Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

कक्षा ११ को मौका परीक्षा माघमा

विहीबार, १४ पुस २०७३

काठमाडौं १४ पुस/ जेठ महिनामा सञ्चालित कक्षा ११ को वार्षिक परीक्षामा ५८ हजार विद्यार्थी एक विषय अनुत्तीर्ण भएका छन् ।  एक विषय मात्र अनुत्तीर्ण भएका ती विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले माघमा मौका परीक्षा लिँदैछ ।  परीक्षा नियन्त्रक सन्तोष अर्यालले मौका परीक्षामा ५८ हजार ४८३ जना विद्यार्थी सहभागी हुने जानकारी दिनुभयो ।  त्यसमध्ये सबैभन्दा बढी परीक्षार्थी अङ्ग्रेजीमा अनुत्तीर्ण भएका छन् ।  उक्त विषयमा २३ हजार ४८३ जना रहेका छन् ।  लेखा विषयमा १४ हजार ६६० जना विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने छन् ।  शिक्षा विषयमा तीन हजार ७६० र भौतिक शास्त्र विषयमा तीन हजार ६०६ जना विद्यार्थी अनुत्तीर्ण रहेको पाइएको छ ।  कक्षा ११ मा ३८ वटा विषयमा विद्यार्थीले मौका परीक्षा दिने छन् ।

कक्षा ११ को मौका परीक्षामा सहभागी भई कुनै एक विषयमा मात्र अनुत्तीर्ण भएका विद्यार्थीका लागि बोर्डले मौका परीक्षा लिने गरेको छ ।  परीक्षार्थीको सुविधाका लागि यसपटक एक सयको हाराहारीमा परीक्षा केन्द्र राखिने जानकारी दिइएको छ । त्यसका लागि मातहतका सबै क्षेत्रीय कार्यालयलाई निर्देशनसमेत दिइएको छ ।  क्षेत्रले जिल्ला परीक्षा समन्वय समितिको बैठक राखी परीक्षा केन्द्रका बारेमा बोर्डलाई सिफारिस गर्नेछ ।  पुस २० गतेसम्म कति जिल्लामा कति परीक्षा केन्द्र राख्ने भन्ने निर्णयमा पुग्ने योजना बनाइएको छ ।  
माघ ८ गते सञ्चालन हुने मौका परीक्षाको नतिजा ढिलामा पनि माघभित्र प्रकाशित गर्ने योजना बनाइएको छ ।  माघबाट बोर्डले दस जोड दुई तहमा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षाको फाराम भराउन सुरु गर्ने कार्ययोजना छ ।  उक्त अवधिभित्र नतिजा प्रकाशित गरेको अवस्थामा विद्यार्थीले एकै पटक परीक्षा फाराम भर्न पाउने र दोहोरो झन्झटिलो नहुने भएकाले सोही अनुसार काम गर्ने योजना बनाइएको छ ।  
बोर्डले यसपटक विद्यार्थीको सुविधालाई ध्यानमा राखी मोरङ, सिराहा, जनकपुर, मकवानपुर, काठमाडौँ, कास्की, रूपन्देही, बुटवल, दाङ, बाँके, नेपालगञ्ज, धनगढी, डडेलधुरास्थित कार्यालयबाट परीक्षा आवेदन फाराम सङ्कलन गर्ने व्यवस्था मिलाएको थियो ।
मौका परीक्षाको व्यवस्थाले एक विषयमा मात्र अनुत्तीर्ण भई लामो समयसम्म परीक्षा दिन नपाउने अवस्था अन्त्य भएको परीक्षा नियन्त्रक अर्यालले बताउनुभयो ।  बोर्डले दस जोड दुई तहमा मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन र विज्ञान विषयमा पठनपाठन सञ्चालन गर्दै आएको छ ।  
गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया