काठमाडौं - राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षका लागि २ पूर्व सचिव सहित १३ जनाको आवेदन परेको छ । शिक्षा मन्त्रालयमा लामो समय काम गरेका दुई पूर्व सचिव महाश्रम शर्मा र जनार्दन नेपालले समेत अध्यक्षका लागि आवेदन हालेको श्रोतले जनाएको छ । आवेदन दिनेमा त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्टार चन्द्रमणि पौडेल, त्रिवि शिक्षा शास्त्रका पूर्व प्रमुख शिवशरण महर्जन, त्रिवि शिक्षा शास्त्रकै हेमराज ढकाल, त्रिवि
व्यवस्थापनका महानन्द चालिसे रहेको श्रोतले जनाएको छ । यस्तै सतिश ओझा, रामचन्द्र पोखरेल, सितानन्द पौडेल, सूर्य प्रसाद पाण्डे, श्यामनाथ लाल, गणेशप्रसाद अधिकारी, कुञ्जिलाल यादवले पनि अध्यक्षका लागि आवेदन हालेको श्रोतले जनाएको छ ।
शिक्षा मन्त्रालय माओवादीको भागमा परेकोले माओवादी निकट त्रिविका पूर्व रजिष्टार पौडेल, ढकाल र महर्जन मध्ये एक जना नियुक्त हुने सम्भावना वलियो रहेको माओवादी निकट श्रोतले जनाएको छ । 'आफ्नो भागमा मन्त्रालय हुँदा आफू निकटकालाई नै नियुक्त गर्ने मन्त्रीको सोच छ' श्रोतले भन्यो ।
अध्यक्षको छनौट गर्ने सर्च कमिटिमा आफू निकटकै सदस्य मनोनित गरेको आधारमा पनि यो कुरा प्रष्टै छ । शिक्षा ऐनमा सर्च कमिटिको संयोजक लोकसेवा आयोगको अध्यक्ष हुने ब्यवस्था भएपनि २ जना सदस्यको नियुक्ति मन्त्रालयले गर्ने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार शिक्षा मन्त्री धनिराम पौडेलले त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्टार महेन्द्र सिंह र त्रिविकै प्राध्यापक डा. चन्द्रकला घिमिरेलाई सदस्य नियुक्त गरेका छन् ।
पूर्व सचिव शर्मा र नेपाल पनि नियुक्तिको लागि लविङ्मा ब्यस्त रहेको उक्त श्रोतले जनायो । उहाँहरु पनि जोडबल त गर्दै हुनुहुन्छ, मन्त्री निकट उक्त श्रोतले भन्यो ।
सर्च कमिटिले १५ दिन भित्र ५ हजार शब्द सम्मको आफ्नो अवधारणा र ब्यवसायिक कार्ययोजना बुझाउन भनेको थियो । उक्त अवधि भित्र प्राप्त निवेदन मध्ये कमिटिले ३ जनाको नाम सिफारिस गर्ने छ ।
'निवेदन दिने म्याद भित्र केही निवेदन प्राप्त भएका छन्, तर को कस्का निवेदन परे भन्ने कुरा हामीले हेरेका छैनौं' सर्च कमिटिका सदस्य सिंहले भने, 'एक दुई दिन भित्रै समतिको बैठक बसेर उनीहरुको योग्यता लगायत आवश्यक कुरा तय गरी चाँडै सिफरिस गछौं ।'
गठन भएको २० दिन पछि सर्च कमिटिले गत पुस ५ गते सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष हुन चाहने ब्यक्तिले ५ हजार शब्द सम्मको आफ्नो अवधारणा र ब्यवसायिक कार्ययोजना बुझाउन भनेको थियो । २५ सय शब्द सम्मको अवधारणा र २५ सय शब्द सम्मको ब्यवसायिक कार्ययोजना संलग्न गरी मन्त्रालयमा सिलबन्दी दरखास्त बुझाउन समितिले भनेको थियो ।
मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर र शिक्षा वा परीक्षा सम्बन्धि क्षेत्रमा कम्तिमा १२ बर्षको अनुभव भएको ब्यक्ति बोर्डको अध्यक्ष हुने गरी ऐनमै योग्यता उल्लेख गरिएको छ । सर्च कमिटिले १२ बर्षको अनुभवलाई शिक्षा वा प्राध्यापन क्षेत्रमा १२ बर्षको अनुभव हासिल गरी सोही समयमा परीक्षा ब्यवस्थापन र सञ्चालन कार्यमा कम्तीमा तीन बर्ष सहितको अनुभवलाई जनाउने भन्दै स्पष्ट पारेको थियो ।
समितिले राजपत्राँकित विशिष्ट श्रेणी, प्राध्यापक वा सो सरहको पदमा काम गरिरहेको वा गरिसकेको, दरखास्त दिएको मितिमा ४० बर्ष पुरा भई ६१ बर्ष ननाघेको, नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट दोषि प्रमाणित नभएको कुनै दलको सदस्य नभएको र बोर्डसँग कुनै स्वार्थको टकराव नभएको ब्यक्तिले दरखास्त दिन सक्ने जनाएको थियो । ऐन जारी भएको ७ महिनासम्म पनि बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै मन्त्री पौडेलको आलोचना हुँदै आएको छ ।
प्रतिक्रिया