काठमाडौं - चितवनको कोराक, ग्लाउथोक स्थित राष्ट्रिय प्राथमिक विद्यालयको कक्षा १ मा दुई बर्ष अघि सम्म १३ जना विद्यार्थी थिए । भर्ना भएपनि कहिले आउने कहिले नआउने विद्यार्थीको संख्या धेरै हुन्थ्यो । तर हिजो आज कुरो बदलिएको छ । कक्षामा अनियमित हुने विद्यार्थीको संख्या निकै कम छ । अहिले कक्षा १ मा भर्ना भएका २२ जना विद्यार्थी नियमित विद्यालय आउँछन् ।
यो परिवर्तनको पछाडी 'ङीको किताब' को भूमिका ठूलो छ । चेपाङ् जातीको बाहुल्य रहेको उक्त गाउँको यस विद्यालयमा सत प्रतिशत विद्यार्थीे उक्त समुदायकै छन् । उनीहरुकै भाषामा पठन पाठन शुरु भएपछि यो परिवर्तन आएको हो ।
नेपाल ग्रामिण पुनर्निमाण संस्था 'आरआरएन' को आर्थिक तथा प्राविधिक सहयोगमा प्राथमिक शिक्षा स्वास्थ्य तथा पोषण परियोजना अन्र्तगत कक्षा १ का विद्यार्थीलाई लक्षित गरी 'ङीको किताब' अर्थात् हाम्रो किताब तयार भएको हो ।
पुस्तक कृष्णराज सर्वहारी, नवराज चेपाङ् र पहलमान चेपाङ्ले लेखेका हुन् ।
बालबालिकालाई मातृभाषामा पठन पाठन गरियो भने उनीहरुको सिकाइ स्तर बृद्धि हुने ठहर गर्दै उक्त परियोजना अन्र्तगत किताब प्रकाशन गरेर लागू गरेको आरआरएनको शिक्षा परियोजनाका प्रमुख भानु पराजुलीले बताए ।
'हामीले जिल्ला शिक्षा कार्यलयको स्विकृती लिएरै किताब प्रकाशन गरी पठन पाठन गरेका हौं' उनले भने 'यसबाट भएको परिवर्तन जो कोहीले सजिलै देख्न सक्छ ।'
भाषा नबुभेर दिक्क मान्ने साना नानीहरु हिजो आज आफ्नै भाषामा पढ्न पाउँदा दंग भएको बताउँछन्, आरआरएनका पोषण तथा पैरवी अधिकृत निर्मल कुशवाह ।
सिद्धि गाउँ विकास समितमा पनि परियोजना अन्र्तगतका कार्यक्रम सञ्चालित छन् । यस क्षेत्रमा रहेका १३ विद्यालयमा उक्त पुस्तक उपलब्ध गराईएको छ । राष्ट्रिय मावि कोराकका शिक्षक चयन्द्रराज मोक्तान पनि उक्त पुस्तक पछि विद्यार्थी खुसी भएर पठन पाठनमा सकृय भएको बताउँछन् । कूल ५ सय ६७ जना विद्यार्थी मध्ये झण्डै ५० प्रतिशत विद्यार्थी उक्त समुदायको रहेको उनले बताए । कक्षा १ मा रहेका ५७ जना मध्ये ३५ जना विद्यार्थीले उक्त किताबबाटै पठन पाठन गरेका उनको भनाई छ । परियोजनाको उपलब्धि आदान प्रदान गर्न काठमाडौंमा आयोजित कार्यक्रममा भेटिएका मोक्तान मातृभाषामै पढ्न पाउँदा विद्यार्थीमा आत्मवल बढेको बताउँछन् ।
चितवनका दुई सहित मोरङ्को जाँते र डंग्राह तथा रामेछापको गेलु र फुलासी गरी ३ जिल्लाका ६ गाविसमा उक्त परियोजना सञ्चालित थियो । परियोजनाले प्राथमिक शिक्षा सुधारका लागि भौतिक निर्माण देखि आवश्यक विभिन्न शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको थियो । शिक्षा सहित बालबालिकामा हुने कुपोषण र यसबाट बच्ने काईदाका बारेमा विभिन्न कार्यक्रम सञ्चालन गरेको उक्त अवसरमा जानकारी गराईयो ।
कुपोषित बालककी आमा उमा पोखरेलले आफ्नै घर गाउँमा उपलब्ध हुने खाने कुरा पनि ढंग नपुर्याई खुवाउँदा बच्चालाई कुपोषण भएको अनुभव सुनाईन् । डंग्राह मोरङ्की पोखरेलले बारीमा २–४ बोट मात्रै साग लागउँदा पनि बालबालिकालाई पोषण युक्त खाने कुरा खुवाउन सकिने रहेछ भन्ने ज्ञान पाएको बताईन् ।
जाँते बालक्लबका अध्यक्ष सञ्जय सम्बाहाम्फे, रामेछाप गेलुका शिक्षक प्रल्हाद खत्री, स्वास्थ्य स्वयंसेविका विमला कार्की, डंग्राहकी स्वयंसेविका पूर्णकला माझि, लगायतले परियोजनाबाट स्थानीय तहमा भएको परिवर्तनका बारेमा अनुभव सुनाएका थिए । कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष कृष्ण सुवेदी र सिविनका अध्यक्ष माधव प्रधानले बालबालिकाको शिक्षा र स्वास्थ्य लगायतका अधिकारका क्षेत्रमा सरकारी निकायलाई जिमेवार बनाएर अघि बढ्नु पर्ने बताए ।
प्रमुख अतिथी केन्द्रिय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले विद्यालयका कृयाकलापलाई पोषणसँग जोड्नु अपरिहार्य रहेको बताए । परियोजनजा रहे पनि नरहे पनि स्थानीय तहमा पुगको शिक्षा र पोषणको ज्ञान तथा अनुभवलाई सरकारी निकायसँग जोड्न खवरदारी गर्न उनले आग्रह गरे ।
परियोजनाको उपलब्धिका बारेमा अध्ययनरत डा. बन्दना प्रधानले स्थानीय तहमा भएको परिवर्तन उल्लेखनीय रहेको बताईन् । परियोजनाको दातृ संस्था वेल्ट हंगर हिल्फेकी कार्यक्रम निर्देशक सीमा लुईटेलले परियोजनाबाट प्राप्त उपलब्धि सन्तोषजनक रहेकोले अर्को चरणमा पनि परियोजनालाई निरन्तरता दिने बारेमा प्रकृया जारी रहेको बताईन् ।
आरआरएनका कार्यकारी निर्देशक ज्ञानबहादुर अधिकारीले देश सम्बृद्ध बन्न नागरिक स्वस्थ्य हुनुपर्ने र यसका लागि शिक्षा र जनचेतना महत्वपूर्ण रहेको बताए । आरआरएन सहित उक्त परियोजनाको उद्धेश्य, प्राप्त उपलब्धि तथा चुनौती र अव गर्नु पर्ने कामका बारेमा पराजुलीले प्रष्ट पारेका थिए । कार्यक्रममा सरकारी निकायका प्रतिनिधिको पनि सहभागिता थियो ।
प्रतिक्रिया