काठमाडौं - सर्लाहीको परवानीपुर स्थित डिम जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थी सवार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पिकनिक मनाएर फर्कर्दै गरेका विद्यार्थी बोकेको बस दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत परवानीपुर–५ का १९ वर्षीय सन्देश बस्नेत र परवानीपुर–१ चिसापानकी १८ वर्षीया रविना बैजुको निधन भएको हो ।
दुर्घटनामा परी घाईते मध्ये २८ जना उपचार पछि घर फर्केको र बाँकी ५४ जनाको वीरगंजका विभिन्न अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीलाई उदृत गर्दै रेडियो एकता सर्लाहीका पत्रकार जनार्दन खत्रीले जानकारी दिएका छन् ।
नयाँ बर्ष सन् २०१७ को अवसरमा हेटौंडा स्थित शहीद स्मारकमा पिकनिक मनाउन गएका विद्यार्थी सवार ना ३ ख ७६६८ नम्वरको बस आईतबार राती ८ बजे तिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको गढिमाई नगरपालिका– १ स्थित दुधौरा खोलाको पुलबाट खसेको हो ।
घटना स्थलमा पुगेका बाराका एसपी नरेन्द्रप्रसाद उपे्रतीले तीव्र गतीमा गुडेको बस पुल मर्मतका लागि बनाईएको खाल्डोमा परेर उछिट्टिएको अनुमान गरे । बस पुलबाट करिव ५० फिट तल खोलामा खसेको छ ।
दुर्घटनाका बारेमा हल्ला सुने पनि यकिन विवरण थाह नभएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीले बताए । 'ठूलै दुर्घटना भएको जस्तो सुनिन्छ तर सम्बन्धित विद्यालयबाट कुनै जानकारी प्राप्त भएको छैन' उनले भने, 'धेरै जनाले सोधी खोजी गरी सके हामी पनि के रहेछ बुझ्दै छौं ।'
प्रतिक्रिया