Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

प्रश्न नबुझ्दा समस्या

आइतबार, १७ पुस २०७३

काठमाडौं १७ पुस/ललितपुर लगनखेलस्थित नमूना मच्छिन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा दशमा अध्ययनरत दृष्टिविहीन रोजीना पोखरेललाई नजिकिंदै गएको कक्षा दशको परीक्षाले निकै पिरोल्न थालेको छ ।

परीक्षामा सोधिने प्रश्नको उत्तर लेख्न नजान्ने हो की भन्दा पनि प्रश्नपत्रमा सोधिएको प्रश्न कसरी बुझ्ने भन्ने चिन्ता रोजीनालाई छ । उनले ब्रेललिपिको माध्यमबाट पढ्दै आएकी छन् । ब्रेललिपिमा सामान्य विद्यार्थीले पढ्ने पुस्तकहरुमा प्रयोग गरिने शब्द र चिन्हको विषयमा राम्ररी लेखिएको भएपनि विभिन्न किसीमको तस्वीर र रेखाचित्रको बारेमा भने केहि पनि लेखिएको हुँदैन ।

'हामीलाई यस्तै विषयवस्तुले सताउने गरेको छ । उत्तर जानेका हुन्छौं, तर लेख्न नपाएपछि नतिजामा असर पर्छ' रोजीनाले भनिन्, 'तस्वीर र रेखाचित्र कोर्नुपर्ने विषयका लागि हामीले ज्यामिती बक्स लगायतका सामग्री लैजानुपर्छ । चलाउन सब्दैनौ ।' यस्ता विषयको सट्टामा अन्य ऐच्छिक विषय राखिदिए हामीलाई सहज हुने रोजीनाको भनाई छ ।

रोजीना जस्ता थुप्रै विद्यार्थीहरुले वर्षौदेखि यस्तै समस्या बेहोरिरहेका छन् । दृष्टिविहीन भए पनि पढाईमा तिक्ष्ण भएका थुप्रै विद्यार्थीहरुमा परीक्षा नजिकिंदै जाँदा तनाव पनि बढ्दै जान्छ ।

विद्यार्थीहरु परीक्षाको समयमा आफूले पढेकोभन्दा फरक विद्यालयमा परीक्षा दिन जाँदा थप अठ्यारोमा पर्ने गरेका छन् । पोखरेलले भनिन्, 'फरक स्कुलमा गएर परीक्षा दिँदा त्यहाँका शिक्षकहरुले हाम्रो समस्या बुझेका हुँदैनन् । समस्या नबुझेपछि उहाँहरुले हामीलाई र साधारण विद्यार्थीलाई गर्ने व्यवहार एकै प्रकारको हुन्छ । जसको असर हामीमाथि परेको हुन्छ ।'

सरकारी तथ्यांकअनुसार विद्यालय जाने उमेर पुरा भएका दृष्टिविहीनको संख्या ३० हजार २ सय ४० छ । तर उनीहरुमध्ये हालसम्म कक्षा एकदेखि दशसम्म भर्ना भएका विद्यार्थी संख्या नौ हजार पाँच सय मात्र छन् ।

दृष्टिविहीन भएर विद्यालय भर्ना भएकाहरुमध्ये पनि केहीले सहयोगीको अभावमा बीचैमा विद्यालय छोड्ने गरेका छन् । 'गत वर्ष हाम्रो स्कुलमा भर्ना भएकी दार्चुलाको एक विद्यार्थीले दशैं विदामा घर गएपछि अव स्कुल आउन नसक्ने भनेर पत्र लेखिन्' नमूना मच्छिन्द्र उच्च माविमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेललिपि सिकाउँदै आएकी बुद्धलक्ष्मी श्रेष्ठले भनिन्, 'किन नआउने भनेर सोध्दा स्कुलसम्म ल्याउने र लैजाने अभिभावक नभएर नआउने भनेको जानकारी उनले गराईन् ।'

श्रेष्ठका अनुसार सरकारी होस्टेलमा बसेर पढे पनि बिदाको समयमा ल्याउने लैजाने अभिभावको अभावमा थुप्रै विद्यार्थीहरु बिचैमा पढाइ छोड्न बाध्य छन् ।

शिक्षा विभागले दृष्टिविहीन विद्यार्थीका लागि अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था पनि गरेको छ । तर विद्यार्थीलाई पायक पर्ने स्थानमा यस्तो स्कुल नहुँदा छात्रवृत्तिको सबैले सदुपयोग गर्न सकेका छैनन् ।

यस्ता विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति वापत मासिक चार हजारको दरले दश महिनाको रकम दिंदै आएको विभागका उप निर्देशक गणेश पौडेलले बताए । विभिन्न किसिमका अपांगता भएका विद्यार्थीलाई पठनपाठनमा सहज होस भनेर मुलुकभर ३१ वटा विशेष विद्यालय र तीन सय ८० वटा स्रोतकक्षाहरु सञ्चालित छ । ती सबै विद्यालयमा अध्ययन गर्नेमध्य ६ हजारले छात्रवृत्ति लिइरहेको पौडेलको भनाई छ ।

दृष्टिविहीन बालबालिकाको शिक्षा क्षेत्रमा क्रियासिल अंकुर समाहित शिक्षा प्रतिष्ठानका सचिव माधव प्रसाद अर्यालले विद्यालय जाने उमेर पुरा भएका तर भर्ना हुन नपाएका थुप्रै विद्यार्थीहरु वाहिर रहेपनि भर्ना भएकाहरुको पढाई समेत सहज हुन नसक्दा सबैको लागि शिक्षा भन्ने सरकारी नारा नारामा मात्र सिमित भएको बताए । 'विद्यालय जाने उमेर पुगेर पनि भर्ना हुन नसकेका, भर्ना भएपनि विचैमा छोड्न बाँध्य विद्यार्थीको शिक्षाको ग्यारेण्टी कसरी गर्ने' अर्यालले भने, 'दृष्टिविहीन र अपांगता भएका वालवालिकाको शिक्षाका लागि राज्यको लगानी पर्याप्त भएन ।'
अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले लेखेको खबर ।

प्रतिक्रिया