Edukhabar
सोमबार, ०३ मंसिर २०८१
गतिविधि

संयुक्त राष्ट्रसङ्घीय नमुना सम्मेलनमा कक्षा ८,९ र १० का विद्यार्थी

बुधबार, २० पुस २०७३

काठमाडौं - अन्तर्राष्ट्रिय रुपमा विकसित घटनाक्रमको बारेमा विद्यार्थीलाई ज्ञान दिन काञ्जीरोवा नेसनल स्कुल कोटेश्वरमा संयुक्त राष्ट्रसङ्घीय नमुना सम्मेलन गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थी सम्मिलित उक्त सम्मेलनमा समसामयिक अन्तर्राष्ट्रिय घटनाक्रमबारे व्यापक छलफल गरियो ।

उक्त नमूना सम्मेलनमा संयुक्त राष्ट्रसंघका विभिन्न आङ्गिक निकायका काम कारवाहीबारे विद्यार्थीले कृयाकलाप गरेका थिए । शरणार्थी सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय आयोग, संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन, विश्व स्वास्थ्य सङ्गठन, निःशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा समिति, आर्थिक तथा वित्तीय समिति, सामाजिक, मानवीय र सांस्कृतिक समिति, विशेष राजनीतिक तथा अनौपनिवेशिक समिति लगायत राष्ट्रसङ्घका विभिन्न निकायहरूको प्रतिनिधित्व गरेका विद्यार्थीले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्समक्ष आआफ्ना सङ्कल्प–मस्यौदा प्रस्तुत गरेका थिए ।

उक्त सङ्कल्प–मस्यौदामा शरणार्थी र विस्थापित व्यक्तिका लागि सम्पत्ति र शिक्षाको प्रवद्र्धन, उदीयमान जोखिमबाट विश्व सम्पदा क्षेत्रको सुरक्षा, जलवायु परिवर्तनले सार्वजनिक स्वास्थ्यमा पारेको प्रभाव, सिरिया र इराकको राज्यविस्तार नियन्त्रण, गरिबी उन्मूलन र मानवअधिकारको संरक्षण, लैङ्गिक हिंसा र भेदभाव नियन्त्रण, इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वजस्ता समसामयिक कुरा उल्लिखित छ । अन्तर्राष्ट्रिय जगत्मा विकसित घटनाक्रमको पहिचान गरी समस्या समाधानका उपायहरूको खोजी गर्न तथा विद्यार्थीमा अनुसन्धानमुखी गुणको विकास गर्न सम्मेलन आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक महेन्द्र खनालले बताए । प्रतिष्पर्धी युगसुहाउँदो र समयानुकूल शिक्षा प्रदान गर्ने कार्यलाई निरन्तरता दिँदै जाने क्रममा विगत पाँच वर्षदेखि स्कुलले अन्तर्राष्ट्रिय नमुना सम्मेलनलाई निरन्तरता दिँदै आइरहेको विद्यालयका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले बताए ।

सम्मेलनको पर्यवेक्षकका रूपमा नेपालस्थित अमेरिकी दूतावासका सांस्कृतिक मामिलाका प्रतिनिधि विशेषज्ञ तथा अमेरिकास्थित एन्जेलो विश्वविद्यालयबाट संयुक्त राष्ट्रसङ्घमा प्रतिनिधित्व गर्ने युवा विद्यार्थीको उपस्थिति थियो । पर्यवेक्षकीय मन्तव्य राख्दै सज्जा दाहालले अन्तर्राष्ट्रिय राष्ट्रसङ्घीय सम्मेलनको झझल्को दिने गरी विद्यार्थीले पूर्णआत्मविश्वासका साथ प्रस्तुत गरेका विषयवस्तु अत्यन्त प्रभावकारी रहेको उल्लेख गरिन् । उक्त सम्मेलनमा विद्यार्थीले सांस्कृतिक नृत्य समेत प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया