Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

बढेन चहलपहल स्ववियु निर्वाचनको

शनिबार, २३ पुस २०७३

काठमाडौं २३ पुस/निर्वाचन कार्यतालिका घोषणा हुन नसक्दा त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सरगर्मी बढ्न सकेको छैन ।  विश्वविद्यालयले स्ववियुको निर्वाचन फागुन १४ का लागि तोकेको भए पनि निर्वाचनको सम्पूर्ण कार्यतालिकासहित कार्यतालिका घोषणा नहुँदा निर्वाचनको चहलपहल बढ्न नसकेको विद्यार्थी नेताहरूको भनाइ छ ।  निर्वाचनका लागि उपयुक्त र विश्वासिलो वातावरण बनाउन पनि तत्काल कार्यतालिका घोषणा गर्नुपर्ने माग विद्यार्थी सङ्गठनले गरेका छन् ।  
अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र न्यौपानेले छिट्टै नै निर्वाचन कार्यतालिका घोषणा गर्न त्रिविका पदाधिकारीलाई ज्ञापनपत्र दिने निर्णय आफूहरूले गरेको जानकारी दिनुभयो ।  त्रिविले फागुन १४ गते स्ववियु निर्वाचन गराउने घोषणा गरेकोमा स्वागत गरेका छन् ।  एक दुई दिन विश्वविद्यालयको गतिविधि हेर्ने र कार्यतालिका घोषणा नभएको अवस्थामा लिखित माग गर्ने निर्णयमा प्रमुख विद्यार्थी सङ्गठनहरू पुगेका छन् ।
विद्यार्थी सङ्गठनबीच भएको छलफलमा निर्वाचनमा उम्मेदवार हुन उमेर हद, निर्वाचन प्रणाली लगायत विषयमा विद्यार्थी सङ्गठनले फरक मत राखे पनि निर्वाचन कार्यतालिका घोषणा भएको अवस्थामा सबै विमति थाती राखेर निर्वाचनमा जाने निर्णय भएको जानकारी उहाँले दिनुभयो ।  कार्यतालिका नआउँदासम्म निर्वाचनका लागि वातावरण नै बन्न नसक्ने र निर्वाचनको वातावरण सिर्जना नहुने उहाँको भनाइ छ ।  
विश्वविद्यालयका पदाधिकारीले कार्यतालिका घोषणासहित विद्यार्थी सङ्गठनको संयुक्त बैठक बोलाउनुपर्ने माग विद्यार्थी सङ्गठनले गरेका छन् ।  निर्वाचन गराउने अवस्थामा आचारसंहितामा समेत छलफल गर्नुपर्ने भनाइ विद्यार्थीको छ ।
त्रिविको हालै सम्पन्न सिनेट बैठकले निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष उमेर हद कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।  प्रमुख विद्यार्थी सङ्गठनको सिफारिसकै आधारमा त्रिविको सभाले यस खालको निर्णय गरेको त्रिविका प्रवक्ता भोलाप्रसाद ढकालले जानकारी दिनुभयो ।   
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि मङ्गलबार सम्पन्न त्रिविको सिनेट बैठकमा त्रिवि जस्तो ठूलो संस्थामा लामो समयसम्म लोकतान्त्रिक प्रक्रिया अवरुद्ध गर्न नहुने भन्दै निर्वाचनमा जान आग्रह गर्नुभएको थियो ।  
विश्वविद्यालयका पदाधिकारीहरूका अनुसार यसपटक स्ववियु निर्वाचन गराउने विषयमा प्रमुख राजनीतिक दलका नेतासँग सहमति लिने प्रयास गरिएको छ ।  नेपाली काँग्रेस र नेकपा (एमाले) का नेताहरूलाई पनि यस विषयमा जानकारी गराइएको र नेताहरूले निर्वाचन जान आह्वान गरेको जानकारी विश्वविद्यालयका पदाधिकारीहरूले दिएका छन् ।  
त्रिविको सिनेटले स्ववियु निर्वाचनको प्रावधानमा समेत थप स्पष्ट गरेको छ ।  सोअनुसार कार्यसमितिको निर्वाचनमा अध्यक्ष सचिव र कोषाध्यक्षको मतदान एक व्यक्ति एक मतका आधारमा हुने निर्वाचन पद्धतिबाट हुनेछ ।  सदस्यका हकमा जम्मा निर्वाचित हुने सदस्यमध्ये ५० प्रतिशत सदस्यको लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट र बाँकीको निर्वाचन समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट हुनेछ ।  त्रिविमा स्ववियु निर्वाचन नभएको छ वर्ष भएको छ ।  विश्वविद्यालयको नियममा हरेक दुई दुई वर्षमा स्ववियु निर्वाचन गराउनुपर्ने प्रावधान छ ।  त्रिविमा ६० वटा आङ्गिक तथा एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् ।
गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया