काठमाडौं / अमेरिकी सरकारले यहाँ अध्ययरत नेपाली विद्यार्थीलाई पुन: एकपटक विशेष सहुलियत प्रदान गरेको छ । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीलाई आगामी डेढ वर्षका लागि काम गर्न अनुमतिपत्र ‘वर्क परमिट’ दिने भएको छ । यसअघिको सुविधा हालै समाप्त भएका कारण पुन: अवधि लम्ब्याइएको हो । अमेरिकी सरकारले यो सुविधा, गत सालको महाभूकम्पका कारण प्रदान गर्दै आएको छ । महाभूकम्पबाट नेपाली परिवार प्रभावित भएको र त्यसबाट अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीले पनि आर्थिक कठिनाइ बेहोर्नु परेको उल्लेख गर्दै ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ ले सो व्यवस्था गरेको हालै जनाएको छ । डिपार्टमेन्ट प्रमुख जेह चाल्र्स जोहन्सनद्वारा हस्ताक्षरित जारी विज्ञप्तिअनुसार गत मंगलबारदेखि दिइएको सहुलियत सन् २०१८ जुनसम्म रहनेछ ।
सहुलियतअनुसार नेपाली विद्यार्थीले काम गर्ने अनुमतिपत्र ‘वर्क परमिट’ का लागि आवेदन दिन सक्नेछन् । जुन अन्य देशबाट आएका विद्यार्थीका हकमा लागू हुँदैन । अन्य देशका विद्यार्थीलाई थोरै घण्टाको काम गर्ने अनुमति दिने अमेरिकी अध्यागमन कानुन भए पनि यो सहुलियतका कारण नेपाली विद्यार्थीले अतिरिक्त समयका लागि ‘वर्क परमिट’ पाउँदै आएका छन् । मुख्य सर्तका रूपमा यो सुविधा पाउन कम्तीमा भूकम्प गएको दिन अर्थात् २०१५ को अप्रिल २५ देखि वा सोभन्दा अघिदेखि नै अमेरिकामा पढाइ गरिरहेको हुनुपर्नेछ । विद्यार्थीले अनिवार्य रूपमा आफ्नो ‘विद्यार्थी हैसियत’ जोगाउनुपर्ने र त्यसका लागि प्रत्येक सेमेस्टरमा नेपाली विद्यार्थीले कम्तीमा स्नातक तहमा ६ क्रेडिट एवम् स्नातकोत्तर तहका लागि तीन क्रेडिटको पढाइ सुचारु गर्नुपर्ने नियम छ ।
महाभूकम्पको प्रभावलाई मध्यनजर गर्दै यसअघि गत कात्तिकमा अमेरिकी सरकारले यहाँ रहेका नेपाली आप्रवासीलाई अध्यागमनसम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात् ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ (टीपीएस) को सुविधालाई थप डेढ वर्षका लागि नवीकरण गरेको थियो । महाभूकम्पलगत्तै सन् २०१५ जुन २४ मा पहिलोपटक अमेरिकी सरकारले टीपीएसको सुविधासहित विद्यार्थीलाई पनि सहुलियत प्रदान गरेको थियो ।
कान्तिपुरबाट
प्रतिक्रिया