काठमाडौं १५ पुस/मुलुकभर जथाभावी क्याम्पस खोल्ने होडले ४० प्रतिशत निजी तथा सामुदायिक क्याम्पसहरू विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेका छन् ।
सरकारले बर्सेनि सामुदायिक क्याम्पसलाई मात्र ४३ करोड रुपैयाँभन्दा बढी अनुदान बाँडिरहे पनि देशका आधाजसो क्याम्पसहरू विद्यार्थी अभाव र फितलो व्यवस्थापनको चपेटामा परेका छन् । देशभरका आधाजसो क्याम्पस सयजना विद्यार्थीको भरमा चलेका छन् ।
विश्वविद्यालय अनुदान आयोग (यूजीसी)का योजना तथा कार्यक्रम महाशाखा प्रमुख विनोद भट्टराईले आयोगले निर्धारण गरेको शैक्षिक नक्सांकनलाई बेवास्ता गरेका कारण देशभरमा अधिकांश क्याम्पस धरासायी बनेको बताए ।
“नियमअनुसार भौगोलिक अवस्था, जनसंख्या लगायतलाई हेरेर नजिकका अन्य क्याम्पसमा तत्काल गाभ्नुपर्ने बेला आएको छ,” उनले कारोबारसँग भने, “घरदैलोमा क्याम्पस खोल्ने होडले विद्यार्थी संख्या न्यून भई उच्च शैक्षिक संस्था धरासायी भएका हुन् ।”
देशभरका ५ सय ६१ भन्दा बढी क्याम्पसहरू अहिले पनि सय जनाभन्दा कम विद्यार्थीको भरमा चलेको विश्वविद्यालय अनुदान आयोगले तथ्यांकमा उल्लेख छ । यस्ता क्याम्पसको व्यवस्थापनमा थोरै मात्र तलमाथि भए कुनै पनि बेला बन्द हुनसक्ने जनाउँदै आयोगले सुधारका लागि सुझाव दिने गरेको छ ।
विश्वविद्यालय अनुदान आयोगले बर्सेनि ४ सय ६० भन्दा बढी क्याम्पसलाई विभिन्न शीर्षकमा ५ लाखदेखि ४८ लाखसम्म अनुदान दिँदै आएको छ । बर्सेनि सरकारी अनुदान पाएका अधिकांश सामुदायिक क्याम्पससमेत धरासायी बन्दै गइरहेका छन् ।
भौतिक पूर्वाधार र सञ्चालनका लागि आर्थिक अभाव खेपिरहेका सामुदायिक क्याम्पसलाई आयोगले बर्सेनि अनुदान वितरण गर्दै आइरहेको आयोगका योजना तथा कार्यक्रम महाशाखा प्रमुख भट्टराईले जानकारी गराए ।
सरकारले आयोगमार्पmत आर्थिक अभाव झेलिरहेका क्याम्पसलाई अनुदान वितरण गर्न बर्सेनि आवेदन माग गर्दै आइरहेको छ । आयोगले नियमित अनुदान प्राप्त गर्नका लागि न्यूनतम कुल विद्यार्थी संख्या हिमाली र पहाडी जिल्लामा ५०, तराईका जिल्लामा ७५ र काठमाडौं उपत्यकाभित्र १ सय हुनुपर्ने मापदण्ड तोकेको छ ।
नियमित अनुदान माग गरी सामुदायिक क्याम्पसले आयोगमा पेस गरेका कागजातहरूका आधारमा उल्लेख भएका विद्यार्थी संख्या, शैक्षिक कार्यक्रम, उत्तीर्ण प्रतिशत, पिछडिएको, दुर्गम, आंगिक क्याम्पस नभएका जिल्ला लगायतका आधार हेरेर नियमित अनुदानको रकम दिँदै आएको छ । भौतिक अनुदान कक्षाकोठा, पुस्तकालय भवन, प्रशासनिक भवन, प्रयोगशाला भवन, शौचालय निर्माण प्राप्त गर्नका लागि सामुदायिक क्याम्पसलाई बर्सेनि अनुदान दिँदै आएको छ ।
निजी तथा आंगिक क्याम्पसको तुलनामा सामुदायिक क्याम्पसको अवस्था धेरै नै खराब छ । विश्वविद्यालय अनुदान आयोगका अनुसार देशभर सञ्चालन भइरहेका अन्य क्याम्पसको तुलनामा ९० प्रतिशत सामुदायिक कलेजको अवस्था धरासायी छन् ।
सरकारले सामुदायिक क्याम्पसका लागि बिगत तीन वर्षमा मात्र १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ अनुदान सहयोग प्रदान गरिसकेको छ । आयोगले नियमित र भौतिक विकास अनुदान शीर्षकमा लगानी बढाउँदै लगे पनि ९० प्रतिशत सामुदायिक कलेज विद्यार्थी अभाव झेलिरहेका छन् ।
आयोगले गत आर्थिक वर्षमा सञ्चालन र पँुजीगत गरेर ४३ करोड रुपैयाँ र चालू आर्थिक वर्षका लागि पनि सोही अनुपातमा अनुदान बजेट विनियोन गरेको जनाएको छ ।
गोपाल संग्रौलाले कारोबारमा लेखेको खबर ।
प्रतिक्रिया