ललितपुर - कर्मचारी प्रशासनको असहयोगका कारण साझा प्रकाशनलाई आफूले चाहेजति सहयोग गर्न नसकेको प्रधानमन्त्री पुष्पकमल दाहालले गुनासो गरेका छन् । साझा प्रकाशनले बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूले ४० करोड रुपैयाँ नै सहयोग गर्न चाहे पनि व्यूरोक्रेसीले असहयोग गर्दा यो पटक ३० करोड मात्र दिन सकिएको बताए ।
आर्थिक संकटको कारण टाट पल्टिएको साझा प्रकाशनलाई पुनर्जिवन दिन सरकारले केही समय अघि मात्र ३० करोड रुपैयाँ आर्थिक सहयोग गरेको थियो । साझाले भने ४० करोड मागेको थियो ।
'आफूले ४० करोड रुपैयाँ नै सहयोग गर्न चाहेको भए पनि व्यूरोक्रेसीले असहयोग गर्दा यो पटक ३० करोड मात्र दिन सकियो' प्रधानमन्त्रीले भने ।
दाहालले लामो इतिहास बोकेका संस्था साझा र जनकलाई डुब्न नदिन सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता भने व्यक्त गरे ।
उनले निजी संस्थाहरु आर्थिक रुपमा सबल बन्दै जाने तर सरकारी स्वामित्वका साझा संस्थाहरु टाट पल्टँदै जानु विडम्बनापूर्ण भएको बताउँदै साझालाई आर्थिक रुपमा सबल बनाउने गरी काम गर्न सञ्चालकहरुलाई आग्रह गरे । उनले साझाका जिर्ण भवनको पुन ः निर्माणमा पनि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौडेलले साझा प्रकाशनलाई नेपालको सम्बृद्ध संस्थाको रुपमा विकास गर्न सरकार लागि पर्ने बताए । त्यसको लागि साझाको संरचनागत परिवर्तन र कानूनी आधार निर्माणमा ध्यान दिइने मन्त्री पौडेलको भनाई थियो ।
कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलेन्द्र शर्माले आफूले निकै मेहनत गरेर साझालाई पुनर्जिवन दिएको बताए । उनले जनक शिक्षाले उत्पादन गर्ने र साझाले वितरण गर्ने प्रणालीलाई मजबुद बनाउन सके साझा र जनक दुबैलाई आर्थिक रुपमा सबल बनाउन सकिने तर्क गरे ।
कार्यक्रममा राष्ट्रकवि माधब घिमिरे, संस्कृतिविद् तथा सताव्दी पुरुष सत्यमोहन जोशी र बरिष्ठ आख्यानकार मदनमणि दिक्षितलाई सम्मान गरिएको थियो । प्रधानमन्त्रीले उनीहरुलाई ताम्रपत्र र दोसल्ला ओडाएर जनही नगद २५ हजार रुपैयाँ प्रदान गरे । कार्यक्रममा प्रधानमन्त्रीले बरिष्ठ समालोचक तथा सौन्दर्य शास्त्री निनु चापागाईंद्वारा लिखित ‘पूर्ववाद र सइदेली विचार’ र समालोचक डा. ताराकान्त पाण्डेयद्वारा लिखित ‘माक्र्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र’ पुस्तकको लोकार्पण पनि गरे । दुवै पुस्तक साझाले प्रकाशन गरेको हो ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले दुवै कृतिको विषयमा समिक्षात्मक टिप्पणी गरेका थिए । त्यसक्रममा नेता वैद्यले प्रधानमन्त्रीलाई ‘आगोको भुंग्रोमा पसेको’ टिप्पणी गरे । ‘संसदिय व्यवस्था आगोको भुंग्रो हो, प्रधानमन्त्री प्रचण्ड अहिले त्यहि भुंग्रोमा हुनुहुन्छ । यो मैले मात्र भनेको होइन, दुनियाँले अहिले यहि भन्दैछ’, नेता बैद्यले भने ।
कार्यक्रममा संसदको महिला बालबालिका, जेष्ठ नागरिक समितिकी सभापति रञ्जुकुमारी झा, माओवादी केन्द्रका नेता दिनानाथ शर्मा लगायतले बोलेका थिए ।
प्रतिक्रिया