काठमाडौं २२ पुस / सिद्धार्थ राजमार्गको छेउमै कल्याणी आधारभूत विद्यालयको न आफ्नै गतिलो भवन थियो, न राम्रो पढाइ हुन्थ्यो । राजमार्ग छेउका होटल सञ्चालक र सुकुम्बासी बस्तीका साथै विपन्न समुदायका बालबालिकाले पढ्थे । दुई वर्षअघिसम्म यहाँ मुस्किलले १५ विद्यार्थी भएपछि सबैले अचम्म मान्थे । यस विद्यालयप्रति अभिभावक र सरकारी निकायको कुनै चासो थिएन । सरकारी विद्यालयकै शिक्षक र अभिभावकले चाहे भने विद्यालयको शैक्षिक वातावरण सुधार हुन्छ भन्ने उदाहरण अहिले यहाँ देख्न पाइन्छ ।
‘आर्थिक अवस्था राम्रो हुनेहरूका छोराछोरी बोर्डिङमा पढ्छन् । घर छेउको सरकारी विद्यालयमा कसैले नपठाउने समस्या हुन्थ्यो । विद्यार्थी जुटाउन गाह्रो मात्र होइन, जेनतेन विद्यार्थी घरदैलो गरेर ल्यायो अनि टिकाउनै गाह्रो,’ विद्यालय नजिकैका जेके थकालीले भने । शिक्षा कार्यालयले गाभ्ने चेतावनी पनि धेरैपटक दियो । भीरको जग्गामा बनेको तीनकोठे भवनमा पाँच कक्षासम्म चलेको थियो । अभिभावकको भेलाले विद्यालय सार्ने योजना बन्यो । ‘जहाँ स्कुल भवन थियो त्यहाँ अपायक पनि भयो,’ थकालीले भने, ‘त्यसपछि विद्यालय दुई किलोमिटर टाढा गिट्टीखानीनजिकै सार्ने सहमति जुट्यो ।’
राजमार्गको छेउमा विद्यार्थी पठाउन अभिभावक नै मान्दैन थिए । विद्यालय पठाएर सुरक्षित घरमा आउने नआउने चिन्ता अभिभावकमा थियो । अर्को कुरा सुविधा सम्पन्न सवारीसाधनमा बोर्डिङ पठाउन बानी परेका अभिभावकले सरकारी विद्यालयमा पठाउनसमेत मानेनन् ।
तर, अवस्था अहिले भने सुध्रिएको छ । सडकदेखि सय मिटर तल भवन बनेको छ । शिक्षाको सहयोगले विद्यार्थीलाई सुविधासम्पन्न कोठा तयार भएको छ । नजिकै चलेको गिट्टी खानीले वार्षिक केही रकम शिक्षकलाई तलब खुवाउन दिएकाले सहयोग पुगेको छ । अंग्रेजी माध्यम सुरु भएपछि अभिभावक पनि खुसी छन् । १५ विद्यार्थी संख्या बढेर अहिले १ सय ३५ पुगेको छ ।
तिलोत्तमा मावि झुम्सा र पृथ्वीप्रकाश मावि कोलडाँडा जाने विद्यार्थी कल्याणीमै पढ्न थालेका छन् । यहाँ कक्षा, १ र २ मा भुँइ बसाँइ प्रभावकारी बनेको छ ।
पहिला विद्यार्थीलाई खेल्ने स्थान थिएन, अहिले त्यो पनि पूरा भएको छ । शिक्षा कार्यालयसँग धेरैपटक गुहारेपछि अहिले नयाँ स्थान र नयाँ भवन विद्यार्थीले पाएका हुन् । ‘नयाँ स्थानमा विद्यालय लगियो,’ विद्यालयका प्रधानाध्यापक सुन्दर गाहाले भने, ‘विद्यार्थी झनै घट्छन् कि भन्ने लागेको थियो । तेस्तो भएन ।’ उनका अनुसार विद्यालयको वातावरण विद्यार्थीमैत्री बनेको छ । वेस नेपाल र रुम टु रिडले पुस्तकालयले सञ्चालन गरेको छ ।
उनले अहिले बोर्डिङ छाडेरसमेत विद्यार्थी भर्ना हुन आएका छन् । झुम्साको तिलोत्तमा मावि, बोर्डिङ र डुम्रेको सनराइजमा आउने विद्यार्थीसमेत अहिले कल्याणी प्राविमै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठले बताए । उनका अनुसार १५ जनाले बोर्डिङ छाडेर बसेका छन् । अंग्रेजी माध्यमले विद्यार्थीलाई आकर्षण गरेको हो ।
‘पहिलाको पढाइ र अहिलेकामा धेरै फरक पाइएको छ,’ उनले भने, ‘जसले गर्दा विद्यार्थीलाई आकर्षण भएको छ ।’
नर्सरीदेखि कक्षा, ७ सम्म पढाइ हुने यस विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थीको त्रिपक्षीय सम्बन्ध राम्रो रहेको छ । जसले गर्दा पढाइ सुध्रिएको छ । नजिकको कोलडाँडाबाटसमेत विद्यार्थी आउन थालेका छन् । सबै मिलेर विद्यालयलाई नमुना बनाउन सबै लागि परेका हुन् ।
‘विद्यालयको वातावरण राम्रो भएपछि सिकाइ आफंै राम्रो हुँदो रहेछ भन्ने लागेको छ,’ प्रधानाध्यापक गाहाले भने । पछिल्लो समयमा विद्यार्थीको स्तरमा सुधार भएको छ । टाई, बेल्ट, झोला अनिवार्य छ । सरसफाइ, मूल्यांकन, म लेख्न सक्छुजस्ता अतिरिक्त क्रियाकलाप निरन्तर गराइरहेको उनले बताए । गरिब वर्गका बालबालिकालाई विद्यार्थी नै नदेख्दा समस्या भएको हो । अब यहाँ आउनलाई वातवरण पनि तयार भएको छ । अंग्रेजी माध्यममा पढाउने गरिन्छ । शौचालय, विद्यालयको वातावरणलाई सुधार्ने प्रयास जारी राखेको उनले बताए ।
विद्यालय वातावरण सुधार
विद्यालयको वातावरण सुधार्न विद्यार्थी, अभिभावक, शिक्षक मिल्ने गर्छन् । उनीहरूले विद्यालय वरपर वृक्षरोपण गरेर हरियाली बनाउने अभियान थालेका छन् । जिल्ला वन कार्यालयबाट बिरुवा लगेर विद्यालयको वरपर वृक्षरोपण गरेका । कपुर, लालुपाते, चाप, धुनीजस्ता ८० वढी बिरुवा लगाएकाले हुर्किंदै गएको छ । अभिभावकलाई समेत बोलाएर ल्याएका उनीहरूले फूलबारीसमेत बनाएका छन् ।
‘सबै विद्यार्थी र अभिभावक मिलेर विद्यालयको वातावरण सुधार्ने प्रयास गरेका छौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भने, ‘सकेको प्रयास गर्ने हो भनेर नै काम गरेको हो ।’ पहिरो जाने र विद्यार्थी लड्न सक्ने भीर भएकाले विद्यालय दुई किलोमिटर टाढा गिटी खानीनजिकै स्थानान्तरण गरिएको छ ।
माधव अर्यालले पाल्पाबाट कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया