भक्तपुर– किताब छाप्नका लागि आवश्यक कागज अभावका साथै केन्द्रमा कार्यरत कर्मचारीहरु तलब नपाएको गुनासो गरिरहेका बेला शिक्षा विभागले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई एक साताको समयसीमा (अल्टिमेटम) दिएको छ । विद्यालय तहका विद्यार्थीका लागि पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनकले विभिन्न बहाना गरी पाठ्यपुस्तक छपाइ स्थगित गरेपछि विभागका महानिर्देशक बाबुराम पौडेलले एक साता भित्रमा पाठ्यपुस्तक पु¥याउने योजना पेश गर्न अल्टिमेटम दिएका हुन् ।
आउँदो शैक्षिक सत्रका लागि कक्षा ६ देखि १० सम्मका करिब २ करोड थान पाठ्यपुस्तक छपाइको जिम्मेवारी लिएको केन्द्रले अहिलेसम्म करिब ७० लाख मात्र पुस्तक छापेको छ । यसले आगामी शैक्षिक सत्रमा पनि पाठ्यपुस्तक अभाव हुने निश्चित भएपछि महानिर्देशक पौडेलले अल्टिमेटम दिएको स्रोतको भनाइ छ ।
‘जनकको यस्तै पाराले जहिल्यै पनि पाठ्यपुस्तक अभाव हुने देखियो, यसैले सो विषयलाई कसरी सल्टाउन सकिन्छ भनेर महानिर्देशकले निर्देशन दिएका हुन्’ केन्द्रका एक कर्मचारीले भने, ‘महानिर्देशकले चैतभित्रमा कसरी सबैतिर किताव पु¥याउने भन्ने कार्ययोजना माग गरेका हुन् ।’
यतिबेला जनक शिक्षाको महाप्रबन्धक पद रिक्त छ । उक्त जिम्मेवारी हेर्ने गरी पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक समेत रहेका सहसचिव कृष्णप्रसाद काप्रीलाइ तोकिएको छ । दैनिक कम्तीमा एक लाख थान किताब छापिनु पर्नेमा अहिले मुस्किलले २५–३० हजार थान मात्र किताब छापिने गरेको कर्मचारीहरु बताउँछन् ।
४ सय २५ कर्मचारी रहेको उक्त केन्द्र दुई सय ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । २०१७ मा स्थापित केन्द्र २०६३ पछि घाटामा जान थालेको छ ।
प्रतिक्रिया