काठमाडौं १५ पुस/तानसेनदेखि आर्यभञ्ज्याङ हुँदै रामपुर जाने बाटो छेउमै चिदीपानीको सौभाग्य मावि पर्छ । यही विद्यालयको कक्षा १ र २ मा पुग्दा छुट्टै अनुभूति हुने वातावरण बनेको छ । त्यही कक्षाका बालबालिकाको नियम भिन्दै देखिन्छ ।
बालबालिका सफा कपडा लगाएर विद्यालय प्रवेश गर्छन् । कक्षाकोठा बाहिर जुत्ताचप्पल मिलाएर राखिएका छन् । छिनमै साथीसँग हाँस्छन्, खेल्छन् अनि मन लागे कक्षाकोठामै नाच्छन् । निद्रा लागे सुत्छन् ।
यस्तो दृश्य हेर्दा लाग्छ, कतै नाटक मञ्चन भइरहेको छैन । तर होइन, स्कुलको कक्षाकोठाको दृश्यले सबैलाई लोभ्याउँछ । अभिनय, नृत्य, आफ्नो मनले देखेको गर्न दिएर सिकाउने क्रियाकलापका माध्यमबाट बालबालिकालाई आधारभूत शिक्षा दिने विधि यहाँ सिकाइन्छ । यही विद्यालयका दुई शिक्षकले रूम टु रिडको पठन संस्कृति विकास गर्ने तालिम लिएका छन् ।
उनैका कारण विद्यार्थीमा पढ्ने सीपको विकास भएको छ । विद्यालयमा रूम टु रिडको सहयोगमा पुस्तकालय भवन बनेको छ । विद्यालयमा गतिलो पुस्तकालय पनि छ । त्यही पुस्तकालयमा उनीहरूले नयाँ अभ्यास गर्न पाएका हुन् ।
पठन संस्कृतिको विकास गर्न देखिएको विद्यार्थीको क्रियाकलापले सिकाइलाई झनै राम्रो बनाएको छ । ‘एकोहोरो घोकाउँदा केटाकेटीलाई सिक्न समय लाग्छ,’ नेपालीकी शिक्षिका सावित्रा पहारीले भनिन्, ‘घोकेको कुरा छिटो बुझ्न पनि समस्या हुन्छ ।’
अरू विषय ४५ मिनेटको घण्टी हुन्छ भने नेपालीलाई ९० मिनेट दिइएको छ । अहिले विद्यार्थीले कक्षा १ मै नेपालीका वाक्यहरू फरर पढ्ने गर्छन् । कक्षा २ का विद्यार्थीले झनै राम्रो नेपालीको उच्चारण गर्न सक्छन् । रूम टु रिडले स्थानीय पछौटेपन उन्मूलन समाज बेस नेपालको सहकार्यमा ५० विद्यालयमा यस्तो पठन सीपलाई अघि बढाउने कार्यक्रम चलाएको छ ।
‘अभिनय र कलात्मक ढंगले आफ्नै मनभित्रबाट हुने क्रियाकलाप दिगो हुन्छ,’ रूम टु रिडका सिनियर प्रोग्राम एसोसिएट बटुराम भण्डारीले भने, ‘जसले गर्दा केटाकेटीले रूचि मानेर सिक्ने र छिटो बुझ्ने हुन्छ ।’
कार्यक्रम लागू भएका र नभएका विद्यालयमा गरेको अध्ययनबाट दोब्बर, तेब्बरसम्म सिकाइ उपलब्धि बढेको पाइएको बेस नेपालका कार्यक्रम संयोजक टेकबहादुर ढेंगाले दाबी गरे । उनका अनुसार ५० मध्ये जुनसुकै विद्यालयमा पनि विद्यार्थीको पठनसीप र पुस्तकालय जाने बानी बढेको छ ।
माधव अर्यालले पाल्पाबाट कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया