Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

नियुक्ति भागवण्डामा, त्रिवि सभामा प्रधानमन्त्री भन्छन् राजनीतिकरण नगरौं

बुधबार, २० पुस २०७३

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । एक साता अघि मात्रै विश्वविद्यालयले राजनीतिक भागवण्डाका आधारमा विभिन्न संकायमा डीन नियुक्त गरेको भएपनि दाहालले बुधबार भएको विश्वविद्यालय सभाको ४२ औँ साधारण बैठक (सिनेट) मा यस्तो आग्रह गरेका हुन् । कुलपतिको हैसियतमा सभामा बोल्दै दाहलले प्राज्ञिक संस्थामा अति राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।

राजनीतिक भागवण्डा नमिलेर लामो समय डीन नियुक्त हुन नसकेका विभिन्न संकायमा  विश्वविद्यालयले गत पुष १२ गते डीन नियुक्त गरेको थियो । जसमा सत्ताधारी दल माओवादीलाई २, नेपाली काँग्रेसलाई ३ र प्रमुख प्रतिपक्षी दल एमालेलाई १ संकायमा डीन  नियुक्ति गरिएको छ ।

माओवादी  नेतृत्वमा नयाँ सरकार बन्नु अघिनै  चिकित्सा, कृषि, वन, मानविकी र कानून काँग्रेसको भागमा, शिक्षा र ईञ्जिनीयरिङ् एमालेको भागमा र विज्ञान र ब्यवस्थापनको डीन माओवादीको भाग लगाईएको थियो । तर, सत्ता गठबन्धनमा भएको फेरबदलले उक्त भागबण्डामा सहमती जुट्न नसक्दा डीन नियुक्ति लम्बिदैं आएको थियो ।

सिनेट बस्नु भन्दा एक हप्ता अघि मात्रै त्रिविले राजनीतिक सहमती जुटाएर नियुक्ति गरेको थियो । जस अनुसार काँग्रेसको भागमा परेको शिक्षामा प्रा.डा. कृष्ण गौतम, कृषिमा प्रा.डा.केशवराज अधिकारी, वनमा प्रा.डा. कृष्णराज तिवारीलाई डिन बनाईएको थियो । यस्तै माओवादीको भागमा परेको मानविकीमा प्रा.डा. शिव प्रसाद भुसाल र विज्ञानमा यस अघिकै निमित्त डीन प्रा.डा. राम प्रसाद खतिवडालाई नियुक्त गरिएको थियो । एमालेको भागमा परेको ब्यवस्थापन संकायमा प्रा.डा. डील्लीराज शर्मालाई नियुक्त गरिएको छ ।

सिनेटमा बोल्दै प्रधानमन्त्रीले प्रशासनिक र नीतिगत विषयमा आवश्यकता अनुसार सुधार गरी आफ्ना कार्य सञ्चालन गर्न, उच्च शिक्षालाई समयानुकुल बनाउन त्रिविजस्तो इतिहास बोकेको संस्थाले सोच्नुपर्ने बताए । विश्वविद्यालयको चुस्त शैक्षिक वातावरण निर्माणमा पहल गर्न उनको आग्रह थियो । विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय सहित उत्कृष्ट केन्द्र बनाउन उनले निर्देशन दिएका छन् । बैठकमा दाहलले मूलूकको पछिल्लो राजनीतिक अवस्था र पनकाशसका बारेमा पनि बोलेका थिए । स्थानीय निर्वाचनको मिति तय भइसकेपछि त्यसलाई प्रतिकूल असर नगर्ने वातावरण सिर्जनासहित स्ववियु निर्वाचन गराउन उनले आग्रह गरे ।

सभामा त्रिविका सहकुलपति समेत रहेका शिक्षामन्त्री धनिराम पौडेलले विश्वविद्यालयको सुधार र विकासका लागि सरकारबाट गर्नुपर्ने सहयोगमा कमी नहुने बताए । तर, विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्व बजारमा प्रतिस्पर्धि बन्न सक्ने वातावरण निर्माणमा विश्वविद्यालय अग्रसर हुनु पर्ने बताए । 

उपकुलपति डा. तीर्थराज खनियाले सेमेस्टर प्रणालीलाई क्रमशः लागू गर्ने प्रक्रियामा विश्वविद्यालय रहेको बताउँदै आफूहरुको सहमतिबिना आफ्ना क्याम्पस र भौतिक पूर्वाधारलाई अन्य विश्वविद्यालयमा हस्तान्तरण गर्ने सरकारी कार्य प्रति गुनासो गरे । बैठकले त्रिविको ५५ औं वार्षिक प्रतिवेदन, विश्वविद्यालय सम्बन्धि आवश्यक ऐन, नियमावलीमा परिवर्तन, संरचनात्मक सुधार तथा आगामी कार्यक्रम पारित गरेको छ ।

यो पनि पढ्नुहोस् : त्रिविको लापरवाही, विद्यार्थी एक रजिष्ट्रेशन तीन !

प्रतिक्रिया