काठमाडौं १९ पुस/राजनीतिक स्वार्थका लागि बन्द हडतालको चपेटामा पर्दै आएका स्थानीय विद्यालय बन्द नगर्न सर्वपक्षीय प्रतिबद्धता गरिएको छ । बालबालिकाको सिकाइ उपलब्धि कमजोर भएको भन्दै दलीय स्वार्थका लागि विद्यालय बन्द नगर्ने प्रतिबद्धता गरिएको हो ।
यसमा शिक्षकहरूका पेसागत संघ संगठन, सरकारी तथा गैरसरकारी निकाय प्रमुख तथा प्रतिनिधिले प्रतिबद्धता जनाएका हुन् । विद्यालयलाई शान्ति क्षेत्र बनाउने पहलसहित १५ बुँदे प्रतिबद्धता गरिएको छ । कांग्रेस सभापति हर्षबहादुर बम, एमाले अध्यक्ष नगिन्द्र शाही नेसनल, माओवादी केन्द्रका खेमबहादुर सिंह, राप्रपाका मीनबहादुर शाहीलगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल शिक्षक महासंघ अध्यक्ष दुर्गबहादुर शाही, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय उपाध्यक्ष हंसबहादुर शाही, नेपाल शिक्षक संघ केन्द्रीय उपाध्यक्ष दानबहादुर बमलगायतले यसमा समर्थन जनाएका छन् ।
विद्यालयमा कुनै पनि अवस्थामा सशस्त्र गतिविधि, दलीय कार्यक्रम नगर्ने र बालबालिकामाथि हुने सबै खाले हिंसा, हेँला, दुव्र्यवहार र विभेद अन्त्य गर्ने प्रतिबद्धतामा उल्लेख छ । ‘विद्यालय बन्द हुँदा हुने क्षति कम गर्न यहाँका दलहरूले गरेको प्रतिबद्धता अरू जिल्लाका लागि पनि अनुकरणीय छ,’ जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले भने, ‘शैक्षिक गुणस्तर सुधार गर्न २ सय २० दिन नै विद्यालय खुल्ने वातावरण बनाउनुपर्छ ।’ उनले प्रतिबद्धताअनुसार विद्यालय अनुगमन गरिने बताए ।
नेपाल शिक्षक युनियनले कर्णालीमा हालै गरेको अनुसन्धानले विभिन्न नाममा हुने बन्द, हडतालका बहानामा २ सय २० विद्यालय खुल्नुपर्नेमा ८३ दिन मात्र चलेको देखियो । यो विद्यालय खुल्नुपर्ने सम्पूर्ण दिनको ३८ प्रतिशतले कम हो । कालीकोटका दललगायत सरोकारवालाको प्रतिबद्धतापछि विद्यालय खुल्ने दिनमा वृद्धि हुने नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय उपाध्यक्ष हंशबहादुर शाहीले बताए ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया