Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

माघभित्र सबै विद्यालयमा व्यवस्थापन समिति गठन गरिने

मंगलबार, १९ पुस २०७३

काठमाडौं १९ पुस/ देशभरका सबै सामुदायिक विद्यालयमा आगामी माघ महिनाभित्र विद्यालय व्यवस्थापन समिति गठन गरिनेभएको छ ।  
नयाँ शिक्षा ऐन जारी भएसँगै त्यसको आधारमा देशभर व्यवस्थापन समिति गठनको काम भइरहेको जानकारी शिक्षा विभागले दिएको छ ।  व्यवस्थापन समितिको अभावमा विद्यालय तहको शिक्षा, निर्माण लगायत कार्य प्रभावित भएपछि समितिको गठन कार्यलाई तीव्र बनाइएको हो ।
शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले माघभित्रै सबै सामुदायिक विद्यालयमा व्यवस्थापन समितिको गठन पूरा हुने विश्वास व्यक्त गर्दै हालसम्मको प्रगति विवरण सन्तोषजनक रहेको बताउनुभयो ।  विभागले यसअघि माघभित्र सबै सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन गर्न जिल्ला शिक्षा कार्यालयलाई लिखित परिपत्र
गरेको थियो ।  
जिल्ला शिक्षा अधिकारीहरूले पनि आफूसँगको भेटमा समिति गठन कार्यले तीव्र रूपमा भइरहेको जानकारी गराएको उहाँले बताउनुभयो ।  देशभर झन्डै ३४ हजार सामुदायिक विद्यालय छन् ।  नयाँ व्यवस्थापन समितिको गठनपछि नयाँ शिक्षा ऐन कार्यान्वयन भएको सन्देश विद्यालय तथा अभिभावक तहसम्म पुगेको उहाँको भनाइ छ ।  
जिल्ला शिक्षा अधिकारीहरूले पनि व्यवस्थापन समिति गठनको कार्यलाई आफूहरूले प्रमुख प्राथमिकतामा राखी काम गरिरहेको जनाएका छन् ।  ललितपुरका जिशिअ दिलनाथ पुरीले समितिको गठन कार्य चलिरहेको जानकारी दिनुभयो ।
केही विद्यालयले अदालतबाट पुरानो समितिकै आदेश ल्याएको र संरक्षकका विषयमा केही विवाद भए पनि अब सबै विषय सहज हिसाबले अघि बढेको उहाँले बताउनुभयो ।  हामी माघभित्रै सबै विद्यालयमा व्यवस्थापन समिति गठन गरिसक्छौँ, त्यसका लागि आवश्यक निर्देशन दिइएको छ जिशिअ पुरीले बताउनुभयो ।
डोटीका जिशिअ अनन्त पौडेलले विद्यालयमा नयाँ व्यवस्थापन समिति गठनको कार्य भइरहेको जाकनारी दिनुभयो ।  नयाँ व्यवस्थापन समिति गठन भएका विद्यालयले हाल बैङ्क खाता परिवर्तन लगायत कार्य गरिरहेको र यसले विद्यालयलाई आर्थिक अनुदान निकासा लगायत कार्य गर्न सहज भएको उहाँको भनाइ छ ।  जिशिकाले विद्यालयको आर्थिक अनुदान विद्यालय व्यवस्थापन समितिको खातामा नै पठाउने गरेको छ ।  
अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी अभिभावकभन्दा पनि प्रधानअध्यापक र शिक्षकको स्वार्थका कारण विद्यालय व्यवस्थापन समिति गठन गरिएको दाबी गर्दै वास्तविक अभिभावकलाई सक्रिय गराउनुपर्ने खाँचो आँैल्याउनुभयो ।  जिशिअ, प्रधानाध्यापक, स्रोत व्यक्तिले  यस खालको कार्यमा विशेष भूमिका खेल्नुपर्ने उहाँ बताउनुहुन्छ ।  

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया