Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

शिक्षा पत्रकारिता पुरस्कार प्रदान

बुधबार, २० पुस २०७३

काठमाडौं २० पुस/नेपाल पत्रकार महासंघले २०७२ सालको शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकार तथा सञ्चारमाध्यमलाई पुरस्कार वितरण गरेको छ । महासंघ केन्द्रीय कार्यालयमा मंगलबार आयोजित  कार्यक्रममा शिक्षा राज्यमन्त्री धनमाया विक, महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले पुरस्कृत पत्रकार तथा सञ्चारमाध्यमलाई पुरस्कार प्रदान गरेका हुन् ।

जसअनुसार ७५ हजार राशिको ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–०७२’ सूर्यप्रसाद पाण्डे (काठमाडौं) र मकर श्रेष्ठ (काठमाडौं) लाई संयुक्त रूपमा प्रदान गरिएको छ । उपत्यकासहित ६ क्षेत्रलाई प्रदान गरिने २५ हजार राशिको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–०७२’ पूर्वाञ्चलबाट कोकिला ढकाल (राजधानी दैनिक–इलाम) र अम्मर खड्का (नागरिक दैनिक–सुनसरी), मध्यमाञ्चलबाट दिवाकर भण्डारी (अन्नपूर्ण पोस्ट–बारा) र ध्रुव दंगाल (नागरिक दैनिक–सिन्धुपाल्चोक), पश्चिमाञ्चलबाट वसन्त गिरी (गोरखापत्र–कपिलवस्तु) र कृष्ण खनाल (बुटवल टुडे दैनिक–रुपन्देही), मध्यपश्चिमाञ्चलबाट लक्ष्मण केसी (आजको शिक्षा साप्ताहिक–रुकुम) र गिरु भण्डारी (कान्तिपुर दैनिक–प्युठान) र सुदूरपश्चिमाञ्चलबाट भवानी भट्ट (कान्तिपुर दैनिक–कञ्चनपुर) र कृष्ण ओली (नागरिक दैनिक–बाजुरा) गरी ५ क्षेत्रमा सुयक्त रूपमा र उपत्यकाबाट लीलप्रसाद चन्द (सामुदायिक सूचना नेटवर्क–काठमाडौं) लाई प्रदान गरिएको छ ।

उपत्यकासहित ६ क्षेत्रका २÷२ जना पत्रकारलाई प्रदान गरिने १५ हजार राशिको ‘शिक्षा लेखनवृत्ति–०७२’ पूर्वाञ्चलबाट शेखर ढकाल (रेडियो नेपाल–सुनसरी) र सरिता राई (रासस–भोजपुर), मध्यमाञ्चलबाट मायामितु न्यौपाने (रेडियो वीरगन्ज–पर्सा) र मनिका झा (अन्नपूर्ण पोस्ट दैनिक–धनुषा), उपत्यकाबाट गोपाल संग्रौला (कारोबार दैनिक–काठमाडौं) र आस्था केसी (रातोपाटी डटकम–काठमाडौं), पश्चिमाञ्चलबाट वीरेन्द्र केसी (कान्तिपुर–अर्घाखाँची),  लक्ष्मण पोखरेल (दैनिक पत्र दैनिक– रूपन्देही), सन्तोष गौतम (नवविकल्प साप्ताहिक–म्याग्दी), मध्यपश्चिमाञ्चलबाट गोविन्द केसी (नागरिक दैनिक–दैलेख), दीपबहादुर घर्ती (कमान्डर पोस्ट दैनिक–जाजरकोट) र ईश्वर अधिकारी (काँक्रेविहार दैनिक–सुर्खेत) र सुदूरपश्चिमाञ्चलबाट वसन्तप्रताप सिंह (कान्तिपुर दैनिक–बझाङ), शेरबहादुर ऐर (अनुमोदन दैनिक–कैलाली) र टंकबहादुर कुँवर (बिन्तीपत्र साप्ताहिक–कैलाली) लाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

यसैगरी ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–०७२’ तर्फ पूर्वाञ्चलबाट पुर्वेली एफएम (मोरङ) र रेडियो मकालु (धनकुटा), मध्यमाञ्चलबाट रेडियो मकवानपुर (मकवानपुर) र रेडियो रसुवा (रसुवा) लाई संयुक्त रूपमा र उपत्यकाबाट रेडियो सगरमाथा १०२.४ (ललितपुर), पश्चिमाञ्चलबाट रेडियो सारथी १०७.४ (बागलुङ), मध्यपश्चिमाञ्चलबाट रुबरु एफएम (बाँके) र सुदूरपश्चिमाञ्चलबाट संयुक्त रूपमा रेडियो धनगढी ९०.५ (कैलाली) र रेडियो अमरगढी ९७.४ (डडेलधुरा) लाई प्रदान गरिएको छ । उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिएको यो पुरस्कारको राशि २० हजार रहेको छ भने राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने ४० हजार राशिको यो पुरस्कार पत्रपत्रिकातर्फ युगबोध दैनिक (दाङ) र आजको शिक्षा साप्ताहिक (काठमाडौं) लाई संयुक्त रूपमा र टेलिभिजनतर्फ हिमशिखर टेलिभिजन (झापा) लाई प्रदान गरिएको छ ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै शिक्षा राज्यमन्त्री धनमाया विकले सकारात्मक कामको सकारात्मक ढंगबाट समाचार सम्प्रेषण गरी जनतालाई सत्यतथ्य सूचना प्रदान गर्न जोड दिइन् । कार्यक्रममा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पुरस्कृत पत्रकारहरूलाई बधाई दिँदै शिक्षा पत्रकारितामा अझ डटेर लाग्न शुभकामना दिए ।

महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिस्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको घोषणा महासंघ र शिक्षा विभागद्वारा गठित मूल्यांकन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनोट मूल समितिको बैठक निर्णयद्वारा भएको हो ।
राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया