काठमाडौं १७ पुस/गीता सुब्बा इलामदेखि स्नातकोत्तर पढ्न काठमाडौं आइन् । उनी अंग्रेजी विषय लिएर रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) भर्ना भइन् । धेरैले यहीं पढ्न सुझाएपछि भर्ना भएको उनले बताइन् । तर, सोचेजस्तो पढ्ने वातावरण नपाएको उनले गुनासो गरिन् । उनले भनिन्, ‘कक्षामा भीड हुन्छ, सिटै पाउन मुस्किल, अन्तिममा बस्दा शिक्षकले पढाएको सुनिँदैन ।’ भीडमा पढाएको नबुझिने भएपछि क्याम्पस जानै छाडेको उनले बताइन् । ‘सेक्सन छुट्टाएर पढाएको भए सजिलो हुन्थ्यो,’ उनको भनाइ छ ।
कक्षामा सहजै पढ्न नपाएपछि उनी आजभोलि टयुसन सेन्टर जान थालेकी छन् । टयुसनका लागि उनलाई मासिक १५ हजार रुपैयाँ तिर्नुपरेको छ । उनले भनिन्, ‘मेरो आयस्रोत छैन, घरबाट यति रकम जुटाउन मुस्किल छ ।’
प्यूठानका विनय भट्ट पनि अंग्रेजी विषय लिएर आरआर पढिरहेका छन् । कक्षामा पढ्ने वातावरण नभएपछि उनी निराश छन् । करिब २ सयको भीडमा पढ्न अप्ठयारो हुने उनी बताउँछन् । उनले भने, ‘अगाडि बसेर पढे पनि बुझिँदैन, शिक्षकहरू राम्ररी पढाउँदैनन्, एकजना त महिना दिनदेखि एउटै च्याप्टर पढाइरहेका छन् ।’ सेक्सन छुटयाएर थोरै विद्यार्थी राखे पढाएको बुझन् सकिने उनको भनाइ छ । कक्षामा असहज भएपछि टयुसन पढ्ने तयारी थालेको उनी बताउँछन् । ‘जाँच आउन लागिसक्यो, चिन्ता लागेको छ,’ उनले भने ।
त्रिविअन्तर्गत यो वर्ष एमएको पहिलो सत्र सकिन लागेको छ । पाठयक्रम सकिने अवस्था नदेखिएपछि विद्यार्थी चिन्तित हुन थालेका छन् । पास हुनैका लागि उनीहरू क्याम्पसवरपरका टयुसन सेन्टरतिर धाउन थालेका छन् । क्याम्पसको एमए तहमा ‘सेक्सन’ नराखिएकाले हरेक वर्ष विद्यार्थी यस्तै समस्यामा पर्ने गरेको केही विद्यार्थी नेताहरू बताउँछन् । अंग्रेजी विषयको ३० प्रतिशत पनि कोर्स नसकिने हुँदा पास गर्नै गाह्रो हुने उनीहरू सुनाउँछन् ।
सीमित स्रोत, साधन र अपुग बजेटका कारण सेक्सन छुट्टाएर पढाउन नसकिएको क्याम्पस प्रमुख निर्मला सुवालको दाबी छ । भर्ना गरेका भन्दा नगरेका विद्यार्थी कक्षामा बस्दा भीड बढेको उनी बताउँछिन् । परिचयपत्र चेकिङ लागू नहुँदा यस्तो समस्या उत्पन्न भएको उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँले सरकारी क्याम्पसमा अध्ययनरत विद्यार्थीको यस्तो समस्या चाँडै सम्बोधन गरिने बताए । आगामी शैक्षिक सत्रदेखि उपत्यकाका सबै सरकारी क्याम्पसमा सेमेस्टर प्रणाली लागू हुने उनले बताए ।
कान्तिपुरमा फातिमा बानुले लेखेको खबर ।
प्रतिक्रिया