Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

संस्कृत क्याम्पसलाई बेवास्ता

सोमबार, १८ पुस २०७३

काठमाडौं / तनहुँ देवघाटधामस्थित महेश संन्यास गुरुकुल संस्कृत क्याम्पस चर्को आर्थिक अभावबाट गुज्रिरहेको छ । संस्कृत विषय स्नातकोत्तरसम्म पढाइ हुने क्याम्पस सरकारी निकायबाट सहयोग नपाउँदा मुठीदानकै भरमा जेनतेन चलिरहेको छ ।

महेश संन्यास आश्रमको अगुवाइमा सञ्चालित क्याम्पस नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हो । क्याम्पस प्रमुख गुरुप्रसाद सुवेदीले आवश्यकता र आश्वासनपछि निर्माण थालिएको भवनका लागि पनि सहयोग नआएको गुनासो गरे । ‘पाँच करोड रुपैयाँ लागत स्टिमेटमा निर्माणाधीन क्याम्पस भवनलाई दानमुठीबाटै दुई करोड जुटायौंं,’ उनले भने, ‘तर, थप पैसा नहुँदा भवन अधुरै छ ।’

चारतले भवन निर्माणाधीन अवस्थामै छ । फर्निचर अभावमा कक्षा सञ्चालन गर्न समस्या छ । क्याम्पसमा उत्तरमध्यमा (प्रमाणपत्र) तर्फ १ सय ६० विद्यार्थी अध्ययनरत छन् । त्यस्तै शास्त्री (स्नातक) मा ४५ जना र आचार्य (स्नातकोत्तर) तहमा १० जना छन् । उनीहरूलाई खाने–बस्ने व्यवस्थासमेत आश्रम सञ्चालक स्वामी रामानन्द गिरीको सहयोगमा भइरहेको छ । ‘विश्वविद्यालय अनुदान आयोग र शिक्षालगायतका अन्य मन्त्रालयमा समेत सहयोग मागेका छौं,’ व्यवस्थापक केशवानन्द आचार्यले भने, ‘आश्वासन मात्र पाइएको छ, सहयोग गर्ने आएका छैनन् ।’ भक्तजनहरूले भने गच्छेअनुसार सक्दो सहयोग गरिरहेका छन् ।

शिक्षा मन्त्रालयलाई शिक्षक दरबन्दी मिलाइदिन पनि पटकपटक काठमाडांै धाएको उनले बताए । हाल गुरुकुलमा २५ जना प्राध्यापक कार्यरत छन् । विश्वविद्यालयले दुई जना सहप्राध्यापकलाई काजमा खटाएको छ । अरू सबैलाई आश्रमले आन्तरिक स्रोतबाट नियुक्त गरेको छ । मासिक लाखौं रकम तलबभत्तामै खर्च हुने भएकाले निर्माण खर्च जुटाउन समस्या भएको आचार्यले गुनासो गरे । गुरुकुलमा विद्युतीय पुस्तकालय सञ्चालन गर्ने योजना पनि आर्थिक अभावले थाती छ । यहाँ प्राचीन ग्रन्थ, धार्मिक, विज्ञान र गणितका मूल्यवान् पुस्तक छन् । ती पुस्तकलाई मिलाएर राख्न नसक्दा नष्ट हुने खतरा बढेको छ ।

६० रोपनी जमिनमा फैलिएको गुरुकुलमा तरकारी किनेर खानु पर्दैन । स्नातकोत्तरसम्म अध्ययन गर्ने विद्यार्थीले गुरुकुलभित्रै तरकारी फलाउँछन् । केही संख्याको दरबन्दी र हाल निर्माणका लागि सहयोग पाएमा देशकै नमूना गुरुकुल बनाएर देखाइदिने आचार्यले बताए । देशभरबाट कर्मकाण्ड, रुद्री, वेद र पुराण पाठ र महायज्ञलगायतको काममा चाहिने जनशक्तिको खोजी गर्दै गुरुकुल पुग्नेको दैनिक भीड लाग्छ । टाढाबाट आएकाहरूलाई पनि खाने–बस्ने व्यवस्था भित्रै गरिएको छ । क्याम्पस सञ्चालन गर्न कठिन भएपछि मुठीदान अभियान पनि चलाइएको छ । दानकै भरमा दैनिक २ सय ५० जनालाई भोजन जुटाइँदै आएको छ ।
जिल्लाको धार्मिकस्थल भएकाले जिल्ला विकास समितिले पर्यटन प्रवद्र्धन तथा सामान्य विकास खर्चका लागि बजेट विनियोजन गरे पनि पर्याप्त नभएको स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारीले बताए । ‘बृहत्तर गुरुयोजनामार्फत काम गर्नुपर्ने भएकाले सानो सहयोगको कुनै अर्थ छैन,’ उनले भने, ‘एक–दुई पटक पुगेर सामान्य सहयोग गर्नुबाहेक हामीले केही सक्दैनौं ।’ दिगो विकासका लागि राष्ट्रिय अभियान सञ्चालन हुनुपर्ने उनले बताए ।

कान्तिपुरमा प्रकाश बरालले लेखेका छन् ।

प्रतिक्रिया