाले आफ्नै सामुन्ने लेखपढ गरेको देख्दा जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहाल आश्चर्यमा परे । ‘मैले बुझेसम्म यो नै जिल्लाको पूर्ण साक्षर गाउँ हो,’ जंगली बाटो छिचोल्दै बुधबार तारेचौरी पुगेका दाहालले भने, ‘यहाँको शैक्षिक जागरुकता अरूका लागि समेत प्रेरक हुन सक्छ ।’
एक तामाङसहित मगर जातिका ६० घरधुरीे बसोबास रहेको तारेचौरीका टेकमाया, भद्रीमाया, मीनमाया, मनमायालगायत वृद्धवृद्धाले जिशिअ सामुन्ने धक नमानी लेखपढ गरेर देखाइदिए । गाउँको शैक्षिक समस्याबारे खुलेर छलफल गरे । गाउँमा साक्षरता अभियानअन्तर्गत सञ्चालित कक्षामा पढेदेखि उनीहरूले कुनै पनि ठाउँमा ल्याप्चे लगाउनुनपरेको जानकारी गराए ।
१५ देखि ६० वर्षभित्रका ९५ प्रतिशतले लेखपढ गर्न जाने साक्षर बस्ती घोषणा गर्ने राष्ट्रिय नीति छ । स्थानीय युवक चित्रवहादुर जर्घाका अनुसार उक्त गाउँमा ९८ प्रतिशत साक्षर छन् । ‘साह्रै बूढा र केही सुस्तमनस्थितिका बाहेक सबैलाई धेरथोर लेखपढ गर्न आउछ,’ उनले भने ।
सबैजसो साक्षर रहे पनि लक्ष्मीनिया ५ अन्तर्गत पर्ने यस गाउँमा अहिलेसम्म कुनै विद्यालय नरहेको थाहा पाउँदा जिशिअ दाहाल चकित परे । गाउँको मुखमै एउटा भत्केको विद्यालय भवन त छ । दुई–चार फर्निचर पनि देखिन्छन् तर पठनपाठन ठप्प छ ।
जिशिअले प्रश्न गरे, ‘विद्यालय किन बन्द राखेको ?’ गाउँलेले जबाफ दिए, ‘शिक्षा कार्यालयको बेवास्ताले बन्द भएको हो ।’ गाउँलेका अनुसार यो विद्यालय ३ वर्ष चलेर बन्द भएको हो । स्थानीयले देउसीभैलोबाट रकम जुटाएर विद्यालय चलाएका थिए । विधार्थी संख्या सय नागेको थियो । तर, शिक्षा कार्यालयले स्वीकृति नदिएपछि बन्द गर्नुपरेको चित्रबहादुरले बताए । ‘हामीसँग विद्यालय सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार थिए,’ उनले भने, ‘जति प्रयास गर्दा पनि स्वीकृतिको प्रक्रिया अघि नबढाइदिएपछि विद्यालय आफैंै बन्द गर्न बाध्य भयौं ।’
गाउँलेका अनुसार तारेचौरीदेखि नजिकको विद्यालय ३ देखि ४ किमिको दूरीमा पर्छ । त्यहाँ पुग्न बाटामा उखुघारी, खरबारी, खोला, खहरे र जंगल, झाडी पर्ने भएकाले बालबालिका गाउँमै बरालिएर बस्छन् । यही अवस्था ध्यानमा राखी गाउँलेले चार दिनअघि तत्काल बालकक्षा र अर्को सत्रदेखि प्रावि सञ्चालनमा ल्याउने सहमति जुटाएका छन् । प्रक्रिया अघि बढाउन शिक्षाप्रेमी गौरबहादुर आलेको अध्यक्षतामा ३ महिलासहित ७ सदस्यीय समिति गठन गरिएको छ ।

रवीन्द्र उप्रेतीले महोत्तरीबाट कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया