काठमाडौं २० पुस/हरिया दुईवटा त्रिपालमुनि सातवटा बेन्च । भुइँमा खम्बा गाडेर बनाइएका डेस्क । न ब्ल्याकबोर्ड न चक–डस्टर । शिक्षकका लागि कुर्सीसम्म छैन । विद्यालय भनेर पत्याउनै सकिँदैन । तर, लेखपराजुल ३ स्थित जनज्योति निमावि अढाइ वर्षयता यस्तै हबिगत बेहोरिरहेको छ । सातवटा बेन्चमा आठ कक्षासम्मका विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता छ ।
२०७१ साउन २९ गतेको पहिरोले विद्यालय भवन बगाएपछि पठनपाठनमा समस्या भएको हो । भवन पुनर्निर्माणका लागि अहिलेसम्म योजना नै बनेको छैन । कक्षाकोठा अभावले विद्यार्थीको कन्तबिजोग छ । कक्षा ७ का सुमन राम्जाली बोर्डमा नलेखिँदा शिक्षकले पढाएको बुझ्न गाह्रो भएको दु:खेसो पोख्छन् । ‘अन्य विषयमा खासै समस्या हुँदैन । अंग्रेजी, गणित र विज्ञानमा सिक्न गाह्रो हुन्छ,’ उनले भने, ‘विद्यालय व्यवस्थापन समिति र शिक्षकले पहल गरेको भए समुदायले नै स्कुल बनाउन सक्थ्यो । हाम्रो पीडा कसैले बुझेन ।’
भवन नबनेकै कारण थुप्रै विद्यार्थी अन्यत्र गएको शिक्षक पूर्णबहादुर शाहीले बताए । ‘कक्षाकोठा नहुँदा विद्यार्थी अरू स्कुल सरिसके’ उनले भने, ‘पहिले २ सय २५ विद्यार्थी उपस्थित हुन्थे, अहिले ५० हाराहारीमा मात्रै आउँछन् ।’ उनका अनुसार कक्षा आठका एक, सातका तीन, छका चार, पाँचका छ, चारका १३, तीनका १०, दुईका ९ र एक कक्षाका १० विद्यार्थी मात्र नियमित आउँछन् । बाँकी विद्यार्थी लेखपराजुलकै काल्पानी, डुंगीखोला, भर्याङ र छिन्चुका स्कुलमा भर्ना भएका छन् । नजिकको विद्यालय नबनेपछि उनीहरू पढ्नकै लागि दिनहुँ एक घण्टा हिँड्न बाध्य छन् ।
जनज्योतिमा एक स्थायी र एक अस्थायी दरबन्दीका शिक्षक छन् । निजी स्रोतबाट चार जना राखिएको छ । ‘विद्यार्थीलाई ओत लगाउन गतिलो पालसमेत पाइएन,’ व्यवस्थापन समिति अध्यक्ष गंगबहादुर राम्जाली मगरले भने, ‘शिक्षा कार्यालयले दिनलाई दियो तर एक बर्खा पनि टिकेन । त्यही पनि खुइलियो ।’ कक्षा एकदेखि आठसम्मका विद्यार्थी छ्यासमिस बस्नुपर्ने अवस्था छ । प्रधानाध्यापक खड्गबहादुर खड्काले विद्यार्थीको पठनपाठन प्रभावित नहोस् भनेर खुला चौरमै राखेर भएपनि नियमित स्कुल सञ्चालन गर्ने गरेको बताए । उनले भने, ‘कसैलाई लेख्न, कसलाई पढ्न लगाउँछौं । सबै शिक्षक भए वरपरका डाँडामा लगेर सिकाउँछौं ।’
अरू स्कुलमा पढ्न गएका कतिपय विद्यार्थी परीक्षा दिन भने जनज्योतिमै आइपुग्छन् । त्रैमासिक, अर्धवार्षिक परीक्षामा छिन्चु गएका बाहेक सबै विद्यार्थी सामेल भएको प्रधानाध्यापक खड्काले जानकारी दिए । ‘भवन निर्माण भएपछि विद्यार्थी फर्किने आशामा छौं,’ उनले भने । जिल्ला शिक्षा कार्यालयको सहयोगमा ३२ लाखको लागतमा चारकोठे पक्की भवन बन्दै छ । चार लाखमा शौचालय । त्यो भवन बनिसक्दा पनि सबै कक्षालाई पुग्ने गरी छुट्टाछुट्टै कोठा भने पुग्दैनन् । विद्यालयका अनुसार थप पाँच कोठा आवश्यक पर्नेछ ।
रामेछापको गौस्वारा खारपानी माविका विद्यार्थी पनि लामो समयदेखि यस्तै सकसमा छन् । बाँसले घेरेर बनाइएका कक्षाकोठा अधिकांश भत्किसकेका छन् । बाँकी रहेका थोरै कोठा पनि जाडो थेग्न सकिने खालका छैनन् । कापकापबाट पस्ने सिरेटोले विद्यार्थीलाई हैरानी खेलाउँछ । सबै जना एकै ठाउँ कोचिएर बसेका छन् भूकम्पले भत्किएको भवन पुनर्निर्माण नगरिँदा एकदेखि पाँच कक्षासम्मका विद्यार्थी एउटै कोठामा पढिरहेका छन् ।
‘विद्यालय भवन भूकम्पले भत्कायो, त्यसपछि सरकारले बनाइदिएको अस्थायी अध्ययन केन्द्र पानीले कुहिएर गयो,’ प्रधानाध्यापक उद्धव थापा भन्छन्, ‘आजभोलि कोठा नभएर कक्षा १ देखि ५ सम्मका ३८ विद्यार्थी एकै ठाउँ राखेर पढाइरहेका छौं ।’ अहिले पूरै विद्यालय जम्मा ६ वटा कोठामा चलिरहेको छ । ती कोठामा २ सय १० विद्यार्थी अटाएका छन् । तर, जीर्ण भइसकेका ती कोठामा जाडोले कामिरहेका हुन्छन् उनीहरू । प्रधानाध्यापक थापा भन्छन्, ‘चिसो बेस्सरी छ, सुइटर लगाएर आउनु भनेका छौं तर पनि धेरैको आङमा तातो लुगा हुँदैन । क्षतिग्रस्त भवन कहिले बन्ने टुंगो छैन ।’
खारपानीको मात्र समस्या होइन यो । भूकम्पले भवन भत्किएका सबैजसो विद्यालय समान पीडामा छन् । अघिल्लो वर्षको हिउँदमा कष्टपूर्वक पढेका विद्यार्थी यसपालि पनि त्यही अवस्था भोग्न बाध्य भइरहेका छन् । प्राय सबै विद्यालयमा अस्थायी अध्ययन केन्द्र बनाइएका थिए । ती सबै बाँसले वेरीएकाले अधिकांश नास भएर गए । बाँकी रहेका पनि अध्ययनका लागि उपयुक्त छैनन् । ‘जाडोमा बसिसक्नु हुँदैन, गर्मीमा हावा र धुलोले हैरान पार्छ, पानीको बाछिटा पसेर भिजाउँछ,’ कुभुकास्थलीको भगवती निमाविका प्रअ भरतवहादुर वस्नेतले भने । भगवती निमाविमा एउटै अस्थायी केन्द्रमा ४ वटा ससाना कोठा बनाइएको छ । भएजति विद्यार्थी त्यहीँ कोचिएका छन् । बाहिरको चिसो हावा भित्रै आइपुग्छ, माथिबाट शीत चुहिन्छ । त्यहाँ पनि कक्षा २ र ३ का विद्यार्थी एउटै कोठामा राखिएको छ ।
उक्त निमाविका लागि जर्मन सहयोगमा फाड्स नेपालले चारकोठे भवन बनाउन कागजी प्रक्रिया अघि बढाएको थियो तर काम अझै सुरु भएको छैन । सरासर काम हुँदा पनि भवन बन्न कम्तीमा एक वर्ष लाग्ने विद्यालयले जनाएको छ । भूकम्पले जिल्लाका ४ सयभन्दा बढी विद्यालयमा क्षति पुगेको छ । सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत विद्यालय भवन बनाउने योजना अघि सारेको छ तर काम असाध्यै सुस्त छ । केही विद्यालय पुनर्निर्माणका लागि बल्ल बोलपत्र आहान गरिएको छ । यही गतिले जाँदा सबै विद्यालय भवन पुननिर्माण सक्न दशक लाग्ने देखिन्छ ।
केही विद्यालय भने विभिन्न संघसंस्थाको सहयोगमा निर्माण भएका छन् । सेमी पर्मानेन्ट भवन बनेकाले त्यहाँ पठनपाठन केही सहज छ ।
कान्तिपुरमा प्रकाश अधिकारी, टीकाप्रसाद भट्टले सुर्खेत र रामेछापबाट लेखेको खबर ।
प्रतिक्रिया