काठमाडौं १९ पुस/भारतीय राजदूतावासले कैलालीका दुई विद्यालयको भवन निर्माणमा आर्थिक सहयोग गर्ने भएको छ । कैलालीमा रहेको श्री सरस्वती मावि टीकापुर र क्षेत्रीय प्रहरी मावि धनगढीको विद्यालय भवन बनाउन भारतीय दूतावासले सहयोग गर्ने भएको हो ।
विद्यालय भवन निर्माणसम्बन्धी त्रिपक्षीय सम्झौतामा भारतीय दूतावास काठमाडौंका द्वितीय सचिव ज्ञानवीर सिंह, कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद विमली र विद्यालयका प्रधानाध्यापक क्रमशः खगेन्द्रबहादुर घर्तीमगर र दिल्लीराज जोशीले हस्ताक्षर गरेका हुन् ।
दूतावासले दुवै विद्यालयको भवन निर्माणका लागि नेपाल भारत आर्थिक साझेदार कार्यक्रमअन्तर्गत ७ करोड ५४ लाख १० हजार रुपैयाँका दरले दुवै विद्यालयलाई सहयोग गर्नेछ ।
०४२ सालमा स्थापना भएको क्षेत्रीय प्रहरी विद्यालयमा करिब ७०० विद्यार्थी अध्ययन गरिरहेका छन् । त्यस्तै, ०३५ सालमा स्थापना भएको सरस्वती माविमा १ हजार ३ सयभन्दा बढी विद्यार्थी रहेका छन् ।
सम्झौताअनुसार १५ महिनाभित्र विद्यालय भवन निर्माण भइसक्नेछन् । अहिलेसम्म कैलालीमा भारतीय सहयोगमा १८ करोड ८० लाख रुपैयाँका ५ आयोजना सम्पन्न भएको र दुई आयोजना सञ्चालनमा रहेको दूतावासले जनाएको छ । त्यस्तै, जिल्लामा भारतले ६ एम्बुलेन्स र ५ विद्यालय बस सहयोग गरेको छ ।
राजधानीमा प्रकाशित खबर ।
प्रतिक्रिया