सम्झदा आजै जस्तो लाग्छ । २०६९ श्रावण १ गते झण्डै १५ वर्ष देखि जारी एनजिओको जागिर छाडेर हुम्लाको खार्पुनाथ गाविस स्थित मान्धारा माध्यमिक विद्यालयमा नि.मा.वि. स्तरको अस्थायी नेपाली शिक्षक दरवन्दिको नियुक्ति पत्र बुझेको ।
विद्यालय नाममात्रको । कक्षा ६ देखी १० सम्म पठन पाठन हुने गरेको विद्यालयमा नत झ्याल ढोका भएका कक्षा थिए, नत कक्षामा बस्नका लागि फर्निचर , नत कार्यालय कक्ष नत कुनै कागजात, नत कार्यालय फर्निचर नत अन्य शैक्षिक बन्दोवस्त । प्रत्येक कक्षाकालागि एक एक गरि पाँच हाजिरी पुस्तिका अनि एक शिक्षक हाजिरी पुस्तिका, एउटा ढकन नभएको टिनको बाकस, दुइतले २ भवन भन्नै नमिल्ने संरचना, विद्यार्थी हाजिरी हेर्दा १०७ जनाको अभिलेख तर मुस्किलले ३५ जनाको उपस्थिति त्यो पनि बेलुका छुट्टिी हुनेवेला ६ देखी ७ जना मात्र बाँकी रहँदा रहेछन् । ६ जना शिक्षक बस यो बाहेक अरु होइन ।
यि सवै हेर्दा कता कता एनजिओ छोडेर आएको प्रति पश्चाताप नलागेको पनि होइन । तर के गर्नु आइ हालियो । नतमस्तक भएँ म । सरहरुलाई यस विषयमा सोध्दा स्पष्ट जवाफ छैन उहाँहरुसँग । थोरै भएपनि आधारभुत आवश्यकताका चिजवस्तु चलाएको बानी एउटा बोर्ड, मार्कर र डष्टर पनि मुस्किल । मैले पनि अरुजस्तै गरि चल्ने त भयो भन्ने लाग्यो ।
हेड सरलाई अभिभावक भेला वोलाउन भने, अनि सरहरुसँगको सल्लाहमा घरदैलो कार्यक्रम तय गरियो । अभिभावक भेलामा सवै कुरा राखियो । यस विषयमा सवैले ऐक्यवद्धता देखाए पनि । यो हेर्दा शिक्षा प्रतिको चासोमा लप्पन छप्पन थिएन । तर कस्तो अचम्म सवैमा चासो छ चाहाना छ अवस्था भने परिवर्तन हुन्न ।
सवैले आआफ्नो तर्फबाट गर्ने प्रतिबद्धता पनि भयो । हामी लाग्यौँ हामीले सक्ने कार्यमा । घरदैलो गरेको एक हप्तामै ३५ हुने विद्यार्थीको उपस्थिती ८० पुग्यो त्यो पनि ४ बजेसम्म रह्यो । विद्यालयको श्रोतवाट सामान्य फर्निचर त्यो पनि कार्यालय प्रयोजनका लागि निर्माण भयो । कार्यालय कोठा बनाउन एउटा कोठामा झ्याल र ढोका बनाई कार्यालय स्थापना भयो । त्यस बेला त्यो कोठा बनाउन म आफैले त्यसभित्रको फोहोर सोहर्दा २ बोरा भएको अझै याद छ । अनि सरहरुको काम बढ्यो पनि । सकेको सवैले गरे । बल्ल एउटा कार्यालय भन्न सुहाउने कोठा तयार भयो । यस अवस्थामा कोठा मिलाउने अनि ढुँगाकै भएपनि विद्यार्थी वस्न बन्दोबस्त मिलाइयो । विद्याथी कति उत्साह पुर्ण तरिकाले लागेका । त्यो हेर्दा मन गद् गद् नभएको पनि होइन । यति हुँदै गर्दा पनि वार्षिक परीक्षा सम्म पुग्दा बेञ्चमा बसेर दिने सौभाग्य पाएनन् विद्यार्थीले । अनि प्रयोग गर्न सामान्य शौचालय पनि पाएनन् वालमैत्रि शौचालयको त कुरै छाडौँ ।
शैक्षिक सत्र त सकियो सवै आ आफ्नो घर लागे ठुलै बोझ पार लाग्यो ठान्दै । तर मलाइ भने झन् बोझको महशुस भइरहेथ्यो । जिल्ला सदरमुकाम गएकाबेला चिनजानका कार्यालयमा हारगुहार गरे निकै साथिहरुले आश्वाशन देखाए सकेको सहयोग गरे पनि । आज उहाँहरुप्रति कृत कृत छु ।
त्यतिबेला भने मलाई चिनजानको महत्व बोध भयो । त्यसैमाथि अर्को सकारात्मक पाटो भनेको जुझारु व्यवस्थापन समिति पाएका थियौँ । अध्यक्ष लोकजङ दाई केहि गर्न पर्छ भन्ने पक्षका हुनुभएकाले पनि थप काम गर्न कञ्जुस्याँइ लागेन । एकै वर्षमा ३० सेट फलामको फर्निचर, कम्प्युटर, शौचालय लगायतका पुर्वाधारको व्यवस्था मिल्यो । ढुँगामा परीक्षा दिन विवश विद्यार्थी कोचियरै भएपनि वसे थोरै भएपनि रमाए ।
हेर्दा खेल जस्तो लाग्थ्यो बेन्च डेस्क तानातान हुन्थ्यो उनीहरुकाबिच । तिहारका बेला देउसिको योजना तय गरि झण्नै एक लाख रुपैंया उठाइ त्योबाट प्रोजेक्टर लगायत शिक्षण सिकाइ सन्दर्भित सामग्रीको प्रवन्ध मिलाउँदा ठुलै उपलब्धि भएको भान भएकै हो, छाती फुलेकै हो । यत्तिकैमा अर्को शैक्षिक शसपनि गयो ।
अझै विद्यालय सुधार गर्ने उत्साह मरेन । मनमा एक किसिमको फरक उर्जा भने आएकै हो । अर्को शैक्षिक सत्र लाग्यो फेरी उहि टण्टो तेर्सियो अघिल्तिर । अध्यक्ष दाइको पहलमा विद्यालयले स्वरुपै फेरीयो भन्दा अत्युक्ति लाग्दैन मलाई । अरु सदस्य एन दाई, भिम भाई, ज्ञानेन्द्र अँकल पनि सफल सावित भए । सकेको जति सवै गरे ।
चार वर्षको अन्तरालमा अहिले आएर गर्व लाग्छ मलाई । यो शैक्षिक सत्रको शुरुको दिन कक्षामा जाँदा कता कता हर्षले आँखा रसाए मेरा । झ्यालढोका सहितका कक्षाकोठा, शैक्षिक सामग्रीको कक्षामै ब्यवस्था, अध्ययनका लागि वुककर्नर प्रत्येक कक्षामा, २ विद्यार्थीका लागि एक सेट बेञ्च डेस्क, छुट्टै कार्यालय, ल्याव, स्टोर, वालमैत्रि शौचालय, खेलमैदान, फुलवारी, करेसावारी, आधारभुत क्ष्ऋत् सामग्री जस्तै १ ल्यापटप, ६ डेक्सटप, ३ प्रीन्टर, १ क्यामेरा, १ प्रोजेक्टर, १ सेट साँस्कृतिक सामग्री, खेल सामग्री, डेढ दुइ सय विद्यार्थी ।
हिजो ढुङ्गामा परीक्षा दिने विद्यार्थी फराकीला बेञ्चमा, हातले लेख्ने गरेका प्रश्नपत्र कम्प्युटर प्रीन्टेड त्यो पनि कलरफुल, परीक्षा प्रवेश पत्रको व्यवस्था, विद्यालयको भिजिविलिटी सहितको उत्तरपुस्तिका । जिल्ला स्तरका कार्यक्रममा सहभागिता तथा रित्तोहात फर्कन नपरेको यथार्थता । नियमित पठनपाठन, नियमित अतिरिक्त तथा सहकार्यकलाप हुने गरेका छन् ।
२०६९ सालमा ढुङ्गामा बसेर परीक्षा दिदैं
यो सब हेर्दा विद्यालय ब्यवस्थापन समितिको ब्यवस्थापन कौशल र शिक्षक साथिहरुको कार्यकुशलता लाई जस जान्छ, जानैपर्छ । अनि सकृयताका पछाडी सहयोगि संघसंस्थाको बढ्दो लगानी स्वागतयोग्य बन्यो नै । यस विद्यालयको हकमा एउटा नयाँ इतिहास रचिएको लाग्छ । झ्याल ढोका भएका सुरक्षित कक्षा कोठा र विद्यार्थीले बेञ्च डेस्कमा बसेर परीक्षा दिएको देख्दा मनै आनन्द भएर आउँछ ।
२०७३ सालमा डेक्स बेञ्चमा विद्यार्थी
बालमैत्री शौचालयको प्रयोग र मल्टिमिडया शिक्षण पनि नितान्त नौलो हो । कक्षामै बुक कर्नर र आवश्यक सन्दर्भ पुस्तिका विद्यार्थीले पढ्न पाएको पनि नयाँ नै हो । यी सब हेर्दा साँच्चिकै मान्धारामा नयाँ इतिहासको रचना भएको छ । जो यति छोटो समयमै भयो विना रोकटोक विना अवरोध निरन्तर ।
हिजो र आजको यो अवस्थालाई नियाल्दा लाग्छ अभाव श्रोतको थिएन, होइन पनि । अभाव सोचको भएरै हो जो हुनु थियो त्यो हुन नसक्नु । चाहे व्यवस्थापन पक्ष होस् चाहे प्रत्यक्ष संलग्न शिक्षक सवैमा सोचको कमि भएकै हो भन्न सकिन्छ । निरन्तर साधनामा सरोकारवाला लामबद्ध भए श्रोतको कमि नहुँदो रहेछ । मन जित्न सक्यो अनि विश्वाश दिलाउन सकेमा दिन कन्जुस्याँई कसैले नगर्ने रहेछ हामीले मागेको देउसीले त्यहि बोल्छ । अनि सरकारी गैरसरकारी निकायको उत्साहजनक लगानीले त्यहि बोल्छ ।
आशा गरेभन्दा बढि, कल्पना गरेभन्दा माथिको काम भयो । यस अवधिमा हामीलाई यहाँ पुर्याउने वि.व्य.स., विद्यार्थी, अभिभावक, संघसंस्था सवै धन्यवादका पात्र छन् ।
गरे नहुने केही छैन, धाए नपाइने वस्तु छैन, असम्भवको नामै छैन भन्ने कुरा चरितार्थ भएको छ मान्धारामा ।
गर्न लागेका खण्डमा परीवर्तन आकाशको फल नहुने निश्चित रहेछ चरितार्थ भएको छ मान्धारामा ।
(अस्थायी शिक्षकका रुपमा विद्यालय छिरेका शाही २०७१ सालको आयोगमा प्रतिष्पर्धा गरेर स्थायी भएका हुन् ।)
प्रतिक्रिया